close

सरकारले सार्वजनिक गर्‍यो कोरोना ट्रेसिङ एप

टेकपाना टेकपाना

बैशाख २७, २०७७ २०:२२

सरकारले सार्वजनिक गर्‍यो कोरोना ट्रेसिङ एप

काठमाडौं । सरकारले कोरोनाभाइरस ट्र्याकिङ तथा ट्रेसिङ गर्न छुट्टै एप सार्वजनिक गरेको छ । लामो समयको लकडाउनका बावजूद मुलुकमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्न सरकारले कोभिड एनपी एप तयार पारेको हो ।

कोभिड-१९ क्राइसिस् मेनेजमेन्ट सेन्टर (सीसीएमसी ओपीसी) अन्तर्गत तयार पारिएको उक्त एपको शनिबार उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले सार्वजनिक गरे । महामारी रोकथाम तथा नियन्त्रणका लागि छाउनीमा स्थापना गरिएको सीसीएमसीमा आयोजित समारोहमा उक्त एपको सार्वजनिक गरिएको हो ।

यस अघि २५ चैतमा राष्ट्रका नाममा संवोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसका सम्भावित संक्रमितको पहिचान गर्न ट्रेसिङ एप प्रयोगमा ल्याउने घोषणा गरेका थिए । घोषणाको एक महिनामा एप तयार भएको हो ।

सम्भावित सङ्क्रमितको पहिचान तथा जानकारीको अभावमा कोरोनाबारे यकिन तथ्यांङ्क आउन नसकेको आशंका गरिँदै आएको छ । प्रधानमन्त्री ओलीका आईटी विज्ञ अस्गर अलीले ट्रेसिङ एप गूगल प्ले स्टोरमा उपलब्ध रहेको र आईओएस एप स्टोरमा केही दिनमा आउने बताए ।

सम्भावित बिरामीको पहिचान गरी समयमै द्रुत स्वास्थ्य परामर्शलगायत थप उपचारको व्यवस्था मिलाउन सहज बनाउने उद्देश्यले उक्त एप प्रयोगमा ल्याइएको हो । कोरोना ट्रेसिङ गर्न सार्वजनिक गरिएको यो एप स्वेच्छिक रुपमा डाउनलोड गर्न सकिने प्रधानमन्त्रीका आईटी विज्ञ अलीको भनाई छ । सूचना प्रविधिको क्षेत्रमा कार्यरत आइमार्क प्रालिले स्वयम्‌सेवी रुपमा तयार पारेको यो एप परीक्षण केही साताको परीक्षण पश्चात सार्वजनिक गरिएको हो ।

अन्य मुलुकमा प्रयोगमा ल्याएको जस्तै एप तयार भएको भन्दै अलीले प्रयोग गर्नका लागि सबैलाई अपील गरे । उनले कोभिडएनपी एपको प्रयोग सही तरिकाले सबैले गरेको खण्डमा दक्षिण कोरियाले जस्तै संक्रमण नियन्त्रणमा सरकारले सफलता हासिल गर्ने र दैनिकी सहज बन्दै जाने विश्वास व्यक्त गरे ।

प्रयोग गर्ने व्यक्तिलाई सोधिएको प्रश्नका आधारमा प्राप्त उत्तरको मूल्याङ्कन गरी प्रयोगकर्तालाई हरियो, पहेँलो र रातो गरी तीन श्रेणीमा विभाजन गरी आवश्यकताअनुसार पत्ता लगाउन सक्ने व्यवस्था गरिएको आइमार्क प्रालिका अध्यक्ष रामप्रसाद ढुङ्गानाले बताए । उनले विभिन्न क्षेत्रमा कार्यरत ७० जनाभन्दा बढी प्राविधिक तथा चिकित्सकको योगदानमा एप तयार पारिएको जानकारी दिए ।

कोभिड-१९ बारे यथार्थ जानकारी जनतालाई दिन जरुरी रहेको बताउँदै उपप्रधानमन्त्री पोखरेलले हरेक व्यक्तिलाई जानकारी होस् भन्ने हेतुले तयार गरिएको एपको प्रयोग गर्न, सही सूचना प्राप्त र प्रवाह गर्न सबैलाई आह्वान गरेका छन् ।

त्यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरीषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले कोभिड– १९ सम्बन्धी जानकारी र सूचना एकीकृतरुपमा प्राप्त गर्न सकियोस् भन्ने हेतुले तयार गरिएको एपबाट प्रयोगमा सहजता र सरलता ल्याउने तथा दुरुपयोग नहोस् भन्नेमा उच्च सतर्कता अपनाउन आवश्यक रहेको बताए ।

आईटी विज्ञ अलीले भने, ‘परीक्षणबाट एप थप परिस्कृत बनेको छ।’ एपमा कोभिड-१९ रोगका लक्षण, सङ्क्रमणबाट बच्न अपनाउनुपर्ने सतर्कता, स्वास्थ्य परीक्षण लगायतका विषयमा विस्तृत जानकारी प्राप्त गर्न सकिनेछ । मोबाइल एपसँगै वेब एप्लिकेसन समेत सार्वजनिक भएको छ ।

उक्त एपमा राखिएका तथ्य तथ्याङ्क राष्ट्रिय सूचना केन्द्रको सर्भर मार्फत स्वस्थ्य मन्त्रालय, डेभलपर, प्रयोगकर्ता र सम्बद्ध पक्षका बिचमा सम्पर्क स्थापित गर्नेछ । एप प्रयोगकर्ताहरुले ब्लुटुथ अन गरिराखेको खण्डमा सम्भावित संक्रमितहरुको पहिचान गर्न नागरिकलाई सहज हुने विश्वास गरिएको छ ।

जसका कारण आईमार्कले सबै प्रयोगकर्तालाई ब्लुटुथ बन्द नगर्न पनि आग्रह गरेको छ । कोभिड– १९ का सम्बन्धमा तथ्यपरक र एकीकृत तथ्याङ्क राख्न एप फलदायी हुने विश्वास लिइएको छ ।

कोभिडएनपीको एन्ड्रोइड एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१