close

कार्टुन एनिमेसनका नेपाली ‘क्रियटर’

युजु खालिङ युजु खालिङ

असार ५, २०७७ १८:२४

कार्टुन एनिमेसनका नेपाली ‘क्रियटर’

काठमाडौं । छोरा-छोरीको कार्टुन हेर्ने बानी देखेर आजित हुनुहुन्छ ? स्वभाविक हो, कुनै ज्ञानवर्द्धक सामग्रीको साटो नानी-बाबुहरुले समय खेर फाल्ने कुरा जोकोही बाबु-आमाका लागि चिन्ताको विषय हो ।

सामान्यतयाः कार्टुन शब्दलाई मानिसहरुले आफ्नो उमेरको एउटा निश्चित परिधिभित्र रहेर मात्र बुझ्ने गर्छन् । तर कार्टुनको दुनियाँमा रमाउनेहरु यसलाई असिमितताको पर्याय मान्छन् ।

कार्टुनको एनिमेसन एउटा मात्र त्यस्तो माध्यम हो, जसले व्यक्तिलाई आफ्नो भावना, कल्पना र विचार पोख्नका लागि सबै सीमाहरु भत्काउन सक्छ । 

एनिमेसन र कार्टुनको यो सार्थकतालाई बुझ्नेहरुले वास्तविक जीवनमा यसको प्रयोग गरेर भविष्यको मार्ग पहिल्याउन सक्छन् । यसै दृष्टान्तलाई क्रियट विजनेस प्राइभेट लिमिटेडका संस्थापक उज्वल धानुकले प्रमाणीत गरेका छन् ।

पूर्वको सानो सहर भद्रपुरमा जन्मिएका उज्वल बाल्यकालदेखि नै कार्टुन एनिमेसनप्रति एकदमै रुची राख्दथे । यसैकारण २००६ मा एसएलसी उत्तीर्ण गरे लगत्तै आफ्नो रुचीलाई नै भविष्यको लक्ष्य बनाएर एनिमेसन अध्ययन गर्ने सपना उज्जवलको मनमा पलाउन थाल्यो ।

नजिकै विर्तामोडमा उनले प्लस टूको अध्ययन पुरा गरे । एनिमनेसनमा केही गर्ने उत्कट चाहना उनीभित्र जिवितै थियो । तर नेपालमा एनिमेसन सम्बन्धी अध्ययन अध्यायपन गराउने उच्च स्तरका कुनै पनि शैक्षिक संस्थाहरु थिएनन् । 

भारतमा भने एउटा शैक्षिक संस्था थियो । जसले एनिमेसनको एड्भान्स कोर्ष र प्रमाणपत्र उपलब्ध गराउन सक्दथ्यो । त्यसबारे उनले सुने त्यतैतिर लागे । उनले त्यहाँ भिजुअल इफेक्टमा विशिष्टकृत तीन वर्षको कोर्ष पुरा गरे ।

त्यसै समय उनले फिल्म निर्माणको अनुभव बटुल्ने काम पनि सुरु गरेका थिए । तर  फिल्म निर्माणको काममा सृजनशीलता विकास गर्न नसकिने कुराको आभाष हुन थाल्यो । 

२०१४ मा उनी भारतमै विज्ञापनको भिडियो रचना गर्ने क्षेत्रमा काम गर्न थाले । त्यसैबीच पुणेमा रहेका केही साथीहरुसँग मिलेर उनले एउटा स्टार्टअप सुरु गरे ।

साथीहरुको व्यवसायीक ज्ञान र आफ्नो सृजनशील खुबीको तालमेलमा उनीहरुले आफ्नो स्टार्टअप व्यवसाय थाले । त्यहाँ बटुलेको अनुभव र हासिल गरेका सीप लिएर २०१८ को डिसेम्बरमा उनी नेपाल फर्किए ।

त्यहाँ बटुलेको ज्ञान, सीप र अनुभवले गर्दा त्यतिबेलासम्म उनको मनमा नेपालमा नै केही गर्ने सोच अंकुराउन थालिसकेको थियो । तर नेपालमा यो सोच र व्यवसाय कत्तिको फलदायी हुन्छ भन्ने विषयमा भने उनीभित्र नै अन्योलता पैदा भइरहेको थियो ।

त्यसताका नेपालमा समेत केही संस्थाले उनले जस्तै काम गरिरहेका थिए । तर ती संस्थाहरुको सेवा अत्यधिक महंगो थियो । सबैले आउटासोर्सिङ गरेर काम चलाइरहेका थिए ।

विज्ञापनमा भिडियो बनाउने काम एकदमै महंगो थियो । सर्वसुभल मूल्यमा सामग्री बिकाउने उद्देश्यले उज्वलले क्रियट विजनेस प्रालि नामक कम्पनी खडा गर्ने योजना बनाए । 

उपभोक्ता तथा कम्पनीहरुमा यस किसिमको सेवा सम्बन्धी चेत नै नभएका कारण बजार तयार भइसकेको थिएन । तर परिवारको व्यवसायीक पृष्ठभूमीका कारण उज्वललाई आफ्नो आईडिया कार्यान्वयन गर्न लगानीको समस्या खासै भएन । 

