close

बाइकबाट कार्गो ढुवानी सेवा दिँदै ‘उपायः सीटी कार्गो’

टेकपाना टेकपाना

भदौ २०, २०७८ ९:१०

बाइकबाट कार्गो ढुवानी सेवा दिँदै ‘उपायः सीटी कार्गो’

काठमाडौं । डिजिटल कार्गो सेवाप्रदायक उपायः सीटी कार्गोले यूकेएडको स्किल्स फर इम्प्लोयमेन्ट प्रोग्राम (सीप) को साझेदारीमा काठमाडौं उपत्यकामा बाइक (दुई पाङ्ग्रे सवारी) मार्फत कार्गो ढुवानी सेवा सुरु गरेको छ ।

डिजिटल नेपालको ढुवानी सेवाको मेरुदण्ड बन्ने लक्ष बोकेको कम्पनीले दुई पाङ्ग्रे सवारीमार्फत सेवा सुरु गरेसँगै अब भारी सामानका लागि मात्र नभई साना वस्तु र पार्सल डेलिभरीका लागि सहज हुने बताइएको छ ।

‘दुई पाङ्ग्रे ढुवानीको भविष्य’ विषयक अन्तर्क्रियामा बोल्दै उपायः सीटी कार्गोका अध्यक्ष सुमन रायमाझीले समावेशीकरणमा ध्यान केन्द्रित गर्दै आफ्ना कार्यहरूमा लैङ्गिक समानताका साथै वातावरणीय सचेत रही अघि बढ्ने बताए ।

उपायःले टेक्नोलोजी प्लेटफर्मको सदुपयोग गरी उत्पन्न गरेको रोजगारी केही महिना अघिसम्म अस्तित्वमा नरहेको र अहिले टेक्नोलोजी प्लेटफर्मको साथ, नेपालमा नयाँ रोजगारी सिर्जनाको ठूलो सम्भावना उजागर गरेको सीपका परियोजना प्रमुख बल्जित बाेहरा बताउँछन् ।

सीप र उपाय: सिटी कार्गोको साझेदारीले आप्रवासी कामदार, महिला र अन्य सामाजिक तथा आर्थिक रूपले विपन्न समूहलाई लक्षित गर्दै उपायले दुई हजार ड्राइभर/दुई पाङ्ग्रे राइडर साझेदारलाई डिजिटल साक्षरता, ई-बैंकिङ र ग्राहक सेवामा ध्यान केन्द्रित गर्दै स्वरोजगार सिर्जना गर्न प्रशिक्षण दिने याेजना ल्याएकाे छ ।

विद्युतीय सवारीको प्रयोग र दिगो कुलिङ अन्वेषण गर्दै पर्यावरणमैत्री कम्पनीको रूपमा देखापर्ने रायमाझी बताउँछन् ।

महिला उद्यमीहरूको चुनौतीलाई हल गर्दै अघि बढाउन र स्वतन्त्र हुन उपायःको भूमिका रहने उपायःको कर्वी क्विन कलेक्सनकी संस्थापक ऐश्वर्या राय बताउँछिन् ।

उपाय: सिटी कार्गोले प्रचलित बजारदरको तुलनामा कम मूल्य र छिटो ढुवानी सेवाका लागि ड्राइभर र दुई पाङ्ग्रे राइडर-साझेदारहरूको ठूलो सञ्जालका साथै सुविधाजनक मोबाइल ट्र्याकिङ र कर बीजकको व्यवस्था गरेको बताएको छ ।

भारी सामान तथा पार्सल कार्गो गर्न चाहनेले उपाय: सिटी कार्गोको मोबाइल एप वा अफिसियल वेबसाइटमार्फत आवश्यक चार वा दुई पाङ्ग्रे सवारी बुकिङ गर्न सक्नेछन् । सवारी तत्कालका लागि वा तालिका सेट गरेर बुकिङ गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३