close

दिउँसो २ बजेदेखि फेसबुकमा लाइभ म्युजिक कन्सर्ट, शेयर गर्दा सरकारलाई सहयोग

टेकपाना टेकपाना

चैत १७, २०७६ १०:५२

दिउँसो २ बजेदेखि फेसबुकमा लाइभ म्युजिक कन्सर्ट, शेयर गर्दा सरकारलाई सहयोग

काठमाडौं । चर्चित डिजिटल वालेट खल्तीले आर्बिटरी ग्रुपसँगको सहकार्यमा ‘म्युजिक फर एड’ नामक अनलाइन लाइभ म्युजिक शो गर्ने भएको छ । नेपालका चर्चित गीतकारहरुलाई एकै ठाउँमा ल्याएर उक्त कार्यक्रम गर्न लागिएको हो ।

कार्यक्रमकाे मिडिया पार्टनरकाे रुपमा टेकपाना डटकम रहेकाे छ । लाइभ म्युजिक कन्सर्ट टेकपानाको आधिकारिक फेसबुक पेजमा हेर्न सक्नुहुनेछ ।

शान्ती, एकता, नयाँपन र मानवतालाई विस्तार गर्ने योजनाका साथ डिजिटल कन्सर्ट गर्न लागिएको आयोजक खल्तीका निर्देशक अमित अग्रवालले बताए ।

‘मान्छेहरु घरमा बसेर दिनरात कोरानाभाइरसको समाचार पढेर बसेका छन्, फोनको रिंगब्याक टोन पनि उस्तै छ । यसले मान्छेको सोचाइमै फरक पार्नसक्छ,’ उनले भने, ‘त्यसैले हामीले यो समयमा मान्छेलाई केही फरक र समय बिताउने माध्यमको रुपमा डिजिटल कन्सर्ट आयोजना गर्न लागेका हौँ ।’

कन्सर्टको माध्यमबाट कोरोना भाइरसको विषयमा जागरण फैलाउने उद्देश्य समेत लिइएको छ । अहिले नेपाल कोरोनाभाइरसको संक्रमणको पहिलो चरणमा छ । इटालीमा पनि सुरुवाती समयमा पाँच जनामा मात्रै यो भाइरस देखा परेको थियो । पछिल्लो समय विस्तार हुँदै यसले महामारीको रुप लिएको छ ।

अग्रवाल भन्छन्, ‘भोलि यहाँ पनि त्यस्तै नहोला भन्न सकिन्न । यस्तो अवस्थामा मान्छेमा जनचेतनाको खाँचो छ । त्यसैले यसै कार्यक्रममार्फत रोगको संक्रमणबाट बच्न सचेतना फैलाउने योजना पनि बनाएका छौँ ।’

कार्यक्रममार्फत डिजिटल भुक्तानीलाई पनि प्रवर्द्धन पुग्ने अपेक्षा गरिएको छ । कार्यक्रम सोमबार दिउँसो २ बजेबाट सुरु हुनेछ ।

कार्यक्रममा एड्रिन प्रधान, प्रज्वल प्रधान, विपुल क्षेत्री, इसान आर ओन्टा, केञ्जल श्रेष्ठ, फिरोज स्याङ्देन, शिरिश डाली, स्वप्निल शर्मा, स्वप्न सुमन लगायतका कलाकारले प्रस्तुति दिनेछन् ।

लाइभ कार्यक्रम शेयर गरेबापत सरकारले कोरोनाभाइरस रोकथामका लागि सञ्चालनमा ल्याएको राहत कोषमा पनि सहयोग पुग्ने छ । त्यसका लागि सफ्टवेयरमार्फत ट्रयाकिङ गरिने निर्देशक अग्रवालको भनाई छ ।

उनले भने, ‘लाइभ जतिवटा सेयर हुन्छ, हरेक सेयर बराबर एक रुपैंया सरकारका खातामा जम्मा हुनेछ । सोही समयमा यदि कसैले दान गर्न चाहेमा सिधै सरकारको खातामा जम्मा गर्नसकिने सिस्टम को व्यवस्था समेत गरेका छौँ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१