close

प्ले स्टोरबाट गूगलले हटायो कोरोनाको गलत सूचना फैलाउने एप

टेकपाना टेकपाना

चैत १८, २०७६ १४:६

प्ले स्टोरबाट गूगलले हटायो कोरोनाको गलत सूचना फैलाउने एप

एजेन्सी । कोभिड-१९ अर्थात कोरोनाभाइरस सम्बन्धि गलत सूचना फैलाएको भन्दै गूगल प्ले स्टोरले एउटा विवादास्पद इन्फोवार एपलाई आफ्नो साइटबाट हटाएको छ । कुख्यात कन्सपिरेसी थेउरिस्ट एलेक्स जोन्सको उक्त एपलाई गूगल प्ले स्टोरले हटाएको हो ।

गूगल प्ले स्टोरबाट हटाउँदासम्म उक्त एप एक लाखपटक डाउनलोड भइसकेको थियो । एपले विभिन्न सामग्रीहरु समेत बिक्री गर्दै आएको थियो । 

एपमा जोन्सका विभिन्न भिडियो तथा लेखहरु राखिएको थियो । साथै उक्त एपबाटै एलेक्स जोन्सले लाइभ ब्रोडकास्टिङ पनि गर्दै आएका थिए ।

उक्त एपलाई साइटबाट हटाइनुभन्दा एक साता अघि एलेक्स जोन्सले एउटा भिडियो पोस्ट गरेका थिए । उक्त भिडियोमा कोरोनाको रोकथामका लागि अपनाइएको सामाजिक दुरी र सेल्फ क्वारेन्टाइनमाथि उनले प्रश्न उठाएका थिए । 

जोन्सले नयाँ विश्वमा सबैजना मारिने भन्दै पृथ्वीमा रहेका प्राकृतिक एन्टी भाइरसहरुले कोरोनालाई सखाप पार्न सक्ने बताएका थिए । उक्त इन्फोवार एपबाट विभिन्न वस्तु, सामाग्री तथा टुथपेस्ट पनि बिक्री भएको थियो । 

ती वस्तुहरुले कोरोनाको उपचार गरिने दाबी थियो । अहिलेको घडिमा गलत सूचनाविरुद्ध लड्नु नै प्ले स्टोरको मूख्य प्राथमिकता रहेको गूगलका प्रवक्ताले भनेका छन् । 

एप्पलले आफ्नो एप स्टोरबाट इन्फोवार एप्सहरु हटाउन थालेपछि पछिलो डेढवर्षयता गूगलले पनि आफ्नो प्ले स्टोरबाट त्यस्ता एपहरु हटाउन थालेको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१