close

रोजगारीको अवसर जुटाइदिने सामाजिक सञ्जाल ‘रोलिङ नेक्सस’ सञ्चालनमा

टेकपाना टेकपाना

भदौ २६, २०७७ २०:५५

रोजगारीको अवसर जुटाइदिने सामाजिक सञ्जाल ‘रोलिङ नेक्सस’ सञ्चालनमा

काठमाडौं । नेपालकै पहिलो व्यवसायिक सामाजिक सञ्जाल रोलिङ नेक्सस डटकमको औपचारिक सुरुवात भएको छ । रोलिङ नेक्सस एउटा अनलाइनमा आधारित व्यवसायिक सञ्जाल हो । 

दक्षता अभिवृद्धि, रोजगारी सिर्जना तथा प्रवर्द्धन, पियर टु पियर सेयर्ड ईकोनोमी अर्थात् साथी-साथीबीच साझा भएको अर्थतन्त्र तथा अवसर र सम्भावनाहरुको खोजी तथा गीग अर्थतन्त्रको अवधारणामा रहेर रोलिङ नेक्सस बजारमा आएको अध्यक्ष अनुप जङ्गमले बताए ।

नेक्ससले नेपालमा उद्यमशीलता प्रर्वद्धन तथा वृद्धि गर्न भूमिका खेल्ने याेजना ल्याएकाे उनले सुनाए । अनुपका अनुसार लिङ्कडइन जस्तै रहेको यो प्लेटफर्ममा अझ धेरै फिचर रहेका छन् ।

यसमा व्यक्ति र बिजनेस दुई किसिमको प्रोफाइलहरु बनाउन सकिन्छ । रोलिङ नेक्ससको डिजिटल प्लेटफर्मले समाजका हरेक वर्गलाई सम्बोधन गर्ने मोड्युलहरु ल्याएको छ ।

यस्ता छन् फिचर

रोलिङ जब  : यो फिचर अन्तर्गत प्रयाेगकर्ताले व्यक्तिगत अकाउन्ट बनाएर आफ्नो क्षमता र सीप अनुसार विभिन्न जब अफर पाउन सक्छन् । बिजनेस हाउस हो भने उसले अकाउन्ट बनाएर काम खोजेका व्यक्तिसँग जोडिन सक्छ । 

रोलिङ टेण्डर : रोलिङ टेण्डर एउटा प्रोक्युर म्यानेजमेन्ट सिस्टम जस्तै रहेको छ । यसमा बोलपत्र आह्वान गरेर प्रस्ताव पेश गर्न, नोटिस जारी गर्न सकिन्छ । 

रोलिङ फ्रिल्यान्स : फूल टाइम नभएर फ्रील्यान्स काम गर्न रुचाउनेका लागि यो मोड्युल तयार गरिएको हो ।  यसमा फ्रील्यान्स काम गर्न चाहने तथा फ्रील्यान्स काम गराउन चाहने व्यवसायिक कम्पनी जोडिन सक्छन् । 

रोलिङ क्याट : यसमा आफ्नो सीप, शैक्षिक तह तथा कार्य क्षेत्र अनुरुपको बौद्धिक परीक्षण अनलाइनमै गर्न तथा कम्पनी तथा शैक्षिक संस्थाले छनौट प्रक्रियाका लागि गर्ने परीक्षा तथा मुल्याकंनका कार्य अनलाइनबाट सञ्चालन गर्न सकिन्छ । 

रोलिङ इभेन्टः भर्चुअल कक्षा कोठा, भर्चुअल मेला, विज्ञबाट परामर्श, विभिन्न कार्यक्रम, अनलाइन सेमिनारमार्फत प्रर्वद्धन तथा टिकट बिक्री गर्नका लागि यसमा छुट्टै मोड्युल छ । यसमा सबै कुरा भर्चुअल हुन्छ ।

रोलिङ छलफलः आफ्नो कार्य क्षेत्र र रुचिको क्षेत्र अनुरुपको विभिन्न विषय सम्बन्धित लिखित प्रश्नोतर तथा छलफलमा सहभागी भई बौद्धिक विकास गर्नका लागि रोलिङ छलफल मोड्युल छ । 

यस बाहेक रोलिङ बजार मार्फत नेपाली घरेलु उद्यमीलाई प्रर्वद्धन गर्ने, रोलिङ उजुरी मार्फत उपभोक्ताले आफ्ना गारो सारो, अप्ठारो अथवा ठगीको गुनासो औपचारिक रुपमा राख्न मिल्ने र सोको समाधानका लागि सम्बन्धित कम्पनीबाट जवाफ मागी समाधान गर्ने व्यवस्था कम्पनीले ल्याएकाे छ ।

यस्तै रोलिङ कन्टेस्ट मार्फत खेलकुदको गफगाफमा सहभागिता, फोटो वा भिडियो प्रतिस्पर्धा, दैनिक क्वीज जस्ता मनोरञ्जनको सामाग्री रहेकाे पनि उनले सुनाए ।

साथै महिला, फरक क्षमता भएका र सेवानिवृत्त समूहलाई पनि अवसर र सम्भावना दिनको लागि विशेष पेजमार्फत प्रर्वद्धन गरिने व्यवस्था रोलिङ नेक्ससले गरेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०