close

अमेरिकी प्रहरीमाथि फेसियल रिकग्निसन प्रविधि प्रयोगमा माइक्रोसफ्टको समेत रोक

टेकपाना टेकपाना

जेठ ३२, २०७७ १०:४२

अमेरिकी प्रहरीमाथि फेसियल रिकग्निसन प्रविधि प्रयोगमा माइक्रोसफ्टको समेत रोक

एजेन्सी । केही समय अघि प्रहरीले अश्वेत नागरिक जर्ज फ्लोयडको हत्या गरेपछि अहिले अमेरिकाभर आन्दोलन चर्किएको छ । यस्तोमा अमेरिकी प्रहरीले फेसियल रिकग्निसन प्रविधि प्रयोग गरी दमन गरिरहेको कुरा बाहिरिएसँगै एकपछि अर्को कम्पनी प्रहरीलाई त्यस्तो प्रविधि उपलब्ध गराउने विषयबाट पछि हटिरहेका छन् ।

माइक्रोसफ्टले शुक्रबार मात्रै आफ्नो फेसियल रिकग्निसन प्रविधि अमेरिकी प्रहरीलाई बिक्री नगर्ने जनाएको छ । उसले विज्ञप्ती जारी गर्दै यो प्रविधि अमेरिकी प्रहरीलाई बेच्नुपूर्व संघीय नियमनको पर्खाइमा रहेको बताएको छ ।

उक्त विज्ञप्तिमा अगाडि लेखिएको छ, ‘मानवअधिकारको आधारमा यस विषयको कडा राष्ट्रिय कानून नआएसम्म कम्पनीले यो प्रविधि प्रहरीलाई बेच्ने छैन ।’

यसअघि अमेजन डट इंकले आफ्नो फेसियल रिकग्निसन प्रविधि अमेरिकी प्रहरीलाई प्रयोग गर्नबाट रोक लगाएको थियो । उसले एक वर्षका लागि यो रोक लगाइएको जनाएको छ ।

फेसियल रिकग्निसनको प्रयोगमा सबैभन्दा अघि रोक लगाउने कम्पनी भने आईबीएम हो । आईबीएमले फेसियल रिकग्निसन पविधिको अनुसन्धान विकास, लगायतका सम्पूर्ण कार्य बन्द गर्ने घोषणा नै गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०