close

युट्युव भर्सेस टिकटक: टिकटक स्टारविरुद्धको उजुरीदेखि प्लेस्टोरको रेटिङ डाउनसम्म

टेकपाना टेकपाना

जेठ ६, २०७७ १६:०

युट्युव भर्सेस टिकटक: टिकटक स्टारविरुद्धको उजुरीदेखि प्लेस्टोरको रेटिङ डाउनसम्म

काठमाडौं । भारतका टिकटक स्टार फेजल सिद्दिकी विरुद्ध साइबर अपराधको उजूरी दर्ता भएको छ । आफ्नो पछिल्लो भिडियोद्वारा महिलामाथि एसिड हमलालाई प्रोत्साहन गरेको आरोपमा साढे १३ करोड फलोअर रहेका टिम नवावका प्रिन्स फेजलविरुद्ध त्यस्तो उजूरी परेको हो । 

उक्त भिडियो हेर्ने ट्वीटर प्रयोगकर्ताहरुले विवाह वा प्रेम सम्बन्धलाई अस्वीकार गर्ने महिलाहरुमाथि एसिड आक्रमकण गर्न उक्त भिडियोले प्रोत्साहन गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । सिद्दिकीलाई कडाभन्दा कडा कानूनी सजाय हुनुपर्ने उनीहरुको माग छ ।

हाल ट्वीटरमा ह्यासट्याग ब्यान टिकटक इडिया र ह्यासट्याग एसिड अट्याक अहिले टप ट्रेण्डिङमा छ । भारतको राष्ट्रिय महिला आयोगले पनि टिकटक इन्डियासँग उक्त भिडियोलाई तुरुन्त हटाउन आग्रह गरेको छ ।

साथै आयोगले महाराष्ट्र प्रहरीकहाँ त्यस्तो भिडियो बनाउने सिद्दिकी विरुद्ध कानूनी कारावाहीको माग समेत गरेको छ । भारतीय जनता दलका एमएलए तजिन्दरपाल सिंह बग्गाले उक्त विवादित भिडियोलाई ट्वीटरमार्फत भर्त्सना गरेपछि उक्त प्रकण चर्चामा आएको हो ।

यसपश्चात यो मामिला प्रहरी र टिकटक इन्डियासम्म पुगेको आयोगकी अध्यक्ष रेखा शर्माले बताएकी छन् । टिकटकले यस विषयमा मिडियामा कुनै प्रतिक्रिया दिएको छैन ।

तर सिद्दिकीले भने उक्त भिडियो आफूले एक महिना अघि अपलोड गरेको र हाल भारतमा चलिरहेको युट्युवर र टिकटकरहरुबीचको द्वन्द्वको कारण यो भिडियो एकाएक भाइरल गराइएको बताएका छन् ।

उनले वक्तव्य जारी गर्दै आफ्नो भिडियोले एसिड आक्रमणलाई प्रस्तुत नगरेको तर मानिसरुले आफ्नो भिडियोलाई महिला विरोधी करार दिएको भन्दै आफ्नो बचाउ गरेका छन् । वितेको केही दिनयता इन्टरनेटमा युट्युवर र टिकटकका समर्थकहरुबीच ठूलो लडाईं जारी छ । 

‘युट्युव भर्सेस टिकटक: द इण्ड’ शिर्षकको एउटा भिडियो सामाजिक सञ्जालमा पोस्ट भएपछि मानिसहरुबाट थरी थरीका प्रतिक्रियाहरु आउन थालेका छन् । 

उक्त भिडियो गत मे ८ मा युट्युव सेन्सेसन क्यारी मिनाटी अर्थात् अजेय नागारले शेयर गरेका थिए । उक्त भिडियोमा उनले टिकटक कम्युनिटीमार्फत सोसल मिडिया इन्फ्लुयन्सर अमिर सिद्दिकीको विषयमा उल्लेख गरेका थिए ।

भारतका टिकटक स्टारहरुलाई पात्र बनाइएको उक्त भिडियोले युट्युवमा ७ करोडभन्दा बढी पटक हेरिएको थियो । उक्त भिडियो  भारतको सबैभन्दा धेरै रुचाइएको गैर म्युजिक युट्युव भिडियो बनेको थियो ।

तर समलिङ्गीहरु प्रति नकरात्मक टिप्पणी गरेको भन्दै धेरै भ्यूअरहरुले उक्त भिडियोमाथि रिपोर्ट गरेपछि भिडियोलाई युट्युवले हटाएको थियो । उक्त भिडियो युट्युवबाट हटाए लगत्तै ट्वीटरमा एउटा लहर पैदा भयो, जसले युट्युव स्टारहरुको न्यायको माग गर्दै देशमा टिक टकलाई प्रतिबन्ध लगाउन माग हुन  थाल्यो ।

युट्युवका समर्थकहरुले उक्त भिडियो राम्रो र हानिकारक रहीत तथा ठट्टा मजाक भएको भन्दै त्यसको बचाउ गरेका थिए । त्यसपछि सामाजिक सञ्जालमा ह्यासट्याग क्यारी मिनाटी र ह्यासट्याग जस्टिस फर क्यारी को ट्रेण्डिङ सुरु भएको थियो । 

यसबीच अभिनेता हिमान्स कोहली पनि युट्युव स्टारको सपोर्टमा बाहिर आए । उनले उक्त भिडियो रमाइलो रोस्ट मात्र भएको र राम्रा सामाग्रीहरु मात्र पोस्ट गर्न उक्त भिडियोले सचेत बनाएको बयान दिए ।

तर क्यारी मिनाटीको उक्त भिडियोले प्लेस्टोरमा टिकटकको रेटिङलाई नै ठूलो क्षति पुर्‍यायो । केही दिनमै उक्त एपको रेटिङ ४.५ बाट ३.२ मा झर्‍यो । यसबीच युट्युव समर्थकहरुले युट्युवमा पोस्ट भएका धेरै टिकटक भिडियो भिजिट गरेर त्यहाँ डिसलाइक समेत गरेका छन् ।

यसबीच युट्युव कन्टेन्ट क्रिएटरहरुको समर्थन गर्दै कतिपय प्रयोगकर्ताहरुले टिकटक एप पनि अनइन्स्टल गरेका छन् । कतिपयले आफ्ना साथीभाईलाई गूगल प्लेस्टोरमा टिकटकलाई कम रेटिङ दिन सुझाएका छन् ।

क्यारी मिनाटीको हाल युट्युवमा एक करोड ८१ लाखभन्दा बढी सब्स्क्राइबरहरु छन् । उनी भारतको सबैभन्दा धेरै सब्स्क्राइबर भएका युट्युबर हुन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३