close

नेटवर्किङ व्यवसायमा यसरी बुझ्नुहाेस् मल्टी-लेभल मार्केटिङ र पिरामिड स्किम

टेकपाना टेकपाना

माघ १८, २०७७ १५:३१

नेटवर्किङ व्यवसायमा यसरी बुझ्नुहाेस् मल्टी-लेभल मार्केटिङ र पिरामिड स्किम

काठमाडौं । नेपाल लगायत विभिन्न मुलुकहरुमा नेटवर्किङ व्यवसायलाई गैरकानुनी मानिन्छ । तर प्रत्यक्ष बिक्री व्यवस्थापन तथा नियमन विधेयक २०७४ लाई संसदमा पेश गरेर सरकारले यो व्यवसायलाई ब्यूँताउन घुमारो कानुनी बाटोको प्रयोग गरेको छ । 

यसैबीच नेटवर्किङ व्यवसाय प्रतिबन्धित अवस्थामै रहे पनि वैधानिक रहेको मल्टी लेभल मार्केटिङ अर्थात् एमएलएमको माध्यमबाट विभिन्न व्यक्ति तथा संस्थाहरु अझै पनि पिरामिड शैलीको नेटवर्किङ व्यवसायलाई अगाडि बढाइरहेका छन् । 

आज हामी तपाईंलाई एमएलएमको स्वरुपमा पिरामिड शैलीको नेटवर्किङ धन्दा कसरी हुन्छ भन्ने विषयमा सामान्य रुपमा बुझ्ने तरिकाले बताउने छौं । 

आज विश्वमा धेरै मानिसहरु एमएलएम स्किमको चक्करमा ठगिएका छन् । आज हामी तपाईंहरुलाई यस स्किमले कसरी काम गर्छ भन्ने बारेमा बताउने छौं । 

वास्तवमा यो एक किसिमको नेटवर्क मार्केटिङ स्किम हो । एमएलएमलाई मल्टी लेभल मार्केटिङ वा रेफ्रल मार्केटिङ तथा नेटवर्क मार्केटिङ लगायतका विभिन्न नामले चिनिन्छ । पिरामिड स्किम पनि एक किसिमको नेटवर्क मार्केटिङ स्किम नै हो । तर यी दुईबीच थोरै फरक छ ।  

एमएलएम वास्तवमा एउटा मार्केटिङ विधि हो, जसलाई कुनै कुनै कम्पनीहरुले प्रयोग गर्दछन् । एमएलएमलाई बुझ्न तपाईंले सबैभन्दा पहिले एउटा सामान्य कम्पनीको फ्लो चार्टलाई बुझ्नुपर्ने हुन्छ ।

एउटा सामान्य कम्पनीमा वस्तु निर्माणकर्ता कम्पनी हुन्छ, उसको मातहतमा खुद्रा तथा होलसेल वितरक अनि अन्त्यमा वस्तु तथा सेवा खरिद गर्ने सेवाग्राही हुन्छन् ।

तर फ्रड एमएलएम कम्पनीहरुमा बिक्रेता माथि, त्यसपछि वितरक नै उपभोक्ता र उभोक्ता नै वितरक हुन्छन् । यस्ता फ्रड एमएलएम कम्पनीहरुले सेवाग्राहीलाई तिमी सेवाग्राही होइन, वितरक हो भनेर झुक्याउँछ । तर अन्त्यमा वास्तविकता भनेको त्यही वितरक नै सेवाग्राही हुन्छन् । 

एउटा सामान्य कम्पनी सधैं आफ्नो वस्तु तथा सेवालाई उत्कृष्ट बनाउनमा केन्द्रित हुन्छ।  ताकि उसको सेवाको उपभोगिता बढेर जान सकोस् । तर एउटा एमएलएम कम्पनी सधै मान्छेलाई जोडेर सञ्जाल वृद्धि गर्नेमा केन्द्रित रहन्छ ।

उसले हरेक व्यक्तिलाई आफ्नो नेटवर्कमा आएर जोडिन आह्वान गर्छ र सट्टामा उसले कमिसन पाउने अभिलासा दिन्छ । 

एमएलएममा कम्पनीले आफ्ना डिस्ट्रीब्यूटरलाई थप अरु मान्छेहरु जोड्दै जान आह्वान गर्छ र उनीहरुलाई पनि कमिसन दिने आश्वासन दिन्छ ।

एमएलएम अन्तर्गत कम्पनीहरुले जति मान्छे जोड्दै जान्छ त्यति नै उनीहरुको सञ्जाल बढ्दै जान्छ । यसरी एकजनाबाट सुरु भएर पछि धेरैजनामा यो फैलिने हुँदा यसको आकार एउटा पिरामिडको जस्तो देखिन्छ ।

कम्पनीको बोस अन्तर्गत केही डिस्ट्रीब्यूटर हुन्छन्, उनीहरुअन्तर्गत अझ धेरै नेटवर्किङ व्यवसायी जाेडिएका हुन्छन् । यसरी यो सञ्जाल बढेर जान्छ ।

यस्तो बेला तपाईंलाई लाग्न सक्छ, उनीहरुको वस्तुको अन्तिम उपभोक्ता को हुन् ? उनीहरुले के वस्तु तथा सेवा बेचिरहेका छन् ? साथै एउटा एमएलएम कम्पनीले यति धेरै वितरक संकलन गरेर के फाइदा कमाउँछ भन्ने प्रश्न पनि तपाईंको मनमा उठ्नु स्वभाविक हो । 

