close

कनेक्ट आईपीएसको ‘सेल्फ भेरिफिकेसन’ मा जोडिए ९ वटा बैंक

टेकपाना टेकपाना

भदौ ३१, २०७७ १०:४१

कनेक्ट आईपीएसको ‘सेल्फ भेरिफिकेसन’ मा जोडिए ९ वटा बैंक

काठमाडौं । कनेक्ट आईपीएसमा सेल्फ भेरिफिकेसनमार्फत बैंक खाता आवद्ध गराउन सकिने बैंक तथा वित्तीय संस्थाको संख्या नौ पुगेको छ । केही दिन अघि मात्र सुरु भएको यो अनलाइन प्रणालीमा जाने बैंक वित्तीय संस्थाको संख्या लगातार रुपमा बढ्दै गएको हो ।

कनेक्ट आईपीएसका अनुसार हालसम्म नेपाल बंग्लादेश बैंक, मेगा बैंक, लक्ष्मी बैंक, सेञ्चुरी बैंक र ग्लोबल आईएमई बैंक गरी पाँच वटा वाणिज्य बैंकको खाता अनलाइन भेरिफिकेसन गराउन सकिने भइसकेको छ । मुक्तिनाथ विकास बैंक र ज्योती विकास बैंकका साथै आईसीएफसी फाइनाइन्स समेत यसमा आवद्ध भएका छन् ।

यो नयाँ सुविधा अनुसार कनेक्ट आईपीएसमा आफ्नो खाता आवद्ध गराउन बैंकमै पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ । कनेक्ट आईपीएसको एप प्रयोग गर्न ग्राहकको युजर आईडी र पासवर्ड आवश्यक पर्छ ।

तर आफ्नो बैंकखाताको कारोबार कनेक्ट आईपीएसको माध्यमबाट गर्नुपरेको खण्डमा चाहिँ सुरुमा एकपटक बैंक तथा वित्तीय संस्थामा रहेको आफ्नो खाता लिङ्क गराउनुपर्ने हुन्छ । त्यसका लागि ग्राहकले लिङ्क गराएपनि सम्बन्धित बैंक तथा वित्तीय संस्थाले एकपटक त्यसको भेरिफाई गरेपछि मात्र कारोबार गर्न सकिन्छ ।

त्यसो त कनेक्ट आईपीएसको एपीआई राखिएका मोबाइल बैंकिङ एपबाट सोझै अन्तर बैंक फण्ड ट्रान्सफर गर्न सकिने व्यवस्था समेत मिलाइएको छ । तर कनेक्ट आईपीएसको एपबाट बैंकिङ कारोबार गर्न चाहनेले भने आफ्नो बैंक खाता लिङ्क गराएर अनिवार्य रुपमा भेरिफिकेसन गराउनुपर्ने हुन्छ ।

कोभिड १९ को महामारीको समयमा बैंकसम्म गएर खाता भेरिफाई गराउन सम्भव नहुने देखिएपछि अहिले ग्राहक आफैंले आफ्नो बैंकखाता भेरिफाइ गरी लिङ्क गराउन सक्ने सुविधा ल्याइएको हो । जसमार्फत दैनिक एक लाख रुपैयाँदेखि मासिक ५० लाखसम्मको कारोबार अनलाइनबाटै गर्न सकिने कनेक्ट आईपीएसले जनाएको छ ।

अन्य बैंकहरुसँग समेत सेल्फ भेरिफिकेसन प्रक्रियालाई अटोमेट गर्न संवाद र सहकार्य चलिरहेको एनसीएचएलका कार्यकारी अधिकृत नीलेशमानसिँह प्रधानले जानकारी दिए । ‘एक देखि दुई महिनाको बीचमा धेरैजसो बैंकहरु हाम्रो यो सिस्टममा आइसक्ने आशा गर्न सकिन्छ,’ उनले भने ।

यसमा आवद्ध भएका बैंकका ग्राहक आफैंले कनेक्ट आईपीएसको एपमा सम्बन्धित बैंकमा लिङ्क गराएर एपमै रहेको सेल्फ भेरिफाई अप्सनबाट खाता भेरिफाई गर्न सक्नेछन् ।

सेल्फ भेरिफिकेसन कसरी गराउने ? थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०