close

एप्पलले हात पार्‍यो ‘सिन्थेटिक ग्रुप सेल्फी’को प्याटेन्ट

टेकपाना टेकपाना

जेठ २६, २०७७ १९:५

एप्पलले हात पार्‍यो ‘सिन्थेटिक ग्रुप सेल्फी’को प्याटेन्ट

एजेन्सी । एप्पल कम्पनीले ‘सिन्थेटिक ग्रुप सेल्फी’ बनाउन सक्ने नयाँ सफ्टवेयरको प्याटेन्ट अधिकार प्राप्त गरेको छ । कोभिड १९ महामारीबीच सामाजिक दूरी कायम गरिरहेका साथीहरुबीच ग्रुप सेल्फी लिन यो सफ्टवेयरले मद्दत गर्नेछ ।

यो फिचर एप्पलका डिभाइस प्रयोग गर्ने सबैले प्रयोग गर्न सक्छन् । तर यो फिचर आईप्याड वा आईफोनमा कहिले उपलब्ध हुन्छ भन्ने स्पष्ट भएको छैन । एप्पल डिभाइस प्रयोगकर्तासँग यो सफ्टवेयर छ भने उसले अन्य साथीहरुलाई ग्रुप सेल्फीका लागि इन्भाइट गर्न सक्छ । यसरी उक्त सफ्टवेयरले छुट्टा छुट्टै लिइएका सेल्फीलाई एउटै तस्वीर बनाउने गर्दछ । 

यो सफ्टवेयरले सेल्फीमा फोटो, भिडियो फोटो वा लाइभ स्ट्रिमिङ फोटो सबैलाई मिलाएर एउटै फ्रेमभित्र राख्नसक्छ । प्रयोगकर्ताले आफ्नो वास्तविक सेल्फी र ग्रुप भर्सन दुवै सेल्फी छुट्टा छुट्टै राख्न सक्छन् । त्यस्तो फोटोमा प्रयोगकर्ताले पुनः फोटो एडिट गरेर आफ्नो स्थान परिवर्तन गर्न पनि सक्नेछन् ।

कोभिड १९ महामारी र सामाजिक दूरी अपनाइरहेको अहिलेको समयमा सार्वजनिक भएको यो सफ्टवेयर धेरै सान्दर्भिक र उपयोगी देखिए पनि यो अवधारणा नयाँ भने होइन । एप्पलले यो सफ्टवेयरका लागि पहिलोपटक २०१८ मै प्याटेन्ट निवेदन दर्ता गराएको थियो । अन्ततः गएको २ जुनमा उसले प्याटेन्ट अधिकार प्राप्त गरेको हो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०