कोरोना यात्रामा देखिएको अचम्मको नेपाली प्रविधि

जुन महिनाको अन्तिम सातासम्म आइपुग्दा स्पेनको भ्यालेन्सियामा कोरोना केस शून्यमा झरेको थियो । स्पेन लगायत युरोपको जनजीवन सामान्य अवस्थामा आइसकेको छ । कतारको दोहासम्म सामान्य तालिकाको उडानमा आउनसक्ने स्थिति सिर्जना भएपनि नेपालले अन्तर्राष्ट्रिय उडान नखोलेका कारण जुन ३० मा रहेको मेरो भ्यालेन्सियादेखि नेपालसम्मको उडान रद्द गरेको थिएँ ।

त्यसपछि जुन २९ को सरकारको उद्दार नामको चार्टर उडानबाट नेपाल फर्किने निधो गरेको थिएँ । १२०० डलरको टिकट, २०० युरोको मेडिकल टेस्ट, १४ दिन होटल क्वारेन्टिन खर्च लगायत सम्पूर्ण रकम यात्रीलेनै ब्यहोर्ने गरी भएको उडानलाई उद्दार उडान त कसरी भन्न सकिएला र ! खैर पैसोको जोहो गरेर भए पनि आफ्नो देश फर्कन पाएँ, त्यसैमा खुशी छु ।

नेपाल फर्कन अनुरोध सहित दुई पटक नेपाली दुतावासले उपलब्ध गराएको अनलाइन फारम भरियो, एक पटक स्पेनमा बस्ने नेपालीको विवरण संकलन नाममा र अर्को उद्दार उडानको । उडान अनुमतिका लागि कोभिड-१९ को पीसीआर वा आरडीटी नेगेटिभ रेपोर्टको हार्डकपी अनिवार्य, र अनलाइनमा भरेको फारमको दुई प्रति हार्डकपी अनिवार्य गरिएको रहेछ ।

उडान हुनु दुई दिनअघि सीसीएमसीले उपलब्ध गराएको आगमन अनलाइन फारम भरेपछि युनिक आईडी प्राप्त भयो । मलाई खुशी लाग्यो, किन भने नेपालले पनि अनलाइनबाट ट्र्याक-आईडी उपलब्ध गराएको हुनाले नेपाल प्रवेश गर्दा धेरै सास्ती व्यहोर्नु नपर्ने भयो । बिमानस्थल झर्नु अगावै मेरो विवरण नेपालको सिस्टममा उपलब्ध भइसक्ने हुनाले बिमानस्थलमा सामान्य सोधपुछपछि पक्कै होम करेन्टिनमा जान पाइनेछ ।

जुन २९ को उडानको लागि जुन २३ मा मात्र दुतावासको नोटिस उपलब्ध भएको हुँदा भ्यालेन्सियामा बिगत पाँच महिनादेखि बस्दै आएका हामी दुई जना ( म र निरञ्जन खकुरेल) लाई टिकट काट्ने, मेडिकल परीक्षण गराउने आदि व्यवस्थाको चटारो थियो। कोभिड-१९ परीक्षण गर्ने मेडिकल ल्यावलाई हाम्रो पासपोर्टको ई-कपी ई-मेल मार्फत उपलब्ध गराएपछि ल्यावले ई-मेल मार्फतनै परीक्षण बुझाउन शूल्क उल्लेख गर्दै बैंक खाता उपलब्ध गरायो ।

बैंक ट्रान्सफर मार्फत पैसा तिरेको ई-कपी रसिद ईमेलबाटै उपलबध गराएपश्चात नमूना संकलन गर्ने ल्याव र समय पनि उपलब्ध भयो। समयमै ल्यावमा पुग्यौं, मोबाइलबाट भौचर देखाएपछि सिधै नमूना संकलन कोठामा बोलाइयो र रेपोर्ट ईमेलबाटै उपलब्ध हुने जानकारी थाहा पाएपछि लगभग १०/१५ मिनेटमै काम सकेर फर्कयौं र अन्य स्वदेश फर्किन अरु व्यवस्थापनमा लाग्यौं । चार दिनपश्चात २९ जुनमा ई-मेल मार्फत पीसीआर परीक्षणको नेगेटिभ नतिजा सहितको रिपोर्ट हात लाग्यो ।

