close

खल्ती, प्रभु-पे र युनी-पे वालेटमै एनसेलका डेटा र भ्वाइस प्याक

टेकपाना टेकपाना

असार १, २०७७ १८:५८

खल्ती, प्रभु-पे र युनी-पे वालेटमै एनसेलका डेटा र भ्वाइस प्याक

काठमाडौं । एनसेलका ग्राहकले अब डिजिटल वालेट र एनसेलका आधिकारिक खुद्रा बिक्रेताबाट सोझै डेटा र भ्वाइस प्याक खरीद गर्नसक्ने भएका छन् । यसका लागि एनसेलले खल्ती, प्रभु–पे र युनी–पेसँग सहकार्य गरेको हो ।

कम्पनीले आफ्ना खुद्रा बिक्रेतालाई पनि प्याकहरू बिक्री गर्न सक्ने सुविधा प्रदान गरेको छ ।पछिल्लो समय डिजिटल वालेटको प्रयोग बढिरहेको अवस्थालाई मध्यनजर गर्दै एनसेलले खल्ती, प्रभु–पे र युनी–पेसँग सहकार्य गरेको हो ।

यससँगै यी वालेटका प्रयोगकर्ताले आवश्यकता अनुसार सजिलै एनसेलका विभिन्न डेटा र भ्वाइस प्याकहरू किन्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पहिलो चरणमा ग्राहकले यी वालेटमार्फत वा वालेटसँग जोडिएको बैंक खाताबाट विभिन्न ६ वटा डेटा प्याक र ६ वटा भ्वाइस प्याक सुचारु गर्न सक्नेछन् ।

‘एनसेल डिजिटल प्रविधिमा अभ्यस्त हुँदै गएका ग्राहकको आवश्यकता सम्बोधन गर्नका लागि उपयुक्त समाधान ल्याउन सधैं प्रयासरत छ । त्यसैअनुरुप वालेटहरुसँगको सहकार्यमा हाम्रा ग्राहकले एक दर्जन डेटा तथा भ्वाइस प्याक सिधै लिन सक्ने छन्,’ एनसेलका प्रमुख व्यापारिक अधिकृत प्रदीप श्रीवास्तले भने, ‘ डिजिटाइजेसन अन्तर्गत हाम्रा खुद्रा बिक्रेतालाई ग्राहकमाझ सिधैं सेवा प्रदान गर्न सक्षम बनाउन पाएकोमा हामी खुशी छौं । यो हाम्रा ग्राहकका लागि एउटा ठूलो सहजताको विषय हो ।’

ग्राहकले नजिकैको खुद्रा बिक्रेताबाट समेत आवश्यकताअनुसार आफ्नो मोबाइलमा प्याक लिन सक्ने कम्पनीले जनाएको छ । यो प्रक्रियामा खुद्रा बिक्रेताले ग्राहकको आग्रह अनुसार एसएमएस वा यूएसएसडीमार्फत प्याकको कोड र ग्राहकको मोबाइल नम्बर एनसेललाई पठाउनुपर्नेछ र छनौट गरिएको प्याक सिधै सम्बन्धित ग्राहकको नम्बरमा सुचारु हुनेछ ।

कम्पनीका ग्राहकले एनसेलका आधिकारिक खुद्रा बिक्रेता, खल्ती, प्रभु–पे र युनी–पे मार्फत करसहित मात्र ९८.९९ रुपैयाँमा २१ सय एमबी डेटा किन्न सक्छन् । यो डेटा ग्राहकले प्रत्येक दिन ३०० एमबीका हिसाबले ७ दिनसम्म चलाउन पाउँछन् ।

त्यस्तै करसहित मात्र ४९८.८३ रुपैयाँमा १५ हजार एमबी डेटा खरिद गर्न सकिनेछ । यो प्याकमा ग्राहकले दैनिक ५ सय एमबी डेटा ३० दिनसम्म चलाउन पाउँछन् ।

डेटा सेवाको आवश्यकता बढी हुने ग्राहकले यी माध्यमबाट करसहित ९९८.९७ रुपैयाँमा ३६ हजार एमबी डेटाको प्याक लिन सक्छन् । यस प्याकअन्तर्गत ग्राहकले दैनिक रूपमा १२ सय एमबी ३० दिनसम्म प्रयोग गर्न सक्छन् ।

प्याकअन्तर्गत उपलब्ध हुने डेटा भोलुम सकिए पनि प्याकको समयावधी बाँकी रहेसम्म मेन ब्यालेन्सबाट रकम नकाटिने कम्पनीले नजाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०