close

मोबाइल र इन्टरनेटको गुणस्तर परीक्षण गर्ने स्वचालित प्रविधि भित्र्याउँदै नियामक

टेकपाना टेकपाना

कात्तिक १४, २०७७ १३:४१

मोबाइल र इन्टरनेटको गुणस्तर परीक्षण गर्ने स्वचालित प्रविधि भित्र्याउँदै नियामक

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले स्वचालित गुणस्तर परीक्षण प्रविधि भित्र्याउने भएको छ । दूरसञ्चार क्षेत्रको नियमनकारी निकायको रुपमा रहेको प्राधिकरणले भ्वाइस, डेटा तथा इन्टरनेट सेवाको गुणस्तर मापन गर्न यस्तो प्रविधि भित्र्याउन लागेको हो ।

हाल यो प्रविधि भित्र्याउन टेन्डर समेत भइसकेको छ । प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले प्राप्त बोलपत्र मूल्याङ्कनको काम भइरहेको बताए ।

प्रवक्ता अर्यालले भने, ‘चाँडै मूल्याङ्कनको प्रक्रिया टुङ्ग्याएर सिस्टम खरिदको कार्य अगाडि बढाउने उद्देश्यका साथ काम भइरहेको छ ।’ मोबाइल, टेलिफोन, डेटा तथा इन्टरनेट सेवाको न्यूनतम गुणस्तर तोक्ने, अनुगमन गर्ने र तोकिएको गुणस्तर कायम नगर्ने सेवाप्रदायकलाई कारबाही गर्ने अधिकार प्राधिकरणसँग छ ।

सेवाप्रदायकले प्रवाह गर्ने दूरसञ्चार सेवाको चुस्त र प्रभावकारी अनुगमन गर्नका लागि स्वचालित दूरसञ्चार गुणस्तर परीक्षण प्रविधि भित्र्याउन लागिएको नियामकले जनाएको छ ।

यसबाट उपभोक्ताले भ्वाइस, डेटा तथा इन्टरनेट सेवा निश्चित स्थान र समयमा कस्तो गुणस्तरको पाइरहेका छन् र त्यस्ता सेवा नियामकको मापदण्ड अनुरुप भए नभएको सहजै प्राप्त हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार सेवाको गुणस्तर अनुगमनका साथै सेवाप्रदायकको आम्दानी तथा बिलिङ अस्योरेन्सको प्रविधि समेत जोडिनेछ । जसका कारण उपभोक्ताले सेवा प्रयोग गरे वापत तिर्नुपर्ने महसुल प्राधिकरणबाट स्वीकृत दरसँग मिले नमिलेको जाँच गर्न संभव हुनेछ ।

सेवा प्रदायकको आय र सरकारलाई बुझाउने राजस्व समेतको अनुगमन यो प्रणालीबाटै गर्न सकिने प्रवक्ता अर्यालले बताए । उनले भने, ‘यो प्रणालीको प्रयोगबाट उपभोक्ताले धेरै प्रयोग गर्ने एप्लिकेसन, वेबसाइट आदिको क्वालिटी अफ एक्सपिरियन्स समेत मापन गर्न सहयोग पुर्‍याउने छ ।’

हाल प्राधिकरणले दूरसञ्चार सेवाको गुणस्तर मापनका लागि ड्राइभ टेस्ट लगायतका टुलको प्रयोग हुँदै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०