close

पुनः सञ्चालनमा आउँदै टूटल–पठाओ, तर प्रहरीले दियो कारबाहीको चेतावनी

टेकपाना टेकपाना

असार १८, २०७७ १६:२५

पुनः सञ्चालनमा आउँदै टूटल–पठाओ, तर प्रहरीले दियो कारबाहीको चेतावनी

काठमाडौं । विगत दुई दिनबाट पठाओले सीमित मात्रामा राइड सेयरिङ सेवा पुनः सञ्चालनमा ल्याएको थियो । सेवा सुरु भएको थाहा पाएलगत्तै महानगरीय ट्राफिक प्रहरी महाशाखाले टूटल–पठाओ सञ्चालनमा ल्याएको पाइए जहाँ भेट्यो त्यहिँ कारबाही गर्ने चेतावनी दिएको छ ।

तर, पठाओका नेपाल प्रमुख तथा क्षेत्रिय निर्देशक असिममानसिंह बस्नेतले सेवा पूर्ण सञ्चालनमा आएको नभई अत्यावश्यक सेवाका लागि सीमित रुपमा मात्रै सञ्चालनमा ल्याइएको बताए । ‘बजारमा पूर्ण रुपमा सञ्चालनमा आएको भन्ने समाचारहरु सम्प्रेषण भएका कारण प्रहरीले यस्तो निर्देशन दिएको हुनसक्छ,’ उनले भने, ‘त्यो साँचो होइन । हामी प्रेस विज्ञप्तिमार्फत नै यसलाई स्पष्ट पार्ने तयारीमा छौं ।’

कोरानाभाइरसका कारण जारी लकडाउनले गर्दा विगत तीन महिनादेखि सार्वजनिक यातायात पूर्ण रुपमा बन्द छन् । लकडाउन खुकुलो हुँदै गए पनि सार्वजनिक सवारीसाधन सञ्चालनमा आउन सकेका छैनन् ।

निजी सवारीसाधनमा जोर बिजोर प्रणाली लागु भएको हालको अवस्थामा सोही नियम पालना गर्दै पठाओले आफ्नो सेावा सञ्चालनमा ल्याएको थियो । प्रतिस्पर्धी कम्पनीले सेवा पुनः सुचारु गरेसँगै टूटल समेत एक दुई दिनमै सेवा सञ्चालनमा ल्याउने तयारीमा जुटेको थियो ।

लकडाउन खुकुलो भए पनि आफूसँग निजी सवारीसाधन नभएका यात्रुहरुले भने यात्रा गर्न पाइरहेका थिएनन् । त्यसैलाई मध्यनजर गर्दै पठाओ र टूटल सेवा पुनः सञ्चालमा लागेका थिए ।

सेवा बन्द भएको तीन महिनापछि स्वास्थ्य सावधानी अपनाउँदै सीमित स्तरमा सेवा सुरु गरेको भएतापनि प्रहरीले भने सेवा बन्द गर्न निर्देशन दिएको हो । पठाओकी मार्केटिङ म्यानेजर सुरक्षा हमालका अनुसार अहिलेको विषम अवस्थामा ग्राहकलाई सहजता प्रदान गर्ने उद्देश्यका साथ सेवा पुनः सञ्चालनमा ल्याइएको बताइन् । तर, सेवा बन्द गर्ने विषयमा अहिलेसम्म कुनै आधिकारिक जानकारी भने प्राप्त नभएको उनको भनाई छ ।

उनका अनुसार पठाओले यात्रु तथा चालक दुवैको स्वास्थ्य सुरक्षालाई विशेष ध्यान दिएर पुनः सञ्चालनमा ल्याइएको उल्लेख गरेको छ । ‘अहिले हामीले दैनिक ५० जना राइडरलाई अनुमति दिँदै सेवा पुनः सञ्चालनमा ल्याइरहेका छौं,’ उनले भनिन, ‘राइडरलाई अनिवार्य रुपमा प्रयोग गर्नेगरी प्रोटेक्टिभ सुट उपलब्ध गराएर सेवा सञ्चालनमा ल्याएका हौं । त्यसबाहेक ग्लोब, मास्क, चस्मा र सेनिटाइजर पनि हामीले नै उपलब्ध गराएका छौं ।’

साथै यात्रुले पनि अनिवार्य रुपमा मास्क लगाउनुपर्ने मापदण्ड बनाइएको छ । मोटसाइकलमा एक जना यात्रुले यात्रा गरी सेकपछि त्यसलाई सुरक्षित पार्न मोटरसाइकलमा डिसइन्फेक्सन (कीटाणूरहीत पार्ने) उपकरण पनि राइडरलाई उपलब्ध गराइएको पठाओले जनाएको छ ।

हमालका अनुसार हालसम्म १ सय ८० जनालाई राइड शेयरिङको अनुमति प्रदान गर्ने काम भइसकेको छ । उनीहरुलाई कार्यालयमा बोलाएर आवश्यक सुरक्षा सामग्री दिएरमात्रै रिक्वेस्ट आउने खालको सिस्टम तयार पारेको हमालले बताइन् ।

अर्कोतर्फ टूटलले पनि पुनः सञ्चालनका लागि आफ्नो तयारी पुरा गरेको जनाएको छ । टूटलका संस्थापक शिक्षित भट्टले अपग्रेड सहितको एप सार्वजनिक भइसकेको बताए ।

ईओएसमा भने केही दिनमा आउने उनको भनाई छ । डाउनलोड गरिसकेका प्रयोगकर्ताले एप अपडेट गरी टूटलको नयाँ इन्टरफेस सहितको डिजाइन प्राप्त गर्नसक्नेछन् ।

उनका अनुसार अबको एक दुई दिनमै टूटलको राइड सेवा पुनः सञ्चचालनमा ल्याउने योजना बनाइएको थियो । सेवा सुरु गर्दा राइडर तथा यात्रु दुवैको सुरक्षाको लागि आवश्यक सम्पूर्ण व्यवस्था कम्पनीले नै गर्ने उनले बताएका छन् ।

एप अपग्रेड भएसँगै अब यात्रुहरुले टूटल एपमा आफू नजिकै रहेको मोटरसाइकल सहजै देख्न सक्ने र उनीहरुले गरेको अनुरोध सबैभन्दा नजिकको बाइकलाई जानेछ । क्रमशः विस्तारै कार तथा ट्याक्सीलाई समेत आफ्नो सेवामा समेट्ने योजना कम्पनीले बनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३