close

कसरी गुम्यो टेलिकमको २ अर्ब २९ करोड आम्दानी ? यस्तो छ कम्पनीको तर्क

टेकपाना टेकपाना

साउन ३०, २०७७ १८:१६

कसरी गुम्यो टेलिकमको २ अर्ब २९ करोड आम्दानी ? यस्तो छ कम्पनीको तर्क


काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को आम्दानी गत बर्षको तुलनामा दुई अर्ब भन्दा बढीले घटेको छ । अघिल्लो आर्थिक वर्षमा सेवा वापत कूल ३६ अर्ब ८६ करोड ७५ लाख ८३ हजार आम्दानी गरेको कम्पनीको आम्दानी यो वर्ष ६.२ प्रतिशतले घटेको छ ।

गएको आवमा सेवा वापत कम्पनीले कूल ३४ अर्ब ५७ करोड ४७ लाख २१ हजार मात्र आम्दानी गर्न सक्यो । यसरी एक वर्षको अवधिमा यति ठूलो गिरावट आउनुको कारण के हुन ?

यस विषयमा टेलिकमले आफ्नो धारणा जारी गरेको छ । टेलिकमका अनुसार यसरी आयमा कमी आउनुमा पहिलो कारण कोरोनाका महामरीको समयमा लिज लाइन, फाइबर टु दि होम (एफटीटीएच) जीएसएम डेटा बाहेकका सबै सेवाबाट प्राप्त हुने राजश्वमा आएको छ ।

‘तुलनात्मक रुपमा लिजड लाइन, एफटीटीएच सेवा कम्पनीका अन्य सेवाहरु भन्दा निकै कम प्रयोगमा रहेको हुँदा यी सेवाबाट हुने राजश्वले अन्य सेवाबाट हुने राजश्वको कमीलाई परिपूर्ति गर्न सकेन,’ टेलिकमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जसले गर्दा कम्पनीको सेवाबाट प्राप्त हुने राजश्वमा दुई अर्व २९ करोड २८ लाखले कमी हुन गएको हो ।’

साथै कम्पनीले रिचार्ज कार्डको बिक्रीमा २०७५ चैत १ देखि कमिसनको साटो छूट गणना गर्न सुरु गरेको छ । कूल बिक्रीलाई हिसाब गरे पश्चात कमिसन प्रदान गरिने गरेकोमा रिचार्ज कार्ड बिक्री अघि नै छूट प्रदान गरिने हुँदा पनि आयमा कमी देखिएको टेलिकमले जनाएको छ ।

टेलिकमका अनुसार अघिल्लो आवको तुलनामा गत आवमा उक्त डिस्काउन्ट रकम ७९ करोड ३१ लाख ९१ हजारले वृद्धि भएको छ । गत आवको तुलना गर्दा डिस्काउन्ट रकम जोड्नुपर्ने र यसरी जोड्दा राजश्वमा ३.९ प्रतिशतले मात्रै कमी आउने कम्पनीको तर्क छ ।

साथै कोरोनाको महामारीका कारण अन्तर्राष्ट्रिय रोमिङ लगायत अन्य सेवामा समेत ठूलो गिरावट आएको टेलिकमले जनाएको छ । कम्पनीका अनुसार ओटीटी सेवाको बढ्दो प्रयोगका कारण जीएसएम तथा पीएसटीएन भ्वाइस सेवामा करिब दुई अर्ब १६ करोड र अन्तर्राष्ट्रिय सेवामा करिब ५४ करोड रुपैयाँले नाफामा कमी आएको छ । तर डेटा सेवा तर्फको आम्दानी भने करिब ७५ करोडले वृद्धि भएको ।

विविध कारणले गर्दा अघिल्लो आवको चौथो त्रैमासिक अवधिको तुलनामा गत आवको सोही अवधिमा राजश्वमा करिव १५ प्रतिशत (एक अर्ब ९५ करोड) ले गिरावट आएको उल्लेख गरिएको छ ।

कोरोना महामारी नियन्त्रणका लागि सरकारले चालेको कदमलाई साथ दिन कम्पनीले टपअपमा शतप्रतिशत बोनस बापत ५३ करोड ४० लाखभन्दा बढी, मोबाइल डेटाको दरमा ३० प्रतिशतसम्म छूट दिँदा २२ करोड ८३ लाखभन्दा बढी तथा जेरो भ्यालु कल वापत पाँच करोड ३० लाख भन्दा बढीको सेवा निःशूल्क दिइएको जनाएको छ । यसको असर समेत कम्पनीको आम्दानीमा परेको हो ।

साथै कम्पनीले लकडाउन अवधिमा नेपाल दूरसञ्चार प्राधिकरणको अनुरोधमा विभिन्न सेवामा छूट दिएको थियो । त्यस्तै नेपाल सरकारले स्थापना गरेको कोरोना राहत कोषमा समेत १० करोड रुपैयाँ कम्पनीको योगदान रहेको छ ।

यसअलावा वाह्य श्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादरमा भएको वृद्धि, फोरजी विस्तारसँगै बढेको घरभाडा, बिजुली आदिको खर्चमा भएको वृद्धि, कर्मचारीको तलब बृद्धि, कर्मचारीलाई उपलव्ध गराइएको ऋण आदिको कारणले समेत व्ययभार थपिन गएको र जसका कारण आम्दानी गुमेको कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०