close

नेपालमै पहिलो पटक वर्ल्डलिङ्कले सार्वजनिक गर्‍यो वाईफाईको नयाँ प्रविधि ‘मेश वाईफाई’

टेकपाना टेकपाना

भदौ २१, २०७८ १९:३९

नेपालमै पहिलो पटक वर्ल्डलिङ्कले सार्वजनिक गर्‍यो वाईफाईको नयाँ प्रविधि ‘मेश वाईफाई’

काठमाडौं । निजी इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले नेपालमै पहिलो पटक मेश वाईफाई प्रविधि भित्र्याएको छ । विदेशी लगानी समेत रहेको कम्पनीले सोमबार बेलुकाको फेसबुक लाइभमार्फत वाईफाईको नयाँ प्रविधि सार्वजनिक गरेको हो ।

विद्यमान तथा परम्परागत वाईफाई प्रविधि पर्याप्त नभएपछि ग्राहकको आवश्यकता सम्बोधन गर्न नेपालकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनीले मेश वाईफाई भित्र्याइएको जनाएको छ । कम्पनीका अनुसार मेश वाईफाई प्रविधिका लागि सम्पूर्ण सिस्टम तयारी तथा परीक्षणको काम पूरा भइसकेको छ ।

खासगरी सहर बजार क्षेत्रमा वाईफाई नेटवर्कहरू धेरै हुँदा सिग्नल आपसमा जुध्ने भएका कारण वाईफाई स्पिड र कभरेज पर्याप्त पाउन नसक्ने अवस्था छ । जुन सबैजसो इन्टरनेट सेवाप्रदायकका लागि टाउको दुखाइको विषय बन्दै आएको छ ।

त्यसो त विभिन्न इन्टरनेट सेवाप्रदायकले फास्ट वाईफाई स्पिडका लागि ५ गिगाहर्ज राउटर समेत उपलब्ध गराउँदै आएका छन् । साथै एउटै राउटरले कभरेज पर्याप्त नहुँदा एक्स्टेन्डरको रुपमा सेकेन्डरी वा अतिरिक्त राउटर राख्ने विकल्प पनि छँदैछ ।  

तर, यसका बावजुत पनि प्रयोगकर्ताको वाईफाई सम्बन्धी समस्या पूर्णरुपमा समाधान भने हुन सकिरहेको छैन । त्यसैले नै कम्पनी मेश वाईफाई प्रविधि भित्र्याउनु परेको जनाएको छ । नेपालकै पुरानो इन्टरनेट सेवाप्रदायकको रुपमा समेत रहेको वर्ल्डलिङ्कले हालै मात्र पाँच लाख घरमा आफ्नो इन्टरनेट सेवा पुर्‍याउन सफल भएको हो ।

‘वर्ल्डलिङ्क फोटोनः स्पिड, कभरेज र एक्सपिरियन्स’ को स्लोगन सहित सार्वजनिक भएको मेश वाईफाईका लागि नोकिया बिकिन १.१ राउटर प्रयोग हुनेछ । नेपालमा पछिल्लो ६ वर्षदेखि निकै उत्साहप्रद बृद्धि भएको कम्पनीका प्रबन्ध निर्देशक तथा अध्यक्ष दीलिप अग्रवालले बताए ।

‘फाइबरबाट हामी गिगाबिटभन्दा माथिको स्पिड दिन सक्छौँ,’ कम्पनीका अध्यक्ष अग्रवालले भने, ‘तर तपाईं वाईफाईबाट इन्टरनेट प्रयोग गर्नुहुन्छ । यस्तोमा फाइबरमा धेरै स्पिड दिए पनि वाई-फाईले त्यति स्पीड दिन सक्दैन । त्यसका लागि मेश प्रविधि ल्याएका छौँ । यो एकदमै नयाँ पनि छ । यो राखेपछि घरभित्रको वाई-फाईको सीमितता पार गर्न सक्छौँ ।’

यो नयाँ प्रविधिले घरका कुना कुनामा हाई स्पिड वाईफाई स्पिड दिने कम्पनीको दाबी छ । देश बाहिर लोकप्रिय रहेको यो प्रविधि महंगो भएका कारण धेरैको पहुँचमा आउन सकेको छैन ।

स्पिडका लागि फाईबर सहज भए पनि वाईफाई चुनौतिपूर्ण रहेको अग्रवालको भनाई छ । कम्पनीले सार्वजनिक गरेको मेश वाईफाई प्याकेजमा ग्राहकले ३०० एमबीपीएस गतिको फास्ट इन्टरनेट पाउनेछन् । मेश राउटर बजारमा यस अघि उपलब्ध रहेको भए पनि इन्टरनेट सेवाप्रदायकले आफ्नो सिस्टममा इन्टिग्रेट गरी उपलब्ध गराउन थालेको यो नै पहिलो हो ।

के हो मेश वाईफाई ?

