close

आविष्कार केन्द्रले तयार पार्‍यो कोरोनाका बिरामी सुरक्षित रुपमा अस्पताल पुर्‍याउने बाकस

टेकपाना टेकपाना

भदौ २२, २०७७ २२:५४

आविष्कार केन्द्रले तयार पार्‍यो कोरोनाका बिरामी सुरक्षित रुपमा अस्पताल पुर्‍याउने बाकस

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले कोरोना संक्रमित बिरामीहरुलाई सुरक्षित रुपमा एम्बुलेन्समा ओसारपोसार गर्न सकिने बाकस तयार पारेको छ । बिरामीसँगै एम्बुलेन्समा रहने स्वास्थ्यकर्मी र चालकलाई संभावित कोरोना संक्रमणबाट जोगाउन यस्तो बाकस डिजाइन गरिएको हो ।

आविष्कार केन्द्रका संस्थापक महाबीर पुनले बाकसको डिजाइन, विकास र परीक्षणको काम पुरा भएको जानकारी दिए । उनका अनुसार यो बाकसमा बिरामी राखेपछि हावा छिर्न नसक्ने चेन लगाएर बन्द गरिन्छ ।

बाहिरको हावा भित्र पठाउन प्वाल राखिएको छ भने भित्रको हावा बाहिर फ्याल्ने अर्को प्वालमा एन ९५ फिल्टर राखिएको छ । जसले गर्दा बिरामीको मुख र नाकबाट निस्किने हावालाई फिल्टर गरेर बाहिर पठाउन सकिने पुनको भनाई छ ।

बाकस भित्र हावा पठाउन र भित्रको हावा बाहिर फ्याल्न ब्याट्रीबाट चल्ने पंखा राखिएका छन् । बाकसलाई नेगेटिभ प्रेसर च्याम्बरको रुपमा डिजाइन गरिएको छ । यसको मतलव बाकस भित्रको हावाको चाप बाहिरको भन्दा कम हुन्छ ।

जसले गर्दा बाकस भित्रको हावा अन्यत्रबाट लिक हुन पाउँदैन, पंखाले बाहिर ठेलेको ठाउँआाट मात्रै निस्किन सक्छ । एक सातापछि कोभिडको उपचार गर्ने अस्पतालहरुलाई यो बाकस उपलब्ध गराइने पुनले जनाएका छन् ।

कोभिडको महामारी सुरु भएसँगै आविष्कार केन्द्रले त्यससँग जुध्नका लागि मास्क, पीपीई जस्ता सामग्री तयार पार्नेदेखि बिग्रेका भेन्टिलेटर बनाउने काममा सघाउँदै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०