close

सामाजिक सञ्जालमा आएका कोरोना सम्बन्धी भ्रामक जानकारीको पछि लाग्दा ८ सयको ज्यान गयो

टेकपाना टेकपाना

साउन ३०, २०७७ ११:३९

सामाजिक सञ्जालमा आएका कोरोना सम्बन्धी भ्रामक जानकारीको पछि लाग्दा ८ सयको ज्यान गयो

 काठमाडौं । कोरोना भाइरस सम्बन्धि भ्रामक जानकारीका कारण पहिलो तीन महिनाकै अवधिमा विश्वभर कम्तीमा  आठ सय जनाले ज्यान गुमाएको अनुसन्धाताहरुले बताएका छन् । अमेरिकन जर्नल अफ ट्रपिकल मेडिसिन एण्ड हाईजिनमा प्रकाशित एउटा अध्ययनमा त्यस्तो तथ्य बाहिर ल्याएको हो ।

शोधका अनुसार सो अवधिमा सामाजिक सञ्जालहरुमा भ्रामक जानकारी हेरेर ५,८०० जना अस्पताल भर्ना भएका थिए । मृत्यु हुनेमध्ये अधिकांशले मिथानोल तथा अल्कोहलमा आधारित क्लिनिङ वस्तुहरु सेवन गरेको पाइएको थियो ।

ती वस्तुहरुले भाइरसको उपचार गर्ने भ्रामक जानकारीमाथि ती मानिसहरुले विश्वास गरेका थिए । यसअघि विश्व स्वास्थ संगठनले कोभिड १९ का बारेमा बुनिएका ‘इन्फोडामिक’ (सूचना महामारी) कोभिड महामारीभन्दा चाँडो फैलिरहेको चेतावनी दिएको थियो ।

यसमाथि बनेका षडयन्त्रका सिद्धान्त, अफवाह, धार्मिक तथा सांस्कृतिक अन्धविश्वास आदिले मृत्यु र अन्य घटनाहरुलाई बढाइरहेको डब्लूएचओले बताएको थियो । 

भ्रामक जानकारीले लियो ज्यान 

उपचारको विधि जस्ता देखिने अफवहालाई विश्वास गरेर मानिसहरुले गौमुत्र, अदुवा र भिटामिनको ओभर डोज लिएको उक्त अध्ययन पत्रमा उल्लेख छ । त्यस्ता अखाद्य पदार्थको गम्भिर असरका कारण धेरैले ज्यान गुमाएका थिए । 

यसबाहेक अनलाइन अफवहाकै कारण भारतमा भीडको हिंसात्मक हमला, इरानमा मास पोइजनिङ (सामुहिक विषपान) जस्ता घटनाहरु घटेका थिए । साथै फाइभजीसँग जोडिएका षडयन्त्र सिद्धान्तका कारण दूरसञ्चार इंजिनियरहरु तथा फोन टावरहरुमाथि हमला भएका थिए । 

यसैगरी सामाजिक सञ्जालकै आडमा धेरै स्क्यामरहरुले महामारीलाई रोक्ने भन्दै अप्रभावकारी ब्याजहरु बिक्री गरेका थिए । 

कोभिड १९ भ्याक्सिनलाई षडयन्त्रको खतरा 

कोभिड १९ को भ्याक्सिन बनेको अवस्थामा पनि भ्याक्सिन विरोधी अभियानकर्ताहरुले सामाजिक सञ्जालको दुरुपयोग गर्ने खतरा बढेको छ । उनीहरुले भ्याक्सिन विरुद्ध भ्रामक जानकारी फैलाएर मानिसहरुलाई भ्याक्सिन प्रयोग नगर्न आह्वान गर्ने खतरा छ । 

सामाजिक सञ्जाल मिडियाहरुले भ्याक्सिनबारेका भ्रामक जानकारीहरुलाई हटाउनुका साथै लेबलिङ गरिरहेका छन् । यद्यपी अमेरिकामा भएको हालैको एउटा जनमतले आश्चर्यजनक तथ्यको खुलासा गरेको छ ।

जसमा २८ प्रतिशत अमेरिकीहरुले अझैं पनि बिल गेट्सले भ्याक्सिनमार्फत मानिसहरुमा माइक्रोचिप इम्प्लान्ट (प्रत्यारोपण) गर्न खोजिरहेको विश्वास गर्ने गरेको खुलासा भएको छ । 

बीबीसीबाट

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०