close

अब आईफोन थर्टिन किन्ने कि आईफोन ट्वेल्भमै चित्त बुझाउने ?

टेकपाना टेकपाना

असोज १, २०७८ १४:३५

अब आईफोन थर्टिन किन्ने कि आईफोन ट्वेल्भमै चित्त बुझाउने ?

काठमाडौं । आईफोन ट्वेल्भ सार्वजनिक भएको एक वर्ष नबित्दै एप्पलले आईफोन थर्टिन सिरिज बजारमा ल्याएको छ । यसले गर्दा आईफोन थर्टिन किन्ने कि नकिन्ने भन्ने विषयमा धेरैजसो एप्पल प्रयोगकर्ता सोचमग्न छन् ।

यसमा ठ्याक्कै यही नै सही निर्णय हुन्छ भन्ने त छैन । यद्यपि फोन खरिद गर्दा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको आफ्नो बजेट र आवश्यकता हो । यही मङ्गलबार एप्पलले आईफोन थर्टिन सिरिजका फोनहरू सार्वजनिक गरेको छ ।

यद्यपि आईफोन ट्वेल्भ र आईफोन इलाभेन धेरै पुरानो नभइसकेका कारण यसका प्रयोगकर्ताहरूको लागि आईफोन थर्टिन आवश्यक विकल्प नहुन पनि सक्छ । यो भन्दा पुरानो अर्थात आईफोन एक्स एस र सो भन्दा पुरानो आईफोन प्रयोगकर्ताका लागि भने क्यामेरा लगायतका फिचरका कारण आईफोन थर्टिन एउटा राम्रो विकल्प हुनसक्छ ।

त्यस्तै आईफोन सिक्स एस सिरिजको फोनको लागि पनि सेप्टेम्बर २० मा आईओएस १५ को अपडेट आउँदैछ । तर यसले गर्दा फोन भने स्लो हुनसक्ने सम्भावना उत्तिकै छ । आईफोन थर्टिन भर्सेज आईफोन ट्वेल्भ र आईफोन ट्वेल्भ प्रो यदि तपाईं आईफोन ट्वेल्भ प्रयोग गरिरहनु भएको छ भने आईफोन ट्वेल्भ र आईफोन थर्टिनमा धेरै भिन्नता नभएका कारण फोन अपग्रेड गर्नु तपाईंका लागि आवश्यक नहुन सक्छ ।

यी दुवै फोनले फाइभजी सपोर्ट गर्छन् । दुवै फोनमा भाइब्रेन्ट ओलेडको ६.१ इन्चको स्क्रिन सहित फास्ट प्रोसेसर, उत्कृष्ट क्यामेरा र म्यागसेफ एक्सेसरिज सपोर्ट उपलब्ध छ । यद्यपि भिडियो शुटिङ फिचर र लामो समयसम्म टिकाउ ब्याट्रीको लागि भने तपाई आईफोन थर्टिन रोज्न सक्नुहुन्छ ।

आईफोन थर्टिन सिरिजका सबै फोनहरूमा भिडिओ शुटिङको लागि सिनेम्याटिक मोड नामक फिचर उपलब्ध गराइएको छ । जसले तपाईंको भिडिओलाई एउटा चलचित्र जत्तिकै उत्कृष्ट गुणस्तरको बनाउन मद्दत गर्छ । भिडिओ प्रोजेक्टहरूमा काम गर्ने प्रयोगकर्ताको लागि भने आईफोन थर्टिन नै राम्रो रोजाइ हुनसक्छ ।

त्यस्तै आईफोन थर्टिन र थर्टिन मिनिमा एप्पलले आईफोन ट्वेल्भ प्रो म्याक्सको सेन्सर सिफ्ट प्रविधि प्रयोग गरेको छ । जसले भिडिओ स्टेबलाइजेसनको पनि काम गर्छ । त्यस्तै एप्पलले ‘फोटोग्राफिक स्टाइल’ नामक अर्को नयाँ फिचर पनि ल्याएको छ ।

जसले कुनै पनि फिल्टर प्रयोग नगरी फोटोमा लाइट लगायत अन्य प्रिफरेन्सहरू मिलाउन सहयोग गर्छ । यस्तै प्रकारको उत्कृष्ट क्यामेरा फिचर  एप्पलले आईफोन थर्टिन प्रो र थर्टिन प्रो म्याक्समा पनि उपलब्ध गराएको छ ।

नयाँ आईफोनको क्यामेरामा भएको अर्को राम्रो फिचर भनेको ‘नाइट मोड’ हो । जसले ‘टेलिफोटो लेन्स’ सहित तीन ओटा रियर क्यामेरा लेन्स प्रयोग गर्छ । पुराना सिरिजका आईफोनमा भन्दा आईफोन थर्टिन सिरिजमा क्यामेरामा धेरै सुधार आएको छ ।

यता आईफोन ट्वेल्भमा पनि वाइड, १२ मेगापिक्सेलको अल्ट्रा वाइड डुअल क्यामेरा सिस्टम प्रयोग गरिएको छ भने आईफोन ट्वेल्भ प्रोमा १२ मेगापिक्सेलको तीन ओटा क्यामेरा सेटअपमा वाइड, अल्ट्रावाइड र टेलिफोटो क्यामेरा प्रयोग गरिएका छन् । यी बाहेक दुवै सिरिजका फोनहरूमा धेरैजसो क्यामेरा फिचर समान छन् ।

साथै आईफोन ट्वेल्भमा प्रयोग भएको ए १४ वायोनिक चिपको तुलनामा आईफोन ट्वेल्भमा प्रयोग भएको ए १५ वायोनिक प्रोसेसरले ब्याट्रीलाई लामो समयसम्म टिक्न सहयोग गर्छ । आईफोन ट्वेल्भको तुलनामा आईफोन थर्टिनको ब्याट्री साढे दुई घण्टा बढी टिक्छ भने आईफोन ट्वेल्भ मिनिको तुलनामा आईफोन थर्टिन मिनिको ब्याट्री साढे एक घण्टा बढी टिक्छ ।

त्यसैगरी आईफोन ट्वेल्भ प्रो भन्दा आईफोन थर्टिन प्रोको ब्याट्री डेढ घण्टा बढी टिक्छ भने आईफोन थर्टिन प्रो म्याक्स पनि सामान्यभन्दा डेढ घण्टा बढी टिकाउ छ । स्टोरेजको हिसाबले पनि आईफोन थर्टिनमा ६४ जीबीको साटो १२८ जीबी स्टोरेज उपलब्ध छ ।

त्यस्तै २५६ जीबी स्टोरेजको साटो ५१२ जीबी थप्न सकिन्छ । आईफोन थर्टिन प्रोले भने एक टीबीसम्मको स्टोरेज सपोर्ट गर्छ । यसैगरी आईफोन ट्वेल्भ प्रो म्याक्समा ५१२ जीबीसम्मको स्टोरेज मात्र प्रयोगमा आएको छ । यसर्थ यदि तपाईं सिनेम्याटिक भिडिओ र म्याक्रो शटका साथै लामो ब्याट्री चाहनुहुन्न भने हाल तपाईंको लागि आईफोन ट्वेल्भ नै उपयुक्त छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१