close

तीन वर्षमा देशका ३० हजार ठाउँमा निःशुल्क एक्सप्रेस वाईफाई

टेकपाना टेकपाना

असोज २३, २०७७ ९:०

तीन वर्षमा देशका ३० हजार ठाउँमा निःशुल्क एक्सप्रेस वाईफाई

काठमाडाैं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेशन्स र फेसबुकबीच नेपाली इन्टरनेट प्रयोगकर्तालाई मध्यनजर गर्दै सेवा प्रदान गर्ने सहकार्य भएको छ ।

यो सहकार्यसँगै आगामी तीन वर्षभित्र हरेक वर्ष १० हजारका दरले ३० हजार थप सार्वजनिक स्थानमा निःशुल्क वाईफाई उपलब्ध पुर्‍याउने योजना सार्वजनिक भएको छ ।

बिहीबार आयोजित एक भर्चुअल प्रेस मिटमा वर्ल्डलिङ्कले फेसबुकसँग भएको सहकार्यको बारेमा जानकारी दियाे । सो अवसरमा वर्ल्डलिङ्कले फेसबुकको एक्सप्रेस वाईफाई प्लेटफर्ममार्फत नेपालभरी सार्वजनिक वाईफाई सेवा उपलब्ध गराउने जानकारी दियाे ।

पत्रकार सम्मेलनमा दुवै कम्पनीले सहकार्य गरेको घोषणा समेत गरेका छन् ।

एक्सप्रेस वाईफाई प्लेटफर्म अन्तर्गत अहिले वर्ल्डलिङ्कले देशभर उपलब्ध गराएको १० हजारभन्दा बढी सार्वजनिक फ्रि वाईफाईमध्ये ७ हजार ५ सय स्थानका वाईफाईका लागि सहकार्य गरेको वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडका अध्यक्ष दिलिप अग्रवालले जानकारी गराए ।

कार्यक्रममा वर्ल्डलिङ्कका अध्यक्ष दिलिप अग्रवालले यो सहकार्यले अझ पहुँचमा नभएका मानिसहरुलाई इन्टरनेट पहुँचमा ल्याउने विश्वास व्यक्त गरे ।

उनले भने, ‘हामीलाई सरकारले स्पेक्ट्रम दिएको छैन र नदिँदा समस्या भएको छ, तर पनि फेसबुकसँगको सहकार्यमा पब्लिक वाईफाई व्यवस्थापन गर्न सहयोग हुनेछ ।’

आगामी दिनमा इन्टरनेट सेवा प्रदायकहरुलाई समेत सरकारले स्पेक्ट्रम दिएर सहयोग गर्नुपर्ने बताउँदै सरकारले मोबाइल स्पेक्ट्रममार्फत डाटा र इन्टरनेट दिने कुनै कानून आएमा प्रयोगकर्तालाई अझै सहज उनको तर्क थियो ।

फेसबुकको पूर्वाधार प्रयोग गरेर उपलब्ध गराइने यस्तो इन्टरनेटका लागि उपलब्ध स्थानमा एकपटक दर्ता गरिसकेपछि अर्कोपटक गर्नु नपर्ने सुविधा थप भएको छ ।

त्यस्तै यसअघि मोबाइल फोनमा मात्र ओटीपी आउने व्यवस्था भएकामा सहकार्यपछि ह्वाट्सएप प्रयोगकर्तालाई सोही एपबाट उपलब्ध गराउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

निःशुल्क वाईफाई उपलब्ध गराइएका यस्ता स्थानमा प्रयोगकर्ताले तोकिएको समयसम्म निःशुल्क इन्टरनेट प्रयोग गर्न सक्छन् ।

पुनः प्रयोगका लागि फेरि उपयोग गर्नसक्ने गरी सुविधा पनि थप गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अहिले मासिक पाँच लाख प्रयोगकर्ताले यस्तो सुविधा प्रयोग गरिरहेका छन् ।

पत्रकारले गरेको एक प्रश्नको उत्तर दिदैं अध्यक्ष अग्रवालले भने, यूजर्ससँग रकम लिने छैनौं, यसमा विज्ञापनमार्फत आगामी दिनमा मनिटाइज गरिने छ ।

अध्यक्ष अग्रवालले एक्सप्रेस वाईफाई प्लेटफर्मले वर्ल्डलिङ्कको सार्वजनिक वाईफाई सेवा सुधार गरेर, दुरुस्त, भरपर्दाे र किफायती इन्टर्नेट सेवाको साथै सबैका लागि, सबै ठाउँमा, सधैं जोडिने हाम्रो दृष्टिकोणमा उच्च योगदान गर्ने विश्वास व्यक्त गरे ।

यस सहकार्यले देशभरीका अल्पसंख्यक, विपन्न वर्गलाई पनि इन्टरनेट सेवाको पहुँच नजिक पुर्‍याउने आशा व्यक्त गरे ।

पत्रकार सम्मेलनमा सहभागी भएका फेसबुकका तर्फबाट मोबाइल पार्टनरशिपका निर्देशक करण खाराले भने, ‘रोजगार, शिक्षा, स्वास्थ्य सेवा र थप पहुँच सुनिश्चित गर्न उच्च गुणस्तरीय इन्टरनेट पहुँच अत्यावश्यक तत्व हो । एक्सप्रेस वाईफाई प्लेटफर्मको साथ वर्ल्डलिङ्क नेपालमा आफ्नो वाइफाइ कभरेजलाई दिगो रुपमा विस्तार गर्न सक्षम छ ।

धेरै व्यक्तिलाई अनलाइनका लागि सक्षम पार्ने हाम्रो विश्वास छ । हामी वर्ल्डलिङ्कसँग निरन्तर साझेदारीको लागि तत्पर छौं ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४