close

मोबाइल बैंकिङमार्फत् एक महिनामै ३० अर्ब २८ करोडको कारोबार

टेकपाना टेकपाना

पुस २९, २०७७ १६:५९

मोबाइल बैंकिङमार्फत् एक महिनामै ३० अर्ब २८ करोडको कारोबार

काठमाडौं । नेपालमा पछिल्लाे समय अनलाइनबाट हुने कारोबारमा उल्लेख्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मंसिर महिनाको तथ्याङ्कअनुसार मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङको प्रयोगकर्ता गत महिनाको तुलनामा झण्डै ५ अर्बले वृद्धि भएकाे छ ।

राष्ट्र बैंकले जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार २०७७ कात्तिकमा ७६ लाख ४३ हजार २ सय ९६ पटक मोबाइल बैंकिङ सेवा प्रयोग भएको थियो ।

उक्त संख्यामा वृद्धि हुँदै मंसिरमा ८३ लाख ८६ हजार ४ सय ७० पटक कारोबार भएको छ । जुन कात्तिक महिनाकाे तुलनामा ७ लाख ४३ हजार १ सय ७४ बढी हो ।

यस्तै कारोबार रकम पनि ठूलो मात्रा बढेको छ । कात्तिक महिनामा मोबाइल बैंकिङमार्फत कुल २५ अर्ब ६५ करोड ४ लाख रुपैयाँको कारोबार भएकोमा मंसिर महिनामा ३० अर्ब २८ करोड ७ लाख कारोबार भएको छ ।

त्यस्तै इन्टरनेट बैंकिङमार्फत हुने कारोबार तथा प्रयोग पनि बढेको छ । कात्तिकमा २ लाख २१ हजार ४०५ पटक इन्टरनेटबाट बैंकिङ कारोबार भएको थियो । तर, मंसिरमा सो संख्या बढेर २ लाख ४५ हजार २ सय ८६ पुगेको छ । त्यस्तै कारोबार रकमसमेत वृद्धि भएको छ ।

कात्तिकमा इन्टरनेट बैंकिङमार्फत ५ अर्ब ४३ करोड ६० लाख रुपैयाँको कारोबार भएकोमा कात्तिकमा भने ७ अर्ब २० करोड ६० लाख रुपैयाँ कारोबार भएको छ ।

अर्कोतर्फ क्यूआरमार्फत हुने कारोबारमा पनि उल्लेख्य वृद्धि भएको तथ्याङ्कले देखाएको छ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार मंसिरमा क्यूआरमार्फत कुल ३ लाख ४३ हजार ५७४ पटक कारोबार भएको छ । जुन, अघिल्लो महिनाको तुलनामा बढी एक लाख भन्दा बढी पटक कारोबार भएको देखिन्छ ।

कात्तिकमा क्यूआरमार्फत कुल २ लाख ४१ हजार ८१८ पटक कारोबार भएको थियो । कारोबार संख्यासँगै कारोबार रकममा ठूलो मात्राले वृद्धि भएको छ ।

कात्तिक महिनामा क्यूआरमार्फत ९३ करोड ९० लाख रुपैयाँको कारोबार भएकोमा मंसिरमा बढेर १ अर्ब २५ करोड ६० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

तर, अनलाइनबाट खरिद गर्ने क्रम भने घटेको छ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार मंसिरमा कुल १ लाख ८ हजार ४ सय ५९ पटक अनलाइन सामान खरिदका लागि भुक्तानी भएको छ ।

जुन अघिल्लो महिनाको तुलनामा झन्डै ४ हजारभन्दा कम हो । किनभने कात्तिकमा कुल १ लाख १२ हजार ७ सय ६ पटक भुक्तानी भएको थियो ।

कारोबार संख्यासँगै कारोबार रकम पनि घटेको छ । कात्तिक महिनामा ८२ करोडभन्दा बढीको कारोबार भएकोमा मंसिरमा घटेर जम्मा ७६ करोड ३० लाखमात्रै काराेबार भएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१