यसरी परिवारबाट आर्थिक सहयोग लिएर उनले क्रेबिज स्टुडियो नामबाट सेवा त सुरु गरे । तर बजारमा कसरी स्थायीत्व प्राप्त गर्ने र ब्राण्ड बनाउने भन्ने चुनौती अगाडि पहाड जस्तै बनेर खडा भएको थियो । 

त्यसैले कम्पनी सुरु गरे पनि अगाडि बढाउन त्यति सजिलो भएन । ‘सुरुवातमा त हामीले  सबै किसिमका मार्केटहरुमा अप्रोच गर्‍यौं । नेपालमा भिडियो, त्यसमाथि एनिमेटेड भिडियो बिक्री गर्न सजिलो थिएन,’ उज्वल भन्छन्, ‘सबै ठूला संस्थाहरु पुराना विज्ञापन एजेन्सीहरुसँग जोडिएका थिए ।

यसकारण सुरुवातमा हामी दैलो दैलोमा पुग्यौं । यस्तो सेवा नेपालमा पनि ल्याइएको छ भनेर प्रचारप्रसार गर्‍यौं । अनलाइन फर्महरु निकाल्यौं । अहिले आएर विस्तारै हामीले बजारमा पहिचान पाउन थालेका छौं ।’

कम्पनी सुरु गरेको एक वर्षमात्र भएको छ । कियट विजनेस प्रालि अझै पनि बजारका लागि संघर्षकै चरणमा छ । तर यो छोटो अवधिमा कम्पनीले एलोफ, ज्योती लाइफ इन्स्योरेन्स, सीजी जस्ता नामी कम्पनीका लागि काम गरिसकेको छ । 

क्रियट विजनेसका लागि आगामी दिनमा थप बजार विस्तार हुनेमा उज्वल ढुक्क छन् । कम्पनी सुरुवात गर्दा उज्जवल एक्लै थिए ।

त्यसपछि उनले अन्य चार जना साथीहरुको समेत साथ पाएका छन् । कम्पनीमा अहिले दश जनाको टिम छ । संस्थापक उज्वलसँगै अन्य दुईजना बोर्ड सदस्य छन् । 

लकडाउन धेरै स्टार्टअप कम्पनीहरुका लागि अभिसाप बनेर आएको छ । जसले उज्वलको कम्पनीका समेत कतिपय परियोजनाहरुलाई पछाडि धकेलिदिएको छ ।

तर अझै पनि उठेर हिड्न सक्ने क्षमता र आत्मविश्वास उनी र उनको कम्पनीले गुमाइसकेको छैन ।एनिमेसनप्रति मानिसहरुको रुची हुँदाहुँदै पनि नेपालमा यसको प्राज्ञिक पक्षलाई लिएर कुनै निकायले चासो देखाएको छैन ।

यसैकारण क्रियटिभ विजनेसबारे एसईई र प्लस टू पुरा गरेका विद्यार्थीहरुलाई केही महिनाको क्य्राश कोर्ष दिने योजना उज्वलले बताएका छन् । 

उज्वलको कम्पनी एउटा कन्टेन्ट क्रिएसन अर्थात रचनात्मक सामग्री तयार पार्ने कम्पनी हो । यो कम्पनीले शैक्षिक टूल तथा प्रडक्ट विज्ञापनका लागि एनिमेटेड भिडियो सामग्री निर्माणको काम गर्दै आएको छ । 

‘क्रिएट विजनेसको एनिमेटेड भिडियोबाट इन्फोग्राफलाई कार्टुनमा रुपान्तरण गरी व्यवसायीहरुले आफ्नो सामग्री बिक्री गर्न सक्छन् । आफ्नो उत्पादन र सामग्रीबारे केही कुरा सिकाउन वा बुझाउन सक्छन् । कसैको प्रडक्टबारे बुझ्न जटिल छ भने एनिमेसन भिडियोको सहायताले त्यस्ता सामग्रीलाई सजिलै बुझ्न र बुझाउन सकिन्छ ।’ उज्ज्व भन्छन् । 

क्रियट विजनेस प्रालि अहिले विभिन्न अन्तर्राष्ट्रिय ब्राण्डहरु युरीलाइटिङ, ग्रिन प्लानेट, अष्ट्रेलियाको पोडी हेल्थ केयर, युरोपको नुकी स्मार्ट लक जस्ता कम्पनीका लागि काम गरिरहेको छ ।

भारतमा कुपन दुनियाँका लागि समेत कम्पनीले एनिमेसनको काम गरिसकेको छ । कम्पनीले विभिन्न किसिमका सेवा तथा प्रडक्टहरुका लागि सेवा दिँदै आएको छ । 

क्रियटिभ विजनेस प्रडक्ट मार्केटिङ टूल भएका कारण सर्भिस र प्रडक्ट सबैमा यो माध्यम उपयोगी छ । कम्पनीले विभिन्न भिडियो बनाएर विभिन्न व्यवसायीक घरानाहरुलाई सेवा दिँदै आइरहेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१