close

डिजिटल नेपाल निर्माणको आधार ‘नागरिक एप’

टेकपाना टेकपाना

माघ ४, २०७७ १६:३९

डिजिटल नेपाल निर्माणको आधार ‘नागरिक एप’

बिशाल महत/-
नागरिक एप डिजिटल नेपाल निर्माणको आधार हो । नेपाल सरकारले जारी गरेको डिजिटल नेपाल फ्रेमवर्कको सपना साकार गर्न यो एपले मद्दत गरेको छ । नेपाल सरकारको २०७५/०७६ को सरकारी नीति तथा कार्यक्रमले परिकल्पना गरेको नागरिक एप एक डिजिटल नेपालको एउटा महत्वपूर्ण आधार हो ।

सुशासन, विकास र समृद्धि प्राप्तिका लागि सरकारले डिजिटल नेपालको दुरदृष्टि राखेको छ । नागरिक एप नेपाल सरकारले प्रदान गर्ने सरकारी सेवाहरुलाई सम्भव भएसम्म एउटै एप बाट सेवा प्रवाह गर्ने माध्यम हो । छुट्टाछुट्टै रुपबाट प्रदान गरिँदै आएका सेवाहरुलाई एउटै एपको माध्यमबाट सेवा प्रवाह गर्ने मुख्य उद्देश्य यस एपले बोकेको छ ।

यस एपले सरकारले भनेजस्तै जनतालाई हातहातमै सरकारी सेवा दिनेछ । नेपाल सरकारले ‘लाइन होइन, अनलाइनबाट चाैबिसै घन्टा सरल, सहज र प्रभावकारी सरकारी सेवाका लागि नागरिक एप’ भन्ने नाराका साथ सुरु गरेको यस एपको प्रयोगले सेवा प्राप्तिको लागि सेवाग्राहीको भौतिक उपथितिलाई हटाई अनलाइन सेवा प्रदान गर्ने छ ।

साथै यस एपको प्रयोगले नेपाल सरकार तथा सम्मानीय प्रधानमन्त्रीले घोषणा गर्नुभएको पेपरलेस सरकारी कार्यलय बनाउने उद्देश्य पुरा हुने भएको छ ।

अहिले वेटा भर्सनमा ९ ओटा सेवासहित सुरु गरी ४० भन्दा बढी सेवा प्रदान गर्ने गरी बनाइएको यस एपले अब नागरिकहरुलाई सरकारी सेवा लिनको लागि विभिन्न आवश्यक कागजपत्र बोकेर कार्यालय रहेको स्थानसम्म जानुपर्ने बाध्यताको लगभग अन्त्य हुने छ ।

हामीले यातायात, लोकसेवा, राजश्व, प्रशासन जस्ता अन्य थुप्रै सरकारी कार्यलयहरुमा भोग्दै आएको झन्झट, कठिनाईको अन्त्य हुने छ । त्यसको लागि नागरिकहरुसँग स्मार्टफोन र इन्टरनेटको व्यवस्था भने हुनुपर्ने छ ।

यस एपको प्रयोग पश्चात नागरिकहरुले नागरिकता, राहदानी, कम्पनी दर्ता, शैक्षिक प्रमाणपत्र जस्ता कागजातहरु सधै साथमा बोकेर हिँड्नुपर्ने अवस्थाको अन्त्य हुने भएको छ । उदाहरणको लागि नागरिकता नम्बर राखेकै भरमा एपबाट स्थायी लेखा नम्बर (प्यान) प्राप्त गर्ने प्रक्रिया सुरु गर्न सकिने भएको छ ।

यस एपको प्रयोगले नागरिकहरुको समय बचत हुनेछ, झन्झट हट्नेछ, खर्च जोगिनेछ साथै पारदर्शिता बढ्ने छ । यस एपलाई प्रयोगमा ल्याए पनि नेपाल सरकारले नागरिकहरुको लागि केही कुराहरुको सुविधा भने प्रदान गर्नुपर्ने छ ।

नागरिकहरुलाई सर्वसुलभ रुपमा इन्टरनेटको सुविधा प्रदान गर्नुपर्ने छ । नेपाल टेलिकमले फाेरजी इन्टरनेट विस्तार गरेपनि गाँउ गाँउमा अझै पनि इन्टरनेट राम्रोसँग चल्दैन । साथै हाल रहेको इन्टरनेटको मूल्य निम्न वर्गीय परिवारको लागि महङ्गो रहेको छ ।

त्यस कारण सबै ठाउँमा फास्ट र सुलभ मूल्यको इन्टरनेट प्रदान गर्नुपर्ने देखिन्छ । हामी नागरिकहरुले यातायात लगायत विभिन्न सरकारी कार्यलयको एप तथा वेबसाइटकाे काम गर्दा सर्भरले लोड थेग्न नसक्ने, सर्भर स्लाे हुने लगायतका समस्याहरु भोग्नुपरेको तितो यर्थाथ हामीसामु रहेको हुँदा यस एपको सर्भर त्यसै अनुसारको उच्च क्षमताको राख्नुपर्ने हुन्छ ।

बीचबीचमा नचल्ने समस्या नागरिकहरुले भोग्नु नपरोस् भन्ने गरी यो एपको क्षमता विकास गर्नु पर्दछ । नागरिक एपलाई एउटा राम्रो सुरुवात मान्नुपर्छ ।

यसमा पक्कै पनि कमजोरी छन् । प्रविधि आफैंमा सर्वगुण सम्पन्न हुँदैन । यसमा हरेक समय कमजोरी र जोखिम हुन्छन् । यो पाटोलाई चुस्त रुपमा व्यवस्थापन गर्नतिर अग्रसर हुनैपर्छ ।

(लेखक सूचना र सञ्चार प्रविधि समाज (एसआईसीटी) नेपालका उपाध्यक्ष हुन् ।)

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१