close

बार्सिलोना र ओलम्पिकको ट्वीटर ह्याक गर्ने समूह भन्छ- जे पनि ह्याक गर्न सकिन्छ

टेकपाना टेकपाना

फागुन ६, २०७६ १०:२५

बार्सिलोना र ओलम्पिकको ट्वीटर ह्याक गर्ने समूह भन्छ- जे पनि ह्याक गर्न सकिन्छ

एजेन्सी । ओलम्पिक कमिटी र फूटबल क्लब बार्सिलोनाको अफिसियल ट्वीटर अकाउन्ट शनिबार ह्याक भयो । ती अकाउन्टहरु त्यसैले ह्याक गरेको बताइएको छ, जसले विभिन्न प्रतिष्ठित अकाउन्टहरु ह्याक गर्दै आइरहेको छ । 

ट्वीटरका प्रवक्ताका अनुसार ती अकाउन्टहरु आवरमाइन नामको ग्रुपले ‘थर्डपार्टी प्लेटफर्म’ बाट ह्याक गरेको हो । उनले त्यस्तो खबर प्राप्त हुने बित्तिकै ह्याक अकाउन्टलाई लक गरेको र त्यसलाई रिस्टोर गर्न साझेदारहरुसँग मिलेर काम गरिरहेको बताएका छन् । 

इन्टरनेसनल ओलम्पिक कमिटीले आफ्नो सामाजिक सञ्जालमाथि हुनसक्ने सम्भावित ह्याकको विषयमा अनुसन्धान गरिरहेको बताएको छ । फूटबल क्लब बार्सिलोनाको अकाउण्ट ह्याक भएको शनिबार ट्वीटरमार्फत नै पुष्टि भएको थियो । 

आवरमाइनले शनिबार ह्याक गर्दै ओलम्पिक्सको ट्वीटर अकाउन्टमा लेखेको थियो, ‘हाई, हामी आवर माइन हौं । सबै कुरा ह्याक गर्न सकिन्छ ।’ हाल उक्त पोस्ट डिलिट भइसकेको छ । 

आवरमाइनले उक्त ट्वीटर पोस्टलाई एउटा इमेल एड्रेससँग लिंक गराएर प्रयोगकर्ताहरुलाई अकाउन्टको सेक्युरिटी सुधार गर्न आफ्नो ग्रुपको वेबसाइटमा सम्पर्क गर्न भनेको थियो । आवरमाइनले उक्त अकाउन्ट ह्याक गरेर गोप्य सन्देशहरु पनि पढेको पाइएको छ ।

टिमका चर्चित पूर्व खेलाडी नेइमार, डा सिल्भा, सान्टोस जुनियर टिममा फर्केर आउने कुरा पनि उसले डिलिट भएको पोस्टमा दाबीका साथ लेखेको छ । उसले ट्वीटमा लेखेको छ, ‘हामीले गोप्य सन्देश पनि पढेका छौं र नेइमार फर्केर आउने सम्भावना देखिएको छ ।’

एनबीसी समाचारका अनुसार उक्त ह्याकरको समुह साउदी अरबमा आधारित हो । यो समूले यस अघि नेसनल फूटबल लिग तथा विभिन्न टोलीहरुको  पनि ट्वीटर अकाउन्ट ह्याक गरेको थियो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१