close

अनलाइन पेमेन्टका लागि अब जुनसुकै सेवा प्रदायकको क्यूआर कोड प्रयोग गर्न सकिने

टेकपाना टेकपाना

माघ १५, २०७७ १५:१

अनलाइन पेमेन्टका लागि अब जुनसुकै सेवा प्रदायकको क्यूआर कोड प्रयोग गर्न सकिने

काठमाडौं । अब जुनसुकै सेवा प्रदायकका ग्राहकले जुनसुकै कम्पनीको क्यूआरमा स्क्यान गरी भुक्तानी गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले क्यूआर कोडमा आधारित भुक्तानी प्रणालीलाई नियमन गर्न क्विक रेस्पोन्स (क्यूआर) कोड मस्यौदा तयार पारेको छ ।

क्यूआर कोड भुक्तानीलाई थप प्रभावकारी बनाई प्रवर्द्धन तथा नियमन गर्ने उद्देश्यका साथ क्यूआर कोडको फ्रेमवर्क तथा गाइडलाइनको मस्यौदा तयार गरेको जनाएको छ । उक्त मस्यौदामा सेवा प्रदायकले कुनै पनि ग्राहकले क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्ने व्यवस्था मिलाउनुपर्ने प्रावधान राखिएको छ ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कंडेलका अनुसार अन्तरआवद्धताको उद्देश्य ग्राहकको सहजता हो ।

‘हाल कुनै एउटा सेवा प्रदायकले राखेको क्यूआरमा अर्को सेवा प्रदायकबाट भुक्तानी गर्न सकिँदैन,’ उनले भने, ‘तर, नयाँ प्रावधानमा कुनै पनि सेवा प्रदायकको ग्राहकले कुनै पनि कम्पनीले राखेको क्यूआरमा स्क्यान गरी भुक्तानी गर्न सकिने व्यवस्था ल्याइनेछ ।’

हाल क्यूआर कोडको फ्रेमवर्क तथा गाइडलाइन मस्यौदामात्रै भएकाे र यसमा आएको सुझावका आधारमा परिमार्जन हुने भएकाले यो नै अन्तिम निर्णय भने हाेइन ।

उनले भने, ‘यदि यही प्रावधान लागू भएको खण्डमा अहिलेका अनुमति प्राप्त वालेटले क्यूआरमा आधारित भुक्तानीलाई नेपालकाे क्यूआर मापदण्डअनुसार तत्कालै अन्तरसञ्जाल सञ्चालन हुनेछ । त्यो हुँदा जुनसुकै माध्यमबाट पनि भुक्तानी गर्न मिल्नेछ ।’

यसका साथै क्यूआर कोडको फ्रेमवर्क तथा गाइडलाइनको मस्यौदाअनुसार अनुमति पाएका पेमेन्ट सर्भिस अपरेटरले मात्र क्यूआर स्किम तथा नेटवर्क सञ्चालन गर्न पाउने उल्लेख गरिएको छ । त्यस्तै क्यूआर प्रयोग, मर्चेन्टको नियुक्ति र जारी गर्न अनुमति प्राप्त वित्तीय संस्था तथा वालेट कम्पनीले मात्र पाउने प्रावधान राखिएको छ ।

त्यस्तै क्यूआर भुक्तानीमा ग्राहकसँग कुनै शुल्क लिन नपाइने व्यवस्था गरिएको छ । भने, यसलाई कडाइका साथ लागू गर्नुपर्ने मस्यौदामा उल्लेख छ । उक्त मस्यौदाले क्यूआर एपको सुरक्षा, सेक्युरिटी अडिट, नेटवर्कमा भएका संस्थाहरुबीचको सेटलमेन्ट, ग्राहकहरुको गुनासो सुन्नसक्ने व्यवस्था, क्यूआरको लोगो तथा ब्राण्डिङ लगायतका विषयहरु राखिएको छ ।

राष्ट्र बैंकले हाल जारी गरेको मस्यौदा अध्ययन गरी माघ ३० गतेभित्र सुझाव सल्लाह दिन समेत आग्रह गरेको छ ।

यस्ताे छ मस्याैदा

QR-Code-Guidelines-and-Framework-and-Specifications

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४