close

प्रविधिका हस्ती कम्पनीले गर्दैछन् एकपछि अर्को लञ्च इभेन्ट, नयाँ के के आउलान् ?

टेकपाना टेकपाना

असोज ३१, २०७८ १४:३२

प्रविधिका हस्ती कम्पनीले गर्दैछन् एकपछि अर्को लञ्च इभेन्ट, नयाँ के के आउलान् ?

काठमाडौं । अक्टोबर महिनाको आधा समय सकिसकेको छ । अबको आउने दुई हप्तामा प्रविधिका ठूला(ठूला कम्पनीहरू आफ्नो ग्राहकका लागि नयाँ नयाँ उत्पादनहरू लिएर आउँदैछन् । यो महिनामा हुने टेक इभेन्टहरूको लहर भोलि अर्थात सोमबारदेखि सुरु हुँदैछ ।

सोमबार एप्पलले आफ्नो लोकप्रिय कार्यक्रम ‘एप्पल इभेन्ट’ आयोजना गर्दैछ । यस इभेन्टमार्फत कम्पनीले आफ्नै एप्पल सिलिकन चिप्समा आधारित म्याक कम्प्युटर सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

इभेन्टमा १४ र १६ इन्चको म्याकबुक प्रो, एयरपडस् थ्री, म्याक मिनी लगायतका उत्पादनहरू पनि सार्वजनिक हुने चर्चा छ । गत महिनामात्र कम्पनीले आईफोन १३ सिरिज सार्वजनिक गरेको थियो । 

त्यसैगरी अक्टोबर १९ अर्थात मंगलबार गुगलले आफ्नो बहुप्रतिक्षित पिक्सेल ६ सिरिजका स्मार्टफोन सार्वजनिक गर्ने घोषणा गरेको छ । सार्वजनिक हुनुभन्दा अगाडि नै यो फोनका फिचरबारे निकै नै चर्चा भइरहेको छ ।

फाइभजी प्रविधिमा आधारित यो फोनमा पुरानो सिरिजभन्दा खासै फरक फिचर हुने अनुमान नगरिए पनि यसको क्यामेरा भने पहिलेभन्दा धेरै नै अपग्रेड हुने अनुमान चर्चा छ । ९० हर्जको रिफ्रेस रेटसहित ६.४ इन्चको डिस्प्ले रहने यो फोनमा ५० मेगापिक्सेलको मेन क्यामेरा उपलब्ध हुनेछ ।

अक्टोबर २० अर्थात कार्तिक ३ गते सामसङको ग्यालेक्सी अनप्याक्ड पार्ट २ इभेन्ट हुँदैछ । जारी कोरोना महामारीबीचमा भर्चुअल माध्यमबाट आयोजना हुन गइरहेको यो इभेन्टमा मिड रेन्जका नयाँ स्मार्टफोनहरू सार्वजनिक हुने अनुमान गरिएको छ ।

यो इभेन्ट सामसङको यस वर्षको चौंथौ अनप्याक्ड इभेन्ट हुनेछ । योसँगै अक्टोबर २१ अर्थात् कात्तिक ३ गते चिनियाँ मोबाइल कम्पनी ह्वावेको नोभा सिरिजका स्मार्टफोनहरू सार्वजनिक हुँदैछ । यस दिनमा कम्पनीले ह्वावे नोभा ९, नोभा ९ प्रो लगायत अन्य स्मार्टफोनहरू सार्वजनिक गर्ने अनुमान गरिएको छ ।

अक्टोबर २६ मा भने सोनी एक्सपेरियाको स्मार्टफोन सार्वजनिक हुँदैछ । हुन त कम्पनीले आधिकारिक रुपमा यस इभेन्टमा के सार्वजनिक हुँदैछ भनेर नबताए पनि सोनी एक्सपेरियाको नयाँ स्मार्टफोन नै सार्वजनिक हुने अनुमान गरिएको छ ।

त्यस्तै सोही दिन सामसङले ‘सामसङ डेभलपर कन्फ्रेन्स २०२१’ पनि आयोजना गर्ने भएको छ । 

अक्टोबर १८ – एप्पल इभेन्ट 

अक्टोबर १९ – गुगल पिक्सेल६ सिरिजका स्मार्टफोन सार्वजनिक 

अक्टोबर २० – सामसङ ग्यालेक्सी अनप्याक्ड इभेन्ट पार्ट २ 

अक्टोबर २१ – ह्वावे नोभा सिरिज स्मार्टफोन सार्वजनिक 

अक्टोबर २६ – सोनी एक्सपेरिया स्मार्टफोन सार्वजनिक 

अक्टोबर २६ – सामसङ डेभलपर कन्फ्रेन्स २०२१  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२