close

राइड सेयरिङमा सारथीको प्रवेश, उपत्यका बाहिर सेवा विस्तार गर्ने पहिलो कम्पनी बन्दै

टेकपाना टेकपाना

असार १६, २०७७ १४:५३

राइड सेयरिङमा सारथीको प्रवेश, उपत्यका बाहिर सेवा विस्तार गर्ने पहिलो कम्पनी बन्दै

काठमाडौं । अनलाइन ट्याक्सीमा सुपरिचित सारथी अब राइड शेयरिङमा समेत प्रवेश गर्ने भएको छ । जारी लकडाउन खुलेसँगै काठमाडौं उपत्यका सहित राजधानी बाहिरका सहरमा समेत सेवा सञ्चालनमा ल्याउने भएको हो । 

कोरोनाभाइरस महामारी तथा लकडाउन सुरु भएसँगै सर्भेमा जुटेको सारथीले प्राप्त सुझाव तथा प्रतिक्रियाका आधारमा नयाँ सेवा सुरु गर्ने योजनामा जुटेको कम्पनीका संस्थापक रवि सिंघलले जानकारी दिए ।

‘ट्याक्सी चढ्न हाम्रो सेवा प्रयोग गरिरहेका ग्राहकहरुबाट राइड शेयरिङका लागि अन्य प्लेटफर्ममा जानुपर्ने गुनासो पाइयो,’ उनले भने, ‘सेवाग्राहीकै माग र आवश्यकतालाई मध्यनजर गर्दै नयाँ सेवामा हात हाल्न लागेका हौं ।’

सिंघलका अनुसार अब सारथीले ट्याक्सी र राइड शेयरिङसँगै सामानको डेलिभरी सेवा समेत उपलब्ध गराउनेछ । नयाँ सेवा समावेश गर्दै सारथीको मोबाइल एप समेत अपग्रेड भइसकेको छ । एप अपग्रेड भएको तीन दिनमै चार हजार बाइक रजिस्टर भइसकेको कम्पनीले जनाएको छ । 

सारथीको ड्राइभर एप डाउनलोड गरी मोबाइल नम्बर सहितको आफ्नो व्यक्तिगत विवरण भरेर बाइक छनौट गरी राइडरहरुले आफलाई रजिस्टर गराउन सक्ने सिंघलले जानकारी दिए । 

‘व्यक्तिगत विवरण भरेसँगै त्यो डेटा सार्थीको सिस्टममा पुग्छ । प्राप्त विवरणका आधारमा हाम्रा प्रतिनिधिले नै सम्बन्धित राइडरलाई फोन गर्छन्,’ उनले अगाडि भने, ‘थप कुराहरु बुझ्ने काम हुन्छ । नागरिकता र लाइसेन्स माग्छौं । बाइकको नम्बर, फोटो, ब्लुबुकको फोटो सबै प्राप्त भएपछि मात्र राइडरलाई युजरनेम र पासवर्ड उपलब्ध गराउँछौं ।’

यसरी काठमाडौं मात्र होइन देशभरका बाइक राइडरहरुले सारथीमा आफूलाई दर्ता गराउन सक्छन् । साथै बाइक ड्राइभरलाई अनलाइनबाटै ट्रेनिङ दिइने बताइएको छ । 

बाइकको दर्ता र बजारको आवश्यकता अनुसार राजधानी बाहिर समेत सेवा विस्तार गर्दै लैजाने कम्पनीको योजना छ । 

यसरी बैंक अकाउण्ट खोल्न आवश्यक हुने सम्मका सबै व्यक्तिगत विवरण सारथीले संकलन गर्छ । डिजिटल भुक्तानीलाई अपनाउने उद्देश्यका साथ कम्पनीले काम थालेको छ ।

त्यसका लागि दुई/तीन बैंकसँग छलफल चलिरहेको सिंघलले बताए । उनले भने, ‘हाम्रा हरेक राइडरसँग परिचयपत्र हुन्छ । परिचयपत्रमा नै भुक्तानीका लागि क्यूआर कोड राख्दै छौं । सम्भवतः हेल्मेटको पछाडि पट्टी पनि क्यूआर कोड राख्ने कुरा हुनसक्छ ।’

लकडाउन खुलेकै दिन वा राइड सेयरिङ सञ्चालन गर्न मिलेकै दिनदेखि यात्रुहरुले बाइक राइडका लागि रिक्वेस्ट गर्न सक्नेछन् । सारथीका बाइकमा अन्य प्रतिस्पर्धी राइड शेयरिङको तुलनामा भाडा समेत सस्तो हुने सिंघलको दाबी छ । 

‘हाम्रो शूल्क बजारमा रहेका अरु सबैभन्दा सस्तो हुन्छ,’ उनले भने, ‘ त्यसमाथि राइडरबाट समेत अरुलेभन्दा थोरै कमिसन लिन्छौं । हाम्रो कमिसन १० प्रतिशत मात्र हुनेछ । यो पनि सबैभन्दा न्यून कमिसन हो ।’

सिंघलका अनुसार सारथीका बाइकमा बजारमा स्थापित राइड सेयरिङ पठाओ र टूटलभन्दा कम्तिमा १५ रुपैयाँ सस्तो पर्नेछ । यसबाट राइडर र ग्राहक दुवैलाई लाभ पुग्ने कम्पनीको विश्वास छ । 

राइडर तथा यात्रु दुवैको पर्याप्त जानकारी हुने भएकाले नम्बर लिएर जिस्क्याउने, वा अन्य किसिमको समस्या आएको खण्डमा त्यसलाई नियन्त्रण गर्न समेत सजिलो हुने सिंघलले बताए ।

अगाडि उनले भने, ‘त्यस्तो केही परेको खण्डमा हामीसँग भएको सूचना तथा जानकारी प्रहरीलाई उपलब्ध गराएर अनुसन्धानमा सघाउँछौं । यो विषय राइडरहरुकोमा मात्र नभएर यात्रुमा पनि लागु हुनेछ ।’

सामान डेलिभरी तर्फ सारथीका राइडरले नै एक ठाउँमा भएको सामान अर्को ठाउँमा पुर्‍याइदिनेछन् । राइड सेयरिङ सेवा सुरु भएको दुई साताभित्रै यस किसिमको लजिस्टिक सेवा सुरु गर्ने कम्पनीको तयारी छ । 

राइडरको बीमा र बाइकको नवीकरण दुवै जानकारी अनिवार्य रुपमा कम्पनीले राख्नेछ । जसअनुसार नवीकरणको म्याद सकिएपछि युजर आइडी अस्थायी रुपमा डिएक्टिभ हुने सिंघलले बताए । उनले भने, ‘रिन्यु भएपछि मात्र एक्टिभ हुने सिस्टम बनाएका छौं ।’  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३