काठमाडौं । नेपालमा आधारित निजी लगानी फण्ड संस्था टिम भेन्चर्सले फुडमाण्डुको करिब २० प्रतिशत शेयर खरिद गरेको छ । फुडमाण्डु प्रालि, नेपालको सबैभन्दा ठूलो फुड डेलिभरी प्लेटफर्म हो ।
आईटि व्यवसायी मनोहर अधिकारी सन् २०१० मा स्थापना गरेको फुडमाण्डुले टिम भेन्चर्सबाट दोस्रो चरणको लगानि जुटाएको हो । यसअघि कम्पनील ट्रू नर्थ एसोसिएसन(टिएनए)बाट शुरुवाती चरणको लगानी प्राप्त गरेको थियो ।
फुडमाण्डुले हाल काठमाडौं उपत्यकाभित्र मात्र ५०० भन्दा बढि रेष्टुरेन्टहरुबाट २०० जना राइडरको सहयोगबाट फुड डेलिभरी सेवा दिइरहेको छ । यसबाहेक कम्पनीले ताजा तरकारीहरु, पेय पदार्थहरु र केकहरु फामर्स मार्केट्स, थोक बिक्रेताहरु र प्रमुख होटलहरुबाट समेत डेलिभरी गरिरहेको छ ।
‘यस्ता संस्थागत लगानीकर्ताले गरेको हामीमाथि गरेको विश्वासले अझ उत्साहित बनाएको छ’, फुडमाण्डुका चिफ टेक्नोलोजी अफिसर समेत रहेका अधिकारीले भने, ‘यो फण्ड विशेषगरि भौगोलिकरुपमा बिस्तार गर्न उपयोग गरिनेछ ।’
यो सम्झौताअनुसार, टिम भेन्चर्सले फुडमाण्डुमा करिब २० प्रतिशत शेयर ओगट्ने छ । त्यसमा नयाँ शेयरका साथै टिएनएले लिएको केहि शेयर समेत टिम भेन्चर्सले खरिद गरेको हो ।
‘हामी फुडमाण्डुजस्तो घरेलु स्तरमा बढ्दै गरेको, नयाँ अर्थ व्यवसायमा लगानी गर्न पाउँदा र यसको भविश्यको वृद्धिमा सहभागी हुन पाउँदा हर्षित भएका छौं,’ टिम भेन्चर्सका संस्थापक तथा सिईओ तेन्जिन गोन्सारले भने, ‘कम्पनीले विभिन्न रियल स्टेट डेभलपमेन्ट प्रोजेक्टहरु, मर्चेन्ट बैंकिंग कम्पनी, स्टक मार्केटमा लगानी गरेको छ भने आफ्नै ट्रेडिङ्ग कम्पनीपनि सञ्चालन गर्दछ ।’
टिम भेन्चर्स संस्थागत भेन्चर फण्डको प्रमुख शेयरहोल्डर हो र यसले कयौं जलविद्युत परियोजनाहरुको शेयर लिएको छ । त्यसैगरि प्रमुख बीमा कम्पनीहरुले नेतृत्व गरेको अटो सर्भिसिंग सेन्टर चेनको प्रमुख प्रबद्र्धक पनि हो ।