close

नेपालमा यसरी भित्रिन्छ इन्टरनेट

टेकपाना टेकपाना

असार २३, २०७७ १५:३४

नेपालमा यसरी भित्रिन्छ इन्टरनेट

काठमाडौं । के तपाईंलाई नेपालमा प्रयोग हुँदै आइरहेको इन्टरनेट कहाँबाट कसरी आउँछ भन्ने कुरा थाहा पाउनु भएको छ ? छैन भने आज हामी तपाईंलाई यसको बारेमा बताउँदै छौं । 

घर घरमा इन्टरनेट सेवा प्रदान गर्ने सेवाप्रदायकहरु सबै काठमाडौंमै जोडिएका हुन्छन् । नेपालको सीमा क्षेत्रमा विभिन्न बोर्डर कनेक्सनहरु छन्, जहाँबाट अन्तर्राष्ट्रिय ब्याण्डविथ नेपाल भित्रिन्छ ।

यसरी ब्याण्डविथ भित्र्याउने सेवाप्रदायकलाई नेटवर्क सेवाप्रदायक भनिन्छ । जसका लागि नियामक नेपाल दूरसञ्चार प्राधिकरणबाट छुट्टै अनुमतिपत्र लिनुपर्ने हुन्छ । अहिलेसम्म १६ वटा कम्पनीले यस्तो लाइसेन्स लिएका छन् ।

नेपालमा प्रायजसो ठूला सेवाप्रदायकहरुले नेटवर्क सेवाप्रदायकको रुपमा आफैंले इन्टरनेट ब्याण्डविथ ल्याउने गर्छन् । नेटवर्क सेवा प्रदायकको रुपमा रहेका ठूला कम्पनीले आफैं र साना सेवाप्रदायकले भने तिनै ठूला सेवाप्रदायकबाट त्यस्तो ब्याण्डविथ खरिद गर्छन् र प्रयोगकर्तामाझ पुर्‍याउँछन् ।

मोबाइल नेटवर्क, एफटीटीएच, केवल तथा एडीएसएल, वायरलेसजस्ता प्रविधिमार्फत नेपाल भित्रिएको ब्याण्डविथ प्रयोगकर्तासम्म पुग्छ । 

नेटवर्क सेवाप्रदायकले पनि विभिन्न विदेशी कम्पनीहरुबाट अनेक रुट हुँदै विभिन्न माध्यमबाट ब्याण्डविथ नेपाल भित्र्याइरहेका छन् । नेपालमा सबैभन्दा धेरै ब्याण्डविथ भित्रिने नाका भैरहवा र वीरगञ्ज हुन् । त्यसबाहेक भारततर्फबाट दोहबी, ढल्केबर र टनकपुरको बाटो भएर समेत नेपालमा ब्याण्डविथ भित्रिने गर्दछ । 

पछिल्लो समय चीनबाट समेत यस्तो ब्याण्डविथ भित्रिन थालेको छ । तर एकदमै थोरै मात्रामा । रसुवागढी नाका हुँदै नेपालका नेटवर्क सेवाप्रदायक चीनियाँ कम्पनीसँग जोडिएका छन् । चीनतर्फ तातोपानी नाकामा समेत नेटवर्क पूर्वाधार निर्माणाधिन अवस्थामा छ । 

भारततर्फबाट ब्याण्डविथका लागि भौतिक पूर्वाधार प्रदान गर्ने मूख्य कम्पनी एयरटेल र टाटा हुन् ।यी बाहेक ग्लोबल पीसीसीडब्लू नामक कम्पनीले पनि ब्याण्डविथ नेपालभित्र आपूर्ति गर्दछ ।

यद्यपि एयरटेल र टाटाको पूर्वाधार प्रयोग गरेर अन्य कम्पनीले समेत नेपाली नेटवर्क सेवाप्रदायकलाई ब्याण्डविथ बिक्री गर्ने गर्दछन् । तर महंगो पर्ने हुँदा स्याटेलाइट ब्याण्डविथ भने एकदमै थोरै मात्रामा मात्रै नेपाल भित्रिँदै आएको छ । 

इन्टरनेट वितरणमा कसरी हुँदैछ परिवर्तन ?

सुरु सुरुमा सबै प्रयोगकर्ता र सर्भरहरु एकअर्कामा गञ्जागोल अवस्थामा थिए । कुनै प्रयोगकर्ताले फ्री सर्भरबाट एक्सेस पाउँथे भने कतिपय प्रयोगकर्ताले अर्को प्रयोगकर्ताबाट डेटा आदानप्रदान गर्दथे ।

तर यो ढाँचामा विस्तारै परिवर्तन हुँदै गइरहेको नेपाल इन्टरनेट एक्सचेञ्ज (एनपीआईएक्स) का बोर्ड अफ डाइरेक्टर समित जन थिङ बताउँछन् । 

‘जति पनि सर्भरहरुले कन्टेन्ट होस्ट गर्दथे, उनीहरुले आफ्नै साइटमा त्यस्ता कन्टेन्ट राख्दथे । तर विस्तारै ती सबै सर्भरहरु क्लाउडमा जान थालेका छन् । पहिले कुनै पनि प्रयोगकर्ताले कन्टेन्ट लिन ओरिजिनल सर्भरमा हिट गर्नु पर्थ्यो भने अब विस्तारै त्यो स्थान क्लाउडमा परिवर्तन हुँदै गएको छ,’ उनी भन्छन्,

‘अहिलेको समयमा हेर्ने हो भने मोबाइलको खपत बढेको छ । डेस्कटप हराउन थालिसके । सबै कन्टेन्टहरु प्रयोगकर्ताको नजिक नजिक आउँदैछन् । कन्टेन्टहरु अब पहिलेजस्तो धेरै ठाउँमा छरिएका छैनन्, एकिकृत भएर एकदमै  नजिक आउँदैछन् र एक्सेस गर्न सजिलो हुँदै गएको छ ।’

 उदाहरणका लागि गूगल, फेसबुक जस्ता कन्टेन्टहरु पहिले प्रयोगकर्ताहरुभन्दा धेरै टाढा छरिएका बसेका थिए । अहिले बिस्तारै नजिक आउँदैछन् । स्थानीय सेवाप्रदायकले क्यास सर्भर व्यवस्थापन गरी त्यस्ता कन्टेन्ट प्रयोगकर्ताको नजिकै ल्याएर राख्दै गइरहेका छन् । यसरी इन्टरनेटको सामग्र ढाँचामा नै परिवर्तन आउँदैछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३