close

७७ जिल्लाका ५३३ स्थानीय तहमा पुग्यो टेलिकमको फोरजी सेवा

टेकपाना टेकपाना

भदौ २५, २०७७ १४:३

७७ जिल्लाका ५३३ स्थानीय तहमा पुग्यो टेलिकमको फोरजी सेवा

काठमाडौं । नेपाल टेलिकमले आफ्नो फोरजी सेवा ७७ जिल्लाका पाँच सय ३३ स्थानीय तहमा विस्तार भएकाे जानकारी दिएको छ । बिहिबार आर्थिक पत्रकार समाजले गरेको एक वेबिनार कार्यक्रममा बाेल्दै टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले छाेटाे अवधिमै टेलिकमले देशका सबै जिल्लामा फाेरजी विस्तार गरेकाे बताए ।

साथै उनले थोरै मूल्यमै फोरजी चल्ने स्मार्टफोन बजारमा आएका कारण फोरजी डेटा बढिरहेको भनाइ राखे । ग्रामीण क्षेत्रसम्म फाेरजी विस्तारकाे काममा काेभिड-१९ पछिकाे घटनाक्रमले असर गरेकाे जनाउँदै चाँडै नै देशका ७५३ स्थानीय तहमै फाेरजी विस्तार गर्ने याेजना रहेकाे उनले बताए ।

भौगोलिक जटिलता भएकाले ग्रामीण तथा दुर्गम क्षेत्रमा एक ठाउँबाट अर्को ठाउँमा सेवा दिन आठ सय मेगाहर्ज र १८ सय मेगाहर्ज गरी दुबै ब्याण्डमा टेलिकमले फोरजी सेवा दिइरहेकाे छ । साथै २३०० मेगाहर्जबाट पनि फाेरजी सेवा दिने प्रक्रियामा टेलिकम छ ।

अधिकारीले कोभिडका कारण प्रयोगकर्ताहरु डिजिटल प्रणालीसँग नजिक हुँदै आइरहेको चर्चा गर्दै अब वित्तीय समावेशीकरण कार्यान्वयनमा ल्याउने बेला आएको बताए । ‘प्रविधि विस्तार भइरहँदा मोबाइलमै फाइनान्सियल इनक्ल्युजनको अवधारणा आइरहेको छ । हाम्रो अबको बाटो भनेको क्यासलेस सोसाइटी हो,’ उनले भने ।

प्रबन्ध निर्देशक अधिकारीले नयाँ प्रविधि फाइभजीकाे रोलआउटका लागि समेत पोलिसी ल्याउनुपर्ने आवश्यकता औंल्याए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०