close

साढे ३ अर्बमा देशभर पूर्व-पश्चिम, उत्तर दक्षीण जोड्ने फाइबर सञ्जाल विस्तार गरिने

टेकपाना टेकपाना

असार १, २०७७ १४:२५

साढे ३ अर्बमा देशभर पूर्व-पश्चिम, उत्तर दक्षीण जोड्ने फाइबर सञ्जाल विस्तार गरिने

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले देशभर पूर्व-पश्चिम तथा उत्तर दक्षिण जोड्ने गरी अप्टिकल फाइबर विस्तार गर्ने योजनालाई निरन्तरता दिएको छ । भर्खरै बोर्ड बैठकबाट पारित आगामी वर्षको वार्षिक कार्यक्रममा उक्त कार्यका लागि साढे तीन अर्ब रुपैयाँ छुट्याइएको छ ।

सूचना प्रविधि तथा सञ्चारका लागि देशकै मेरुदण्डको रुपमा रहेको यो परयोजना विगत पाँच वर्षदेखि निरन्तर कार्यक्रममा पर्दै आएको छ । तर परियोजनामा अपेक्षित प्रगति भने हुन सकेको छैन ।

विभिन्न सेवाप्रदायक मार्फत आउँदो एक वर्षको अवधिमा परियोजना सम्पन्न गर्ने प्राधिकरणको लक्ष छ । तीन खण्डमा विभाजन गरी अगाडि बढाइएको यो परियोजनामा प्रदेश १, दुई र गण्डकी तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा पर्ने मध्यपहाडी लोकमार्गदेखि जिल्ला सदरमुकाम सम्म अप्टिकल फाइबर विस्तार गर्न नेपाल टेलिकमसँग सम्झौता भइसकेको छ ।

तर गण्डकी प्रदेश र प्रदेश नम्बर ५ मा परियोजना सम्पन्न गर्न यूनाइटेड टेलिकमलाई ठेक्का दिइएको भए पनि निर्माण कार्य अगाडि बढ्न नसकेपछि प्राधिकरणले सम्झौता तोड्ने निर्णय गरिसकेको छ । तर सर्वोच्च अदालतमा विचाराधीन रहेका कारण उक्त परियोजना अन्यौलतामै फसेको छ ।

बहुवर्षिय योजनाको रुपमा हरेक वर्ष निरन्तरतामा राख्दै आएको नियामकले यस वर्ष समेत सातै प्रदेश अन्तर्गतका मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम, पूर्व पश्चिम जोड्ने राजमार्ग र उत्तर दक्षिण जोड्ने राजमार्गमा समेत अप्टिकल फाइबर विच्छ्याउने कार्यक्रम बनाएको छ ।

यद्यपी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्वीकृत गरेपछि मात्र यो वार्षिक कार्यक्रम कार्यान्वयनमा आउनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०