close

अनलाइनमा अश्लील सामग्री पठाउँदै हुनुहुन्छ ? होसियार !

टेकपाना टेकपाना

माघ ७, २०७७ १३:१६

अनलाइनमा अश्लील सामग्री पठाउँदै हुनुहुन्छ ? होसियार !

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालको सहज उपलब्धतासँगै विकृतिजन्य गतिविधिहरु पनि बढ्न थालेका छन् । हालै महिलालाई अश्लील भिडियो, फोटो तथा सन्देश पठाई यौन उत्पीडन दिने एक जना पक्राउ परेका छन् ।

सल्यान साविक कालागाउँ गाविस वडा नम्बर २ बाल्ले घर भई कुमख गाउँपालिका वर्ड नम्बर ४ बस्दै आइरहेका ३६ वर्षीय रमेश शाही भनिने रवि शाहीले फेसबुकमै साथी रहेकी २० वर्षीया युवतीलाई अश्लील सामग्री पठाउने गरेका थिए ।

यस्तो हैरानी भोगेकी पीडित महिलाले उनी विरुद्ध उजुरी गरेपछि केही समयमै प्रहरी कठघरामा शाही परे । जानेर वा नजानेर यस्ता काममा आबद्ध भएको छ भने विद्युतीय कारोबार ऐन अन्तर्गत सजायको भागिदार बन्नुपर्ने व्यवस्था छ ।

सामाजिक सञ्जालमा अशोभनीय, अमर्यादित, दुराचारयुक्त, यौनजन्य तथा अश्लील तस्वीर, श्रव्यदृष्य, वार्तालाप, लेखन लगायतका सामग्री प्रकाशन, प्रसारण गर्नु विद्युतीय कारोबार ऐन, २०६३ लगायतका प्रचलित कानूनहरु विपरीत भएको प्रहरीले जनाएको छ।

ब्यूरोका अनुसार अपराध गर्ने व्यक्तिलाई कानूनी दायरामा ल्याई पीडितलाई न्याय दिलाउने सन्दर्भमा घटनाको जानकारी एवं सूचना सम्बन्धित निकायसम्म पुर्‍याउने क्रममा असल नियत हुँदाहुँदै पनि सही निकाय र माध्यमको छनौट नहुँदा पीडित अझ पीडित हुने अवस्था बढेकाे छ।

त्यसैले त्यस्ता कार्य भए गरेको पाइएमा नजिकको प्रहरी कार्यालय वा प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोको टेलिफोन नं. ०१–४२१९०४४, ४२१९०४८, मोबाइल नं. ९८५१२८६७७० वा ईमेल ठेगाना [email protected] मा सूचना दिन आग्रह गरिएको छ।

ईमेलबाट कसरी उजुरी दिने ?

  • ईमेलमार्फत ब्युरोमा उजुरी गर्न सुरुमा यहाँ क्लिक गर्नुहोस् ।
  • प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोलाई सम्बोधन गर्दै निवेदन लेख्नुहोस् र आफ्नो नाम तथा सम्पर्क नम्बर राखेर हस्ताक्षर गर्नुहोस् ।
  •  यहाँ  गएर निवेदनको नमूना डाउनलोड गरेर आवश्यक विवरणहरु भर्न पनि सक्नुहुन्छ । अंग्रेजीमा निवेदनको नमूना आवश्यक भए यहाँ क्लिक गर्नुहोस् । 
  • साथमा आफ्नो नागरिकता तथा सवारी चालक अनुमति पत्र वा अन्य परिचय खुल्ने सरकारी परिचय पत्रको दुवै पट्टीको फोटोकपी अट्याच गर्नुहोस् । 
  •  प्रमाणको रुपमा उजुरीसँग सम्बन्धित स्क्रीनसट तथा लिंकहरु समावेश गर्नुहोस् ।
  • यति गरेपछि सेन्ड बटन थिचेर साइबर ब्युरोलाई ईमेलमार्फत उजुरी टिपाउन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३