रिपोर्टको मूनी स्पेनिस भाषामा लेखिएको थियोः “यो ई-कपी रिपोर्ट प्रिन्ट गर्नु पर्दैन, हरित वातावरण कायम राख्न सहयोग गर्नुहोला।” सोही दिन हाम्रो उडान रहेकाले नेपालको लागि आवश्यक पर्ने उक्त रिपोर्टको प्रिन्ट गर्न भ्याइएन। भ्यालेन्सियाबाट बार्सिलोना जाने बसमा पनि अनलाइन मार्फत काटिएको ई-टिकटमा स्पेनिस भाषामा सोही विवरण लेखिएको थियो। स्पेनमा हुँदा सबै ठाउँमा हामिले आफ्नो मोबाइलमा टाढैबाट विवरण देखाएर सामाजिक दूरी कायम गर्‍यौं ।

तर नेपालमा हार्डकपी अनिवार्य भनेकाले हामीले अनलाइनमा भरेको फारम र मेडिकल रिपोर्ट बिमानस्थलमा कामगर्ने साथीलाइ ई-मेल गर्‍यौं र हामी बिमानस्थलमा आइपुग्दा २-२ कपि प्रिन्ट ल्याउन आग्रह गरेका थियौं । बिमानभित्रै एक आगमन फारम पनि उपलब्ध भयो, जुन फारममा हामीले अनलाइनमा भरेकै विवरणहरु माग गरिएको रहेछ ।

सोही अनुसार विवरण भरी लाइनमा बस्यौं । तर मेडिकल रिपोर्ट प्रिन्ट गर्न छुटेछ । बिमानस्थलका डाक्टरलाई मोबाइलबाटै रिपोर्ट देखाउँदै हाम्रो समस्या बतायौं र इमिग्रेसन तिर लाग्यौं । इमिग्रेसन पार गरेलगत्तै हातमा कपी र कलम लिएर बस्नु भएको एकजना सैनिकलाई नाम, ठेगाना, पीसीआर रिपोर्टको विवरण उपलब्ध गरायौं अनि ब्यागेज लिएर अगाडी बढ्दै गर्दा ब्यागेज चेकमा बसेका अर्का कर्मचारीले पनि माथि उपलव्ध गराएकै विवरण माग गरे र कपीमा टिपेपछि जान भने ।

बाहिर निस्केपछि लामो लाइनमा बसेका हामीलाई आफ्नो ठेगाना अनुसार होल्डिङ सेन्टरमा लगिने विवरण प्राप्त भयो र फेरी आफ्नो नाम, ठेगाना इत्यादि टिपाएर सैनिक सहयोगमा होल्डिङ सेन्टरमा आइपुग्यौं । फेरी सोधपुछको लाइनमा राखियो, तीनवटा स्टलमा बसेका सैनिक दाजुभाइले हामीलाई बिमानमा उपलब्ध जस्तै फेरी पुरा विवरण सोधपुछ गरी फारम भर्न थाले, हाम्रो पीसीआर रिपोर्ट त्यहाँका डाक्टरमार्फत फेरी भेरिफाई गरायौं ।

नाम लेखाएर मेरो र पासपोर्टको फोटो लिए । बल्ल डिस्प्याचको लाइनमा बसाइयो । कपी, कलम र त्यही खाली फारम लिएर डिस्प्याचको टेबलमा बस्ने सैनिक अफिसरले पुनः सोधपुछ सुरु गरे । पहिलेकै जस्तो पुरा विवरण भर्न लगाए । त्यसपछि अन्तिममा लिन आउने नातेदार र मेरो फोटो खिचाएर घर तिर लाग्यौं। अब अनुमान गर्न सक्नुहुन्छ बिमानस्थलमा झरेर होल्डिङ् सेनटरसम्म आई तेहाँबाट निस्कन कति समय लाग्यो होला ?

