close

नेपाली युवाले पत्ता लगाएको फेसबुकको बग, जसबाट जोगियो इन्स्टाग्रामका १ अर्ब प्रयोगकर्ताको डेटा

टेकपाना टेकपाना

पुस ३, २०७७ १२:३६

नेपाली युवाले पत्ता लगाएको फेसबुकको बग, जसबाट जोगियो इन्स्टाग्रामका १ अर्ब प्रयोगकर्ताको डेटा

काठमाडौं । केही समय अघिदेखि मात्र फेसबुकले आफ्ना दुई वटा फरक एप म्यासेञ्जर र इन्टाग्रामका प्रयोगकर्ताले एक अर्कासँग च्याट गर्न सकिने सुविधा ल्याएको छ । सामाजिक सञ्जाल तथा म्यासेजिङ एपलाई इन्टरअपरेबल बनाउने फेसबुकको दीर्घकालिन नीति अनुरुप नै यो सेवा सुरु भएको हो ।

तर यो नयाँ फिचर आएसँगै म्यासेञ्जरबाट इन्स्टाग्रामका जुनसुकै प्रयोगकर्ताको जन्म मिति तथा ईमेल आईडी जस्ता गोप्य विवरण हेर्न सकिने किसिमको कमजोरी देखियो । आखिर फेसबुक तथा इन्स्टाग्रामको बग अर्थात कमजोरी पत्ता लगाएर ख्याति कमाइसकेका २२ वर्षीय नेपाली युवा सौगात पोखरेलले नै फेसबुकको यो कमजोरी फेला पारे

हाल विश्वभर इन्स्टाग्रामका एक अर्बभन्दा बढी प्रयोगकर्ता छन् । ह्याकरले यो बगमार्फत सजिलैसँग इन्स्टाग्रामका जुनसुकै सेलिब्रिटीदेखि सामान्य प्रयोगकर्ताको ईमेल र जन्म मिति लगायतको डेटा संकलन गर्न सक्ने अवस्था थियो ।

साइबर सुरक्षा अनुसन्धानकर्ता सौगातले २३ अक्टुबरमा यस किसिमको कमजोरी रहेको भन्दै रिपोर्ट गरे । ‘मैले रिपोर्ट गरेको तीन घण्टामै उक्त बग फिक्स भयो,’ टेकपानासँगको कुराकानीमा उनले भने, ‘फेसबुकको सपोर्टबाट त्यतिखेरै नोटिफिकेसन र ईमेलमार्फत उक्त बगको विषयमा रेस्पोन्स आएको थियो ।’ 

व्यवसाय र ब्राण्डहरुलाई लक्षित गर्दै फेसबुकले गत सेप्टेम्बरदेखि आफ्नो पेज सेक्सनलाई बिजनेस स्वीटको रुपमा रिब्राण्ड गरेको छ । फेसबुकको नयाँ इन्टरअपरेबल फिचर अनुसार फेसबुक पेजमा इन्स्टाग्रामकका प्रयोगकर्ताले म्यासेज पठाउन सक्छन् । त्यसैगरी फेसबुक पेजबाट पनि इन्स्टाग्रामका प्रयोगकर्तालाई म्यासेज पठाउन सकिन्छ ।

यसरी फेसबुक पेजमा म्यासेज गर्ने जुनसुकै इन्स्टाग्रामका प्रयोगकर्ताको जन्म मिति र ईमेल आईडी लगायतको जानकारी सहजै हेर्न सकिने अवस्था रहेको सौगातले बताए । ‘यति मात्र होइन, पेजबाट आफैंले कुनै पनि इन्स्टाग्राम प्रयोगकर्तालाई म्यासेज पठाएर त्यस किसिमको व्यक्तिगत तथा गोप्य जानकारी हेर्न सकिने अवस्था थियो,’ उनले भने ।

यसको पछाडि फेसबुकको बिजनेस स्विटमा कन्फिग्रेसनको कुनै समस्या रहेको हुन सक्ने सौगातको अनुमान छ । ‘इन्स्टाग्रामका सबै प्रयोगकर्ताको संभावित डेटा ब्रिच (चोरी)  हुनबाट जोगाउन सकेकोमा निकै खुशी छु,’ सौगातले अगाडि भने ।

यो बग पत्ता लगाए वापत बुधबार आफूले फेसबुकबाट पाएको रिवार्ड रकम समेत उनले खुलाएका छन् । उनले भने, ‘यस वापत मैले फेसबुकबाट १३ हजार १२५ अमेरिकी डलर अर्थात करिब १५ लाख ५० हजार रुपैयाँ जति रिवार्ड पाएको छु ।’

नयाँ बग पत्ता लगाएसँगै सौगात पोखरेल फेसबुकको २०२० को ह्वाइट ह्याट सूचीमा उनी ३० औं स्थानमा पुगेका छन् । फेसबुकले आफ्नो सिस्टममा भएका कमजोरी पत्ता लगाएर जानकारी दिने अनुसन्धानकर्ता तथा इथिकल ह्याकरलाई रिवार्डसँगै कृतज्ञताको रुपमा यो सूचीमा राख्ने गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४