close

एनसेललाई ‘उत्कृष्ट टेलिकम कम्पनी अवार्ड’, ४ वर्षमा डिजिटल सेवाप्रदायक बन्ने

टेकपाना टेकपाना

असोज १४, २०७८ ९:४

एनसेललाई ‘उत्कृष्ट टेलिकम कम्पनी अवार्ड’, ४ वर्षमा डिजिटल सेवाप्रदायक बन्ने

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले प्रतिष्ठित ‘ग्लोबल बिजनेस आउटलुक (जीबीओ) अवार्ड २०२१’ का दुई विधामा पुरस्कार जितेको छ । जीबीओ अवार्ड अन्तर्तग एनसेलले ‘सामाजिक उत्तरदायित्वको क्षेत्रमा उत्कृष्ट टेलिकम कम्पनी’ र नेतृत्व विधामा एनसेलका कार्यकारी प्रमुख एन्डी चोङले ‘टेलिकम सीईओ अफ दि इयर’ अवार्ड जितेका हुन् ।

लन्डनस्थित प्रकाशन गृह जीबीओले हरेक वर्ष विश्वभरका कम्पनीलाई उत्कृष्टताका आधारमा पुरस्कृत गर्दै आएको छ । यो अवार्ड बैंकिङ, वित्तीय, घरजग्गा, दूरसञ्चार, उड्डयन तथा अन्य विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने कम्पनी र नेतृत्वकर्तालाई दिने गरिन्छ ।

कम्पनीहरूको रचनात्मकता, नवीनता र उनीहरूले स्थानीय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याएको योगदानको कदर गर्दै यो अवार्ड दिइन्छ । साथै एनसेल ‘वर्ल्ड कम्युनिकेसन्स् अवार्ड २०२१’ का दुई छुट्टाछुट्टै विधा ‘सामाजिक योगदान अवार्ड’ र ‘आपतकालीन सक्रियता अवार्ड’का लागि पनि सूचीकृत भएको छ ।

यो पुरस्कार घोषणा आगामी अक्टोबर २६ र २७ मा लन्डनमा हुने टोटल टेलिकम कंग्रेस कार्यक्रममाझ गरिनेछ । त्यस्तै, ‘ग्लोबल क्यारियर अवार्ड (जीसीए) २०२१’ अन्तर्गत वैदेशिक रोजगारीमा गएका मानिसहरूका लागि ल्याएको योजनाका लागि पनि एनसेल ‘सामाजिक सञ्जाल अभियानमा उत्कृष्ट’ अवार्डमा पनि सूचीकृत भएको छ ।

यो पुरस्कार विजेताको घोषणा अक्टोबर २० मा लन्डनमै आयोजना हुने जीसीएको कार्यक्रममा हुनेछ । एनसेलका कार्यकारी प्रमुख एन्डी चोङले एक जिम्मेवार कर्पोरेट नागरिकको रूपमा सामाजिक अग्रसरता अन्तर्गत आफूहरूले समुदायहरूमा पुर्‍याएको महत्त्वपूर्ण योगदानको कदरस्वरूप यो अवार्ड पाएकोमा खुशी व्यक्त गरे ।

‘शिक्षा, स्वास्थ्य र वातावरणजस्ता क्षेत्रलाई प्राथमिकतामा राख्दै देशको विकास र दिगो विकास लक्ष्य हासिल गर्नका लागि योगदान पुर्‍याउन हामीले विभिन्न सामाजिक परियोजनामा एक अर्ब ४० करोड रुपैयाँभन्दा बढी लगानी गरिसकेका छौँ,’ उनले भने ।

सामाजिक उत्तरदायित्वको विषयमा उनले अगाडि भने, ‘हाम्रा सबै सफलता र उपलब्धिहरू हामीले बनाएको बलियो जगका कारण सम्भव भएको हो र म यसको सम्पूर्ण श्रेय एनसेलका कर्मचारीहरूलाई दिन्छु । उहाँहरूको कडा मेहनत र प्रतिबद्धताका लागि हार्दिक धन्यवाद दिन चाहन्छु ।’

दूरसञ्चार, आईटी तथा टेक्नोलोजी र इलेक्ट्रोनिक्स जस्ता विभिन्न क्षेत्रहरूमा ३० वर्षभन्दा बढी व्यवस्थापन र सञ्चालन क्षेत्रको अनुभव बटुलेका चोङ एक दुरदर्शी तथा रणनीतिक नेतृत्वकर्ता हुन् । उनको नेतृत्वमा डिजिटलाइजेसन एनसेलको प्रमुख प्राथमिकता रहँदै आएको छ ।

कम्पनीले सन् २०२५ सम्ममा डिजिटल सेवाप्रदायक कम्पनीको रूपमा स्थापित हुने लक्ष्यका साथ काम गरिरहेको छ । ग्राहकमाझ उच्चस्तरीय तथा नवीन सेवा ल्याउने प्रतिबद्धताअनुरुप चोङले कम्पनीलाई भीओएलटीईमा सक्षम बनाएका छन् ।

साथै उच्च गुणस्तरीय, आधुनिक र सुलभ दरमा ग्राहकलाई सेवा सुनिश्चित गर्न ९०० मेगाहर्ज ब्यान्डमा फोरजी सेवाको कभरेज अझै फराकिलो र इन्डोर कभरेजमा पनि थप सुधार गरिएको कम्पनीले जनाएको छ । चोङले एनसेलका कर्मचारीको क्षमता अभिवृद्धि तथा विकासलाई पनि प्राथमिकतामा राख्दै आएको बताएका छन् ।

यसका लागि उनले आजियाटा ग्रुपसँगको समन्वयमा कर्मचारीको कुशलतामा निखार ल्याउन व्यवस्थित र बृहत् कार्यक्रमहरूमा जोड दिने गरेका छन् । सन् २००८ मा आजियाटा ग्रुपमा आबद्ध भएका चोङले सन् २०१४ सम्म सिनियर भाइस प्रेसिडेन्ट एन्ड हेड अफ ग्रुप मार्केटिङ एन्ड अपरेसन्सका रूपमा काम गरेका थिए ।

सन् २०१६ मा उनी अन्तरिम चिफ कमर्सियल अफिसर र २०१८ मा चिफ कमर्सियल अफिसरको रूपमा एनसेलमा आबद्ध भएका हुन् । उनले २०१९ नोभेम्बरदेखि सीईओ तथा प्रबन्ध निर्देशकको भूमिकामा निभाउँदै आएका छन् । चोङले मोनास युनिभर्सिटी अस्ट्रेलियाबाट जेनरल म्यानेजमेन्टमा एमबीए र इलेक्ट्रोनिक र कम्प्युटर सिस्टममा स्नातक गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१