close

वर्षः दुई, अङ्कः अगणित

टेकपाना टेकपाना

असोज २, २०७८ ८:३९

वर्षः दुई, अङ्कः अगणित

जटिल मानिने प्रविधिलाई मौलिक तरिकाले बुझाउनु र मौलिक प्रविधिलाई एउटा आयतन दिनु, यो अठोटसहित तय गरेको यात्राले आज दुई वर्ष पुरा गरेको छ । समयको हिसाबले यात्राको लम्बाइ छोटो भएपनि पाठकको विश्वासले अगणित दूरी टेकपाना डटकमले पार गरिसकेको छ । यसका लागि टेकपानाको सधैँ केन्द्रमा रहनुभएका पाठकलाई हार्दिक आभार । परिस्थिति यस्तो बनेको छ कि, मान्छे प्रविधिबाट अलग रहन प्रयत्न गर्न सक्छ, तर पूर्ण इन्कार गर्न सक्दैन । जहाँ जहाँ मानिसको उपस्थिति छ, आज प्रविधि ठिक त्यहीँनेर हाजिर छ । प्रविधिको यही विशिष्ट विशेषताले यसको महत्व प्रमाणित छ । 

नेपालको हकमा पनि करिब त्यस्तै । खासगरी दूरसञ्चारको द्रुत फैलावटले नेपाल सञ्चार विकासको त्यो पङ्क्तिमा उभिएको छ, जहाँ विश्वका अब्बल देशहरूसँगै छन् । ब्रोडब्यान्ड इन्टरनेट विस्तारको रफ्तार यतिबेला फाइभजी परीक्षणको समीपमा आइपुगेको छ । तर हामीलाई थाहा छ, विकासको यो गतिमा कतै गुणस्तर पुगेको छैन, उपभोक्ताका गुनासा झन् बढेका छन्, सही प्रयोगको ज्ञानको अभावमा ठगिनुपर्नेसम्मको अवस्था बरकरार छ ।

गुणस्तर, गुनासा र गमको त्यही सेरोफेरोमा टेकपानाको पत्रकारिता अविचलित समर्पित छ । दोस्रो वर्ष पार गरेको यो उपलक्ष्यमा हामी फेरि पनि त्यही प्रण दोहोर्‍याउँछौँ ।  त्योभन्दा अझ बढी टेकपानाको पत्रकारिता सञ्चार तथा सूचना प्रविधिको भविष्यको दिशा पहिल्याउन नीतिगत व्यवस्थाको पैरवी गर्नेमा पनि केन्द्रित छ । प्रविधि अघि कि कानून भन्ने द्विविधा अन्त्य गर्न पनि हाम्रो प्रयास त्यतातिर सोझिएको हो । 

यहाँहरूलाई थाहा नै छ, विगत एक वर्षमा टेकपानाले लिखित समाचार बाहेक भिडिओ समाचारलाई पनि उत्तिकै महत्वका साथ प्रसारण गरेको छ । नियमित रुपमा हप्तामा दुई पटक प्रविधिसँग सम्बन्धित अपडेट (भिडिओ) प्रसारण गर्ने टेकपाना नेपालकै एकमात्र सञ्चार माध्यम हो । हाम्रा युट्युव दर्शकका लागि नियमित प्रविधिसँग सम्बन्धित ज्ञान, टिप्स यस वर्षभर सकेसम्म धेरै प्रसारण गर्ने प्रयत्न गरिरह्यौँ । पत्रकारिताको यो दौरान टेकपानाको समाचार प्रभावका कारण उपभोक्तालाई ठूलो राहत मिल्नेसम्मको अवस्था निर्माण भयो । आज दुई वर्ष पार गरेको अवसरमा हामीले पाठकका लागि ‘अटो टेक’ पनि सुरुवात गर्दैछौँ । छिट्टै अङ्ग्रेजी संस्करण पनि सार्वजनिक हुनेछ । 

दुई वर्षमा टेकपानाले हासिल गरेको सफलता केवल हाम्रो मेहेनतको परिणाम मात्र होइन । पाठकको विश्वास, शुभेच्छुकको शुभेच्छा, विज्ञापनदाताको साथ र हाम्रो गल्तीमा हामीलाई सच्याइरहने ती सयौँ म्यासेज र सुझावहरू नै हुन् । त्यसका लागि हामी अति कृतज्ञ छौँ । नेपालको सूचना तथा सञ्चार प्रविधिलाई सही दिशामा उभ्याइरहने हाम्रो प्रयास निरन्तर अनि निरन्तर रहनेछ । 

-गोपाल साउद 
सम्पादक      
 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१