यदि तपाईंको कम्प्युटर वा अन्य डिभाइस वाईफाई नेटवर्कसँग कनेक्ट हुँदैन भने मेश वाईफाई सिस्टम तपाईंका लागि सबैभन्दा उपयुक्त समाधान हुनसक्छ । तर याे वाईफाई सिस्टमबारे धेरै जसो नेपाली प्रयोगकर्तालाई थाहा छैन ।

किन भने मेश वाईफाई प्रविधि नेपालमा यसअघि सम्म उपलब्ध थिएन । वास्तवमा मेश वाईफाई नेटवर्कले परम्परागत वाईफाईका धेरै समस्यालाई समाधान गर्ने बताइन्छ ।

विद्यमान अवस्थामा घरभरि रहेका डिभाइसमा (कम्प्युटर, ल्यापटप, मोबाइल, टिभी आदिमा) वायरलेस सिग्नल प्रसारण गर्न नोड अर्थात एक्सेस प्वाइन्टको रुपमा राउटर एक मात्र विकल्प हो । यस्तोमा तपाईंको डिभाइस राउटरबाट जति टाढा हुन्छ, इन्टरनेट कनेक्सनमा त्यति नै धेरै समस्या आउँछ ।

यसलाई अर्को अर्थमा भन्नुपर्दा राउटरबाट मोबाइल तथा ल्यापटप जति टाढा हुन्छ, वाईफाईको गुणस्तर त्यत्तिकै खस्किँदै जान्छ । तर मेश वाईफाई सिस्टममा भने त्यस्ता एक्सेस प्वाइन्ट धेरै हुन्छन् ।

जसले एक आपसमा सिग्नल आदान प्रदानको रुपमा प्रसारण र पुनः प्रसारण गर्दछन् । यसो हुँदा परम्परागत वाईफाईमा देखिने इन्टरनेट कनेक्सनको समस्यालाई अन्त्य हुन्छ ।

यदि तपाईंको घर ठूलो छ भने सबै कोठा र सिँढीहरूमा वाईफाई नटिप्ने समस्या देखिने गर्छ । यस्तोमा मोटा पर्खाल र भौतिक संरचनाले वाईफाईको सिग्नल रोकिदिन्छ ।

तर मेश वाईफाई सिस्टम भने यसरी बनाइएको हुन्छ कि वाईफाई सिग्नल पुग्न नसक्ने त्यस्ता ठाउँमा समेत निरन्तर वाईफाईको सुविधा उपयोग गर्न सकिन्छ । साथै सेकेन्डरी राउटर जस्तै गरी नेटवर्क कभरेज विस्तार गर्न सकिने सुविधा त यसमा छँदैछ ।

त्यसमाथि वाईफाईको एउटै एसएसआईडी र पासवर्डले नै सबैतिर काम गर्न सक्छ । यस्तोमा एउटा राउटर भएको तल्लाबाट दुई तला माथि जाँदा पनि बीचमा कहिँ कतै वाईफाई अवरुद्ध हुँदैन ।

अर्थात् अहिले जस्तो तपाईंले मोबाइलमा भिडिओ कल गर्दै घरको एउटा तलाबाट अर्को तल्लामा जाँदा बीचमा वाईफाई डिसकनेक्ट हुने समस्या आउँदैन ।

कति छ मूल्य ?

वर्ल्डलिङ्कले मेश वाईफाईका लागि नोकियाको उपकरण प्रयोग गरेको छ । डुअल ब्यान्ड राउटरसँगै तारबाट तथा तार रहीत गरी दुवै तरिकाबाट यस्तो मेश डिभाइसलाई मुख्य राउटरसँग जोडेर राखिन्छ ।

जसले मेन राउटरको नेटवर्कसँग मिलेर एउटै वाईफाईको कभरेजलाई बढाउनुका साथै उच्च स्पिडमा इन्टरनेट चलाउने सुविधा समेत दिन्छ । देश बाहिर नोकियाको सिंगल बेस स्टेसन मेस वाईफाईलाई १२९ अमेरिकी डलर अर्थात १५ हजार रुपैयाँभन्दा बढी पर्ने गरेको छ । तर वर्ल्डलिङ्कले भने निकै सस्तोमा मेश वाईफाई उपलब्ध गराउने घोषणा गरेको छ ।

प्रत्येक बेइकन १.१ का लागि दुई हजार ५०० रुपैयाँ डिपोजिट राख्नुपर्नेछ । त्यस बाहेक एक महिनाको प्याकेजमा चार हजार रुपैयाँ, तीन महिने प्याकेजमा तीन हजार रुपैयाँ र १२ महिनाका लागि दुई हजार रुपैयाँ रेन्टल चार्ज लाग्ने बताइएको छ । कम्पनीका अनुसार दुई भन्दा बढी बेइकन १.१ राउटरका लागि प्रति राउटरको मूल्य आठ हजार रुपैयाँ पर्नेछ । 

कहाँ कहाँ उपलब्ध छ ?

कम्पनीको यो सेवा हाललाई काठमाडौं उपत्यकामा केही स्थानमा मात्र उपलब्ध छ । जसमा बत्तिसपुतली, नयाँ बानेश्वर, ढुङ्गेधारा, गठ्ठाघर, सल्लाघारी, बालुवाटार र पेप्सीकोलाका ग्राहकले वर्ल्डलिङ्कको मेश वाई-फाई सेवा लिन सक्नेछन् ।

त्यस्तै कोटेश्वर, मीनभवन, सीतापाइला, ढोलाहिटी, कालिमाटी, बाँसबारी, कीर्तिपुर, सतुंगल, कलधारा, बौद्ध, बालाजु, इमाडोल, कपन र बनेपामा पनि यो सुविधा उपलब्ध रहेको छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५