तीन महिनापछि सार्वजनिक कार्यक्रममा झुल्किए ज्याक मा टेकपाना बुधबार, माघ ७, २०७७ १५:४७ काठमाडौं । चिनियाँ अर्बपति तथ ईकमर्स जायन्ट अलिबाबाका संस्थापक ज्याक मा तीन महिनापछि सार्वजनिक कार्यक्रममा देखिएका छन् । विगत तीन महिनादेखि सार्वजनिक रूपमा नदेखिएपछि विभिन्न अड्कलबाजी चलिरहेको बेला बुधबार उनी एउटा भिडिओ कन्फ्रेन्समा देखिएका हुन् । उनी गत अक्टोबरदेखि सार्वजनिक भएका थिएनन् । जसले गर्दा उनलाई चिनियाँ सरकारले नै बेपत्ता पारेको हुन सक्ने आशंका समेत गरिएको थियो । उनले चिनियाँ कम्युनिष्ट पार्टीको सरकारका अधिकारीहरूको आलोचना गरेका थिए । जसले गर्दा उनको कम्पनी आन्ट ग्रुपले जारी गर्न लागेको संसारकै ठूलो आईपीओ समेत रोकिएको थियो । यसैले पनि चिनियाँ सरकारले नै बेपत्ता पारेको हुन सक्ने आँकलन गरिएको थियो । तर, उनले बुधबार आफ्नै संस्था ज्याक मा फाउन्डेसनले गर्दै आएको रूरल टिचर्स अवार्ड कार्यक्रममा भर्चुअल रुपमा सहभागिता जनाएका हुन् ।