close

यसरी सजिलैसँग बुझ्नुहोस् अप्टिकल फाइबर प्रविधि

टेकपाना टेकपाना

कात्तिक १४, २०७७ १९:५९

यसरी सजिलैसँग बुझ्नुहोस् अप्टिकल फाइबर प्रविधि

काठमाडौं । दूरसञ्चार प्रविधिमा क्रान्ति ल्याउने प्रविधिमध्ये एक हो, अप्टिकल फाइबर । यसको प्रयोगबाट लामो दूरीमा पनि कम लस हुने गरी डेटा ट्रान्समिट गर्न सकिन्छ ।

साथै यो प्रविधिमा डेटा ट्रान्सफर रेट पनि एकदमै बढी हुने तथा विद्युतीय तरङ़गहरुले समेत यसलाई असर गर्न सक्दैन । यही कारण दूरसञ्चार क्षेत्रमा यसको प्रयोग बढ़्दो छ ।

प्रकाशको माध्यमबाट डेटा ट्रान्समिसन गर्न सकिने अप्टिकल फाइबरमा प्लास्टिक, काँच र सिलिका लगायतका वस्तुहरूको प्रयोग गरिएको हुन्छ । एउटा अप्टिकल फाइबरको आकार मानिसको एउटा कपाल बराबरको हुन्छ ।

फाइबरको बनोट तीन तहमा बनेको हन्छ । जसमध्ये बीचमा कोर हन्छ । यसैको माध्यमबाट डेटा ट्रान्समिट हुने गर्दछ ।

कोरभन्दा बाहिर क्ल्याडिङ हुन्छ । जसले कोरबाट बाहिर परावर्तन हुन लागेको डेटालाई पुनः कोरतिरै फर्काइदिन्छ ।

यसमा सबैभन्दा बाहिरको तहमा ज्याकेट हुन्छ । जसले बिचको भाग अर्थात कोरलाई सुरक्षा दिने काम गर्दछ । बिना झन्झट धेरै डेटा आदान प्रदान गर्न सकिने र डेटा चुहावट नहुने भएकोले नै यसको लोकप्रियता बढ्दै गएको हो ।

पर्याप्त उपकरण हुने हो भने अप्टिकल फाइबर केवलबाट असीमित डेटा आदान प्रदान गर्न सकिन्छ । एउटा फाइबरमा कति वेबलेन्थ पठाउने भन्ने कुरालाई डीडब्लूडीएमले जनाइन्छ ।

अभ्यासको कुरा गर्दा एउटा फाइबरमा ५१२ वटा वेबलेन्थसम्म पठाउने गरिएको छ । यसरी एउटा वेबलेन्थमा हालसम्म ४० जीबीपीएस गतिमा डेटा आदान प्रदान गर्ने उपकरणहरू बनेका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी विभिन्न सेवा प्रदायकहरु मार्फत अप्टिकल फाइबर प्रविधिको प्रयोग गरी पाँचथरको च्याङ्गथार्पुदेखि बैतडीको झुलाघाटसम्म मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइवर नेटवर्क बिस्तार गरी सूचना महामार्ग निर्माण गरिरहेको छ ।

यस बाहेक सेवाप्रदायकले आफ्नै तवरबाट विभिन्न क्षमताकका अप्टिकल फाइबर नेटवर्क तयार पारी सेवा प्रदान गर्दै आएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०