close

नेपालमा फाइभजी प्रयोग बढाउन प्राधिकरणले थाल्यो अध्ययन

टेकपाना टेकपाना

भदौ ८, २०७८ १९:५६

नेपालमा फाइभजी प्रयोग बढाउन प्राधिकरणले थाल्यो अध्ययन

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजीको प्रयोगलाई बढावा दिन अध्ययन अघि बढाएको छ । फाइभजी प्रविधिको प्रयोग हुनसक्ने क्षेत्रको पहिचानका लागि भन्दै प्राधिकरणले अध्ययन अघि बढाएको हो ।

‘विभिन्न क्षेत्रमा फाइभजी प्रयोगलाई बढाउनका साथै ती क्षेत्रको पहिचानका लागि प्राधिकरणले अध्ययन प्रक्रिया अघि बढाएको छ,’ प्राधिकरणका निर्देशक तथा फ्रिक्वेन्सी शाखा प्रमुख अम्बर स्थापितले भने, ‘त्यसका लागि कमिटी गठन गरी काम अघि बढेको छ ।’

स्थापितकै संयोजकत्वमा गठन भएको उक्त कमिटीमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका पूर्व सहसचिव वीरेन्द्र मिश्रलाई विज्ञको रुपमा राखिएको छ ।

मिश्रसँग डिजिटल नेपाल फ्रेमवर्कमा काम गरेको लामो अनुभव छ । स्थापितले भने, ‘उहाँको अनुभवलाई फाइभजी विस्तारमा समेत सदुपयोग गर्न प्रयास गरिएको हो ।’

उक्त कमिटीले परामर्शदाता नियुक्तिका लागि टीओआर तयार गर्नेछ । जसका आधारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग नेपालमा फाइभजी प्रयोग गर्न सकिने केही क्षेत्रको पहिचान गर्न तथा त्यस्ता क्षेत्रमा फाइभजीको प्रयोगलाई बढवा दिन चाल्नुपर्ने आवश्यक कदमका विषयमा अध्ययनका लागि बोलपत्र आह्वान गरिने छ ।

यसका लागि प्राधिकरणले चालु आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत नै यो कार्यक्रमलाई अघि बढाएको छ । जसमा यो अध्ययनका लागि ५० लाख बजेट छुट्याइएको छ । विशेषगरी दूरसञ्चार कम्पनीको आगामी फाइभजी परियोजनालाई मद्दत पुर्‍याउने योजनाका साथ प्राधिकरणले यो अध्ययन अघि बढाएको हो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१