close

अब १२ महिनासम्म निष्कृय सिम अर्काको नाममा जारी गर्न नपाइने

टेकपाना टेकपाना

भदौ ९, २०७७ २०:२८

अब १२ महिनासम्म निष्कृय सिम अर्काको नाममा जारी गर्न नपाइने

काठमाडौं । अब १२ महिनासम्म निष्क्रिय रहेका सिमकार्ड अर्काको नाममा जारी गर्न नपाइने भएको छ । दूरसञ्चार क्षेत्रको नियमनकारी निकायको रुपमा रहेको नेपाल दूरसञ्चार प्राधिकरणले सिम निष्क्रिय भएको एक वर्षपछि मात्रै पुनः वितरण गर्न पाउने नयाँ व्यवस्था गरेको हो। 

यद्यपी ६ महिनासम्म निष्कृय रहेका सिमकार्ड खारेज गर्न सक्ने व्यवस्था भने कायमै छ । मोबाइल नम्बर बैंक खाता, मोबाइल वालेट, सामाजिक सञ्जाल लगायतका विविध सेवासँग जोडिने भएकाले नियामकले यस्तो व्यवस्था गरेको हो ।

यस अघि सेवाप्रदायकहरुले ६ महिनासम्म निष्क्रिय रहेका सिमकार्ड पुनः बिक्री गर्न पाउने व्यवस्था रहेको थियो । ६ महिनामै सिमकार्ड पुनः वितरण गर्दा  जोखिम बढेको भन्दै नेपाल बैंकर्स एसोसियसनले कम्तिको दुई वर्षको अवधि कायम गर्न प्राधिकरणसँग अनुरोध गरेको थियो । 

तर प्राधिकरणले भने बैंकर्स एसोसियसनको माग सम्बोधन गर्नकै लागि एक वर्षपछि मात्रै पुनः वितरण गर्न सकिने व्यवस्था गरेको हो । यसको अर्थ ६ महिनापछि खारेज भएका सिम एक वर्षसम्म सम्बन्धित प्रयोगकर्ताले आफ्नो नाममा पुनः फिर्ता ल्याउन सक्ने छन् ।

केही दिन अघि बसेको प्राधिकरण सञ्चालक समितिको बोर्ड बैठकले नयाँ व्यवस्था कार्यान्वयनका लागि सेवाप्रदायकलाई निर्देशन दिने निर्णय समेत गरिसकेको छ । त्यसअनुसार निर्देशन जारी गर्ने काम भइरहेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले टेकपानालाई जानकारी दिए । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३