close

माउस चलाउन सिकाउने सोलिटायर गेम ३१ औं वर्षमा, मासिक प्रयोगकर्ता ३.५ करोड

टेकपाना टेकपाना

जेठ १०, २०७७ ११:३७

माउस चलाउन सिकाउने सोलिटायर गेम ३१ औं वर्षमा, मासिक प्रयोगकर्ता ३.५ करोड

काठमाडौं । माइक्रोसफ्टको सोलिटायर गेम ३० वर्ष पुरा गरेर ३१ औं वर्षमा प्रवेश गरेको छ । अहिले पनि मासिक साढे तीन करोड प्रयोगकर्ताले यो गेम खेल्ने गर्छन् । माइक्रोसफ्टका अनुसार यो गेम विश्वभर दैनिक १० करोडभन्दा धेरै हात (राउण्ड) खेलिन्छ । 

सन् १९९० तिर प्रयोगकर्ताहरुलाई माउस चलाउन सिकाउन उद्देश्यले विण्डोज ३.० मा यो गेम राखिएको थियो । भर्चुअल कार्डहरुलाई टिपेर अर्को ठाउँमा राख्नुपर्ने यो गेमले विण्डोजको आधारभूत ड्रयाग एण्ड ड्रप टेक्निक सिकाएको थियो ।

आज पनि यो टेक्निक विण्डोज अपरेटिङ सिस्टमको धेरै भागहरुमा प्रयोग हुन्छ । माइक्रोसफ्टको सोलिटायरसँग एक दिनमै सबैभन्दा धेरै गेमहरु कटाएको विश्व रेकर्ड पनि छ ।   

यो गेमलाई सुरुमा विण्डोज सोलिटायर नाम दिइएको थियो । यो गेम त्यस बेला विश्वमै सबैभन्दा धेरै खेलिने गेम मध्ये एउटा थियो । यसको लोकप्रियताकै कारण माइक्रोसफ्टले दुई दशकभन्दा लामो समयसम्म विण्डोजको हरेक भर्सनमा यसलाई राख्ने गरेको थियो । 

यसरी अहिलेसम्म यो गेम एक अर्बभन्दा धेरै पीसीहरुमा राखियो । २०१२ मा विण्डोज एट रिलिज भएपछि भने विण्डोजको डेडिकेटेड अंशको रुपमा यो गेम आउन बन्द भयो । 

सुरुवातमा माइक्रोसफ्टका एकजना इन्टर्न चेरिले यो गेमको प्रोग्रामिङ गरेका थिए । यस्तै पिक्सेल आर्ट र म्याक जीयूआई पायोनियर सुजेन केयरले यसको ओरिजिनल कार्ड डेक डिजाइन गरे । 

सोलिटायर गेम आज पनि विश्वभर दशाैं लाख मानिसहरुले खेल्ने गर्छन् । गत वर्ष वर्ल्ड भिडियो गेम हल अफ फेममा पनि यो गेमलाई समावेश गरिएको थियो ।

माइक्रोसफ्टले यो गेमलाई ६५ वटा भाषामा स्थानीयकरण गरेको छ । यो गेम दुई सयभन्दा धेरै बजारहरुमा खेलिन्छ । सोलिटायर गेमको पहिलो महत्वपूर्ण अपडेट २०१२ मा मात्र भएको थियो ।

त्यतिखेर यो गेमलाई विण्डोज एटबाट हटाएर स्ट्याण्ड अलोन (छुट्टै अस्तित्व भएको) एपको रुपमा सार्वजिनक गरिएको थियो । उक्त नयाँ एपमा पाँचवटा गेम मोडहरु थिए, डेली च्यालेञ्ज, कम्पिटेटिभ इभेन्ट, एक्सबक्स लाइभ इन्टिग्रेसन र अप्ठ्यारो चयन गर्न सक्ने सुविधा थियो । 

स्ट्याण्ड अलोन एपको रुपमा रहेको सोलिटायर गेम २०१५ मा विण्डोज टेनको हिस्साको रुपमा फर्किएर आयो । यो अहिले सबै महत्वपूर्ण अपरेटिङ प्लेटफर्महरुमा उपलब्ध छ । यसलाई अहिले विण्डोज, आईओएस, एन्ड्रोइड र वेबमा पनि पाउन सकिन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३