पैसा कमाउन एमएलएम कम्पनीको रणनीति 

एमएलएम कम्पनीहरुले तपाईंलाई वितरक बनाउनुअघि केही पैसा लगानी गर्नुपर्न शर्त राख्छ । त्यसो त सबै एमएलएम कम्पनीहरुले आफ्ना सेवाग्राहीलाई पहिले नै पैसा लगानी गर्न भन्दैन । कतिले आफ्नो स्टार्टर प्याक वा कुनै प्रडक्ट खरिद गर्न भन्छ ।

यति गरिसकेपछि तपाईं वितरक बनेर कमिसन कमाउन सक्नुहुन्छ भन्दछ । यसरी एमएलएमले आफ्ना वितरकलाई नै सेवाग्राही बनाउँछ । 

यस्ता एमएलएम कम्पनीहरुले न त आफ्नो कम्पनीको मार्केटिङ तथा एडका लागि खर्च गर्नुपर्छ, न त प्रडक्टलाई राम्रो बनाउनु नै पर्छ । उनीहरुले धेरैभन्दा धेरै व्यक्तिहरुलाई आफ्नो कम्पनीमा जोड्नुपर्ने हुन्छ । 

पिरामिड स्किम र एमएलएमबीचको फरक 

पिरामिड स्किम र एमएलएमबीचमा खासै ठूलो फरक हुँदैन । यी दुवैले उस्तै गरी काम गर्ने हो । तर पिरामिडमा कुनै प्रडक्ट हुँदैन ।

यसमा सिधै सेवाग्राहीलाई लगानी गर्न र थप अन्य व्यक्तिहरुलाई पनि स्किममा जोड्दै उनीहरुबाट आउने लगानीको निश्चित कमिसन दिने बताइन्छ । तर लगानीको अधिकांश पैसा भने कम्पनीको माथिल्लो तहमा बसेको व्यक्तिले प्राप्त गर्दछ । 

उदाहरणका लागि पिरामिड स्किममा एकजना व्यक्तिलाई कम्पनीले दश हजार लगानी गर्न भन्दछ । त्यसपछि त्यस व्यक्तिले अरु तीनजना खोज्नुपर्ने हुन्छ र उनीहरुबाट आउने लगानीको दश-दश प्रतिशत कमिसन दिने कम्पनीले बाचा गर्दछ ।

यसरी ती तीन जनाले बनाएको नेटवर्कबाट दुई-दुई प्रतिशत दिने पनि बाचा गर्दछ । यसरी हेर्दा स्किम बिना कुनै मेहेनत पैसा कमाउनलाई निकै आकर्षक र सजिलो लाग्छ । यसरी व्यक्ति रातारात धनी हुन्छ । 

जब तपाई यो पिरामिडमा जोडिनुहुन्छ, तपाईंलाई लाग्छ तपाईं पिरामिडको अग्रस्थानमा हुनुहुन्छ । तर वास्तवमा तपाईं सधै तल हुनुहुनेछ । 

पिरामिडको अग्रभागमा बसेका ०.१ प्रतिशत व्यक्तिले सम्पत्ति कमाउँछ, तर अन्य ९५ देखि ९९ प्रतिशत सबै यो पिरामिड भित्रको जालोमा फँसेर शिकार हुन्छन्  ।

किनभने उनीहरु अन्य व्यक्तिलाई खोजेर यो सञ्जालमा जोड्न सक्दैनन्, जसले पैसा लगानी गरेर उनीहरुलाई कमिसन दिन सकुन् ।

नेपाल भारत लगायत अधिकांश मुलुकमा पिरामिड स्किम गैरकानूनी र प्रतिबन्धित छ तर एमएलएम भने वैधानिक छ । किनभने एमएलएम स्किममा तपाईंले एउटा वस्तु वा सेवालाई पनि सँगै बेचेर लगिरहनु भएको हुन्छ । तर पिरामिडमा यस्तो हुँदैन ।

वास्तवमा एमएलएम कम्पनीले पनि बाहिरबाट कुनै वस्तु बेचेको जस्तो देखाउँछ, तर उसले समेत भित्रभित्रै पिरामिड स्किम नै चलाइरहेको हुन्छ । 

तपाईं कुनै पनि कुरामा तब पैसा खर्च गर्नुहुन्छ जब त्यसमा तपाईंले कुनै भ्याल्यू देख्नुहुन्छ । त्यसैगरी एउटा कम्पनीले पनि कुनै कर्मचारीलाई भर्ती गर्नुअघि त्यस व्यक्तिले कम्पनीलाई दिन सक्ने भ्याल्यूको मूल्याङ्कन गर्दछ ।

तर एमएलएम कम्पनीलाई हेर्ने हो भने यी कम्पनीले विशेषगरी बेरोजगार व्यक्ति, सिधा साधा तथा घरगृहस्थी सम्हालेर बस्ने व्यक्तिहरुलाई आफ्नो शिकार बनाउँछ ।

किनभने त्यस्ता व्यक्तिहरुले कम्पनीलाई आवश्यक थोरै लगानी त जुटाउन सक्छन् नै त्यसबाहेक आफू बेवकूफ भए जसरी अरुलाई पनि बेफकुफ बनाउन सक्छन् । 

एमएलएम कम्पनीहरुले बकैदा मोटिभेसनल इभेन्ट नै आयोजना गरेर बडो चतुर शैलीमा आफ्नो काम र कम्पनीको छाप व्यक्तिहरुको मस्तिष्कमा पार्ने काम गर्दछ । वास्तवमा यो एउटा ब्रेनवासको खेल पनि हो । 

यस्ता कम्पनीमा कमिसन तब मात्र पाइन्छ जब तपाईं निश्चित रकम कम्पनीलाई तिर्नुहुन्छ यसरी कम्पनीले पे टु प्लेको रणनीति अपनाउँछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१