close

जापान र कोरियाको रेमिट्यान्स अब सोझै ‘खल्ती’मा

टेकपाना टेकपाना

असार १३, २०७७ १७:२५

जापान र कोरियाको रेमिट्यान्स अब सोझै ‘खल्ती’मा

काठमाडौं । खल्ती मेाबाइल वालेटले जापान र कोरियाबाट रेमिटान्स नेपाल भित्र्याउन सुरु गरेको छ । सिटी एक्स्प्रेस मनि ट्रान्सफरसँगको सहकार्यमा कम्पनीले रेमिट्यान्स सेवा सुरु गरेको हो ।

यससँगै जापान र दक्षिण कोरियामा रहेका नेपालीहरुले सिटी एक्सप्रेसको भगिनी संस्था सिटी एक्सप्रेस मनी टान्सफर जापान कम्पनी लिमिटेड र दक्षिण कोरियाको जीमनी ट्रान्समार्फत सोझै खल्ती मोबाइल वालेटमा रेमिट्यान्स पठाउन सक्ने भएका छन् । 

यी दुई मुलुकबाट मोबाइल वालेटमा सिधै रेमिट्यान्स रकम पठाउन सकिने भएपछि नेपालमा रकम प्राप्त गर्ने ब्यक्तिले पिन नम्बर र आफ्नो परिचयपत्र लिएर रेमिट्यान्स कम्पनीको एजेन्ट कहाँ रकम झिक्न धाउनुपर्ने झण्झटको अन्त्य भएको छ । 

जापानमा रहेका नेपालीले सिटी एक्स्प्रेस मनि ट्रान्सफरको नजिकैको एजेन्टकहाँ गएर सिधै नेपालमा रहेका आफन्तको खल्ती मोबाइल वालेटको खातामा रकम पठाउन सक्नेछन् । काेरियाबाट भने रकम पठाउन चाहनेले मोबाइल एपबाटै ट्रान्सफर गर्न सक्ने बताइएको छ ।

त्यहाँ रहेका नेपालीले जीमनीका तीन वटा शाखाहरूमा गएर पनि खल्ती वालेटमा रकम पठाउन सक्नेछन् । जापानको टोकियो सिञ्जुकुकु, नागोया, फुकुओका र तोचिगीमा सिटी मनिट्रान्सफरका शाखाहरू रहेका छन् ।

यस्तै कोरियामा सोल, ग्योंगी-डो र ग्योंसांनाम-डोमा जीमनीका शाखाहरू छन् । सिटी एक्स्प्रेसका व्यवसाय विकास प्रबन्धक सागर खनालले विभिन्न मुलुकबाट स्थानीय कम्पनीहरूसँग सहकार्य गरेर रेमिटान्स भित्र्याइरहेको अवस्थामा अब जापान र काेरियाबाट भने आफ्नै  कम्पनीबाट खल्तीमार्फत रेमिटान्स भित्र्याउन थालेकाे जानकारी दिए ।

‘विश्वभर लकडाउनले घर बाहिर निस्किन नपाइरहेको अवस्थामा माेबाइलबाटै खल्तीमा रेमिट्यान्स पठाउन सकिने व्यवस्थाले विदेशमा रहेका नेपालीलाई धेरै सहज भएकाे छ’, उनले भने, ‘विस्तारै अन्य मुलुकबाट पनि माेबाइल वालेटमै रेमिट्यान्स भित्र्याउने व्यवस्था मिलाउँदै छौं ।’

खल्तीका निर्देशक अमित अग्रवालले जापान र काेरियाबाट डिजिटल माध्यममा रेमिटान्स भित्र्याउन थालेपछि रकम पठाउने र प्राप्त गर्ने दुवैलाई निकै सहज हुने आशा व्यक्त गरे । ‘माेबाइल एपबाट नै रकम पठाउने सेवा सुरू हुनुअघि रकम पठाउन नगद बुझाउन र पाउनेलाई पनि नगद बुझ्न एजेन्टकहाँ धाउनु पर्ने बाध्यता रहेको थियाे,’ उनले भने ।

त्यसले असुरक्षा हुने, नगद हातमा परेपछि अनावश्यक खर्च हुने जोखिम निम्त्याइरहेको भन्दै अग्रवालले माेबाइलमा नै नगद प्राप्त हुने र सिधै बैंक खातामा जम्मा गर्न सकिने भएपछि सुरक्षित हुनुका साथै फजुल रुपमा हुने खर्च समेत जोगिने बताए ।

खल्ती नेपालको लाेकप्रिय पेमेन्ट गेटवे हो । खल्तीको मोबाईल एप तथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्नेदेखि लिए ई–कमर्शमार्फत सामान खरिद गर्दाको भुक्तानी, दैनिक पत्रिकाहरुको ग्राहक–शूल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ ।

खल्तीका प्रयोगकर्ताहरुको संख्या अहिले १३ लाखभन्दा बढी पुगिसकेको छ । यहाँ क्लिक गरी खल्ती एप डाउनलोड गर्न र उपलब्ध सेवाहरुको अनलाइन भुक्तानी गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३