मलाई चाहिं तीन घन्टामात्रै लाग्यो है । पाठकको मनमा यहाँसम्म पढिसकेपछि सायद अरु थुप्रै प्रश्न उब्जे होलान । जस्तैः दुई/दुई कपी प्रिन्ट गरेर ल्याएको विवरण के भयो ? ती सबै हार्ड कपी मैले घरमा आएपछि रद्दीको टोकरीमा हालिदिएँ । बिमान चढ्नुभन्दा पहिले अनलाइनबाट भरेको विवरण र ट्र्याक-आईडी के मा प्रयोग भयो ? मलाई चाहिं थाहा भएन । पाठकलाई थाहा छ, भने कमेन्ट पठाउनुहोला ।  

किन भने थुप्रै ठाउँमा पुनः सोही विवरण भराइएको छ । त्यति धेरै ठाउँमा कपी-कलम लिएर भराइएको विवरणको कागजपत्रको कुनै अध्ययन-अनुसन्धान होला ? अनुसन्धान गर्नका लागि त त्यो कागजी विवरणलाई पुनः कम्प्युटरमा हाल्नु पर्छ, के त्यो काम हुन्छ त ? भगवान जाने !

अनलाइन फारम भरी ट्र्याक-आईडी प्राप्त हुँदा मेलै कल्पना गरेको थिएँ, पासपोर्ट, फोटो, मेडिकल रिपोर्ट सहितका सबै विवरण अनलाइन फारममा अपलोड गरिनेछ र मेरा सबै विवरण बिमानस्थलको इमिग्रेसन डेस्कको कम्प्युटरमा उपलब्ध हुनेछन् । सामान्य अवस्थामा जस्तै म इमिग्रेसन डेस्कमा पुग्नेछु, इमिग्रेसन अफिसरले ट्र्याक-आईडी माग्नेछन् ।

उक्त आईडी प्रयोग गरी एक क्लिकमा मेरो पूरा विवरण भेरिफाई गर्नेछन् र पासपोर्ट नम्बर लेखेर छाप लगाएपछि एउटा स्लिप दिनेछन् (ग्रीन स्लिप – होम करेन्टिन्, येल्लो स्लिप – होटेल करेन्टिन्, रेडस्लिप – हस्पिटल करेन्टिन)। सोही स्लिपको आधारमा सैनिकले संयोजन गर्नेछन् र छरितो रुपमा व्यवस्थापन हुनेछ ।

तर अफसोचः म अवाक भएँ । प्राधानमन्त्रिका विज्ञ आईटी सल्लाहकार आईटीका राम्रै व्यवसायी हुन् । तथापि मेरो कल्पना भन्दा बाहिरको यो व्यवस्थापनले मलाई अचम्मित बनायो । अनि तपाईंलाई पनि पक्कै लाग्यो होला, यो अचम्मको प्रविधि। कोभिड-१९ बाट बच्ने मूख्य शूत्र भनेकै मास्क लगाउनु र सकेसम्म मानिसहरुसँग कम सम्पर्कमा आउनु हो।

प्रविधिको प्रयोग त्यहाँ गर्न सकिन्छ, जहाँ मानिसलाई शारिरीक रुपमा कम संसर्गमा आउने बनाउँछ । स्पेनमा रहँदा मैले आँफूलाई जति सुरक्षित ठानेको थिएँ, नेपालको बिमानस्थलबाट घरसम्म आइपुग्दा उत्तिकै असुरक्षित महसुस गरें । भलै स्पेनमा सुरुको असावधानीले कोरोनाभाइरसका संक्रमितहरुको केस उच्चतम विन्दुमा पुगेको थियो ।

तथापि स्पेन हाल नियन्त्रित रुपमा सामान्य जीवनस्तरमा आइसकेको छ। नेपालमा भने दैनिक केस बेढिरहेका छन् । सायद नेपालको यो अचम्मको कागजी प्रविधिले काम गर्दैन र यात्रुलाई अनावश्यक सास्ती मात्रै हुनेछ भन्ने मलाई लागेकोछ । अब दश दिन पश्चात फेरी कोभिड-१९ को परीक्षण गर्नुपर्नेछ ।

त्यसको लागि पक्कै हस्पिटलको लाइनमा मैले धेरै समय बिताउनु पर्नेछ र धेरै जनासँग संसर्गमा आउनु पर्नेछ । यहि अवस्था भविष्यमा नेपाल आउने यात्रुहरुले पनि व्यहोर्नुपर्ने हुनसक्छ । यो लेख पढ्नु भएमा पक्कै माइन्ड मेकअप गर्नुहुनेछ भन्ने आशा लिएको छु । सरकारलाई अनुरोध – प्रविधि प्रयोग गरी सामाजिक दुरी कायम गरौं ।

कोरोना यात्रा संस्मरणका लेखक दवाडी इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसका उप-प्राध्यापक‍ समेत हुन् । www.baburd.com.np

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team