close

तपाईंको ईमेल आईडी र पासवर्ड ह्याकरको हातमा त छैन ? यसरी चेक गर्नुहोस्

टेकपाना टेकपाना

पुस ११, २०७७ १५:१

तपाईंको ईमेल आईडी र पासवर्ड ह्याकरको हातमा त छैन ? यसरी चेक गर्नुहोस्

काठमाडौं । पासवर्डको विषयमा अझै पनि धेरैजसो प्रयोगकर्ताले खासै सावधानी अपनाएको देखिँदैन । झुर पासवर्डको टप टेन लिस्टमा यस्ता कमजोर पासवर्ड देखिएका थिए कि जसलाई कसैले पनि सहजै अनुमान गरेर अकाउन्ट ह्याक गर्न सक्छ ।

तपाईंले मजबूत पासवर्ड त राख्नुभएको छ, तर पनि पासवर्ड ह्याकरको हातमा पुग्यो भने ? पछिल्लो समय तपाईंले प्रायः हरेक दिन साइबर आक्रमणका खबर पढ्दै, सुन्दै आउनु भएको होला ।

यस्ता साइबर आक्रमण एक वा दुई अकाउन्टमा होइन, बरु लाखौं, करोडौं अकाउन्टमा एकसाथ हुने गर्दछन् । त्यसमा तपाईंको सामाजिक सञ्जालसहित ईमेल तथा बैंक अकाउन्ट समेत परेको हुनसक्छ ।

साइबर आक्रमण पश्चात ह्याकरको हातमा भारी मात्रामा पासवर्ड एकत्रित रुपमा जम्मा भएका हुन्छन् । जसलाई उनीहरुले आफ्नो स्वार्थ अनुरुप प्रयोग गर्ने गर्दछन् ।

यसको अर्थ यदि तपाईंको पासवर्ड ह्याकरको हातमा छ भने पनि तर तपाईंको अकाउन्टमा त्यस्तो कुनै अस्वभाविक गतिविधि नभएको वा नदेखिएको हुनसक्छ । यस्तोमा आउँदा दिनमा तपाईं ह्याकरको निशानामा पर्ने निश्चित जस्तै हुन्छ ।

त्यसैले तपाईंले आफ्नो अकाउन्टको पासवर्ड सुरक्षित छ वा छैन भन्ने कुरा यकिन गर्न जरुरी छ । यदि पासवर्ड सुरक्षित छैन र कुनै डेटा लिकमा परेको छ भने तपाईंले आफ्नो पासवर्ड तत्काल परिवर्तन गर्न जरुरी हुन्छ ।

गुगलले केही समयअघि एउटा टुल ल्याएको थियो । उक्त टुलको सहयोगमा प्रयोगकर्ताले आफ्नो पासवर्ड लिक भएको छ अथवा कमजोर छ वा भनौं एउटा पासवर्ड अन्य अकाउन्टसँग मिल्दोजुल्दो छ भन्ने कुरा जाँच गर्न सक्छन् ।

त्यसक लागि तपाईंले यहाँ क्लिक गरी आफ्नो अकाउन्ट लगईन गर्नुपर्ने हुन्छ । जहाँ तपाईंले पासवर्ड चेकअपको विकल्प देख्नुहुनेछ ।

त्यसमा ट्याप गर्नुहोस् र ‘गो टु पासवर्ड चेकअप’ बटनमा थिच्नुहोस् । यति गरेकै भरमा गुगलले तपाईंलाई आवश्यक जानकारी दिनेछ ।

गुगलले सेभ भएका पासवर्डको आधारमा तपाईंलाई कति पासवर्ड कम्प्रोमाइज (ह्याक भइसकेका) छन् अथवा लिक भइसकेका छन् वा दोहोरिएका छन् र पासवर्ड कति कमजोर छन् भन्ने कुरा बताउनेछ । कम्प्रोमाइज पासवर्डमा ट्याप गरेर तपाईंले अलग अलग वेबसाइटमा लगईन गरिएका तपाईंका पासवर्ड देख्न सक्नुहुनेछ ।

जुन कुनै न कुनै डेटा लिकका दौरान बाहिरिसकेका छन् वा आउँदो समयमा यसै कारण तपाईं संकटमा पर्न सक्नुहुन्छ भन्ने सन्देश पनि हो । गुगलको यो टुलमा तपाईंले लिस्टसँगै चेञ्ज पासवर्ड अर्थात पासवर्ड परिवर्तनको अप्सन समेत प्राप्त हुनेछ ।

त्यसमा क्लिक गरेर तपाईंले पासवर्ड लिक भएको वेबसाइटमा पुगेर त्यसलाई परिवर्तन गर्न सक्नुहुनेछ । गुगलका अलावा एउटा अर्को वेबसाइट पनि छ, जसले तपाईंको ईमेल डेटा ब्रिच (डेटा चोरी) मा परेको छ वा छैन भन्ने कुराको जानकारी दिन्छ ।

यसको अर्थ डेटा ब्रिचबाट तपाईंको ईमेल आईडी कतिपटक प्रभावित भएको छ भन्ने कुरा थाहा पाउन सकिन्छ । त्यसका लागि यहाँ क्लिक गरी आफ्नो ईमेल आईडी राख्नुहोस् र त्यसको अगाडिको बटन दबाउनुहोस् ।

यति गरेपछि तपाईंको ईमेल कहिले र कुन वेबसाइटबाट प्रभावित हुन पुगेको थियो भन्ने जानकारी देखिनेछ । यदि तपाईंको ईमेल आईडी प्रभावित भएको छ भने पासवर्ड परिवर्तन गरेर सुरक्षित पार्नुहोस् । त्यसका लागि बलियो पासवर्ड र टु स्टेप भेरिफिकेसन राख्न नबिर्सिनुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०