close

स्पेक्ट्रम अथवा फ्रिक्वेन्सी के हो ? यसरी सजिलै बुझ्नुहोस्

टेकपाना टेकपाना

फागुन १, २०७७ २०:७

स्पेक्ट्रम अथवा फ्रिक्वेन्सी के हो ? यसरी सजिलै बुझ्नुहोस्

काठमाडौं । स्पेक्ट्रम अर्थात फ्रिक्वेन्सी शब्द धेरैका लागि अपरिचित र निकै प्राविधिक जस्तो सुनिए पनि प्रायः सबैजसो व्यक्ति हरेक दिन यसको सम्पर्कमा आइरहेकै हुन्छन् । यो हाम्रो दैनिकीको निकै अहम हिस्सा बनिसकेको छ । यस्तोमा पक्कै पनि प्रश्न उठ्छ, आखिर फ्रिक्वेन्सी के हो ? अनि यसले आम सर्वसाधारणको जीवनमा कसरी असर पार्छ ? 

फ्रिक्वेन्सी खुला आँखाले देख्न नसकिने चिज हो । यसलाई इलेक्ट्रो म्याग्नेटिङ फिल्ड अर्थात विद्युतीय चुम्बकिय तरङ्ग समेत भन्ने गरिन्छ । चाहे रिमोट, माइक्रो वेब, मोबाइल होस् वा रेडियो, कुनै न कुनै माध्यमबाट हरेक दिन हामी यसको सम्पर्कमा आइरहेकै हुन्छौं ।

फ्रिक्वेन्सी वा स्पेक्ट्रम त्यस्तो विकिरण ऊर्जालाई भन्ने गरिन्छ, जसले पृथ्वीलाई नै घेरेर राखेको छ । यो इलेक्ट्रो म्याग्नेटिङ रेडियसनको मूख्य स्रोत सूर्य नै हो । साथै यो ऊर्जा तारा तथा आकाश गंगाबाट समेत प्राप्त हुन्छ ।

यस बाहेक यस्तो ऊर्जा जमिनभित्र दबिएर रहेका रेडियो एक्टिभ तत्वबाट समेत उत्पन्न हुने गर्दछ । सबै फ्रिक्वेन्सी जसलाई हामी स्पेक्ट्रम वा रेडियसन भन्ने गर्छौं, त्यसमा कतिपय निकै उपयोगी हुने गर्दछन् । जसले हामीलाई कुनै नोक्सान हानी पुर्‍याउँदैन ।

जसको माध्यमबाट हामी रेडियो सुन्न सक्छौं । टेलिभिजन हेर्न सक्छौं । मोबाइलमा कुराकानी गर्न सक्छौं । अनि रिमोट प्रयोग गर्न सक्छौं ।  

ट्रान्समिटरबाट विभिन्न किसिमका फ्रिक्वेन्सीहरु उत्पन्न हुनसक्छन् । त्यसको रेञ्ज अर्थात त्यसले तय गर्ने दूरी हुन्छ । रेञ्जकै आधारमा यसलाई तल्लो, माथिल्लो, मध्यम गरी बिभिन्न ब्याण्डमा विभाजन गरिएको हुन्छ । फ्रिक्वेन्सीको रेञ्जअनुसार त्यसको प्रवाह हुने गुण समेत फरक फरक हुन्छ ।

दाहरणको रुपमा एफएम, टिभी, मोबाइल, भिस्याट अथवा स्याटेलाइट सबैको आआफ्नै प्रवाहको क्षमता हुन्छ । फ्रिक्वेन्सीको रेञ्जसँगै त्यसको क्षमता समेत जोडिएर आउँछ र त्यसै अनुसार त्यसको उपादेयता वा उपयोगिता हुन्छ ।

अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) ले नै विश्वव्यापी रुपमा कुन रेञ्जको फ्रिक्वेन्सी कुन प्रयोजनमा प्रयोग गर्ने भन्ने कुरा तय गर्दछ । ता कि यसबाट कुनै एउटा देशको काममा अर्को देशका कारण बाधा उत्पन्न नहोस् । विश्वका सबैजसो देशहरु आईटीयूका सदस्यको रुपमा रहेका छन् ।

आईटीयूले विश्वलाई तीन वटा क्षेत्रमा विभाजन गरेको छ । जसअनुसार नेपाल रिजन थ्री (तेस्रो क्षेत्र) मा पर्छ । रिजन थ्रीमा विभिन्न फ्रिक्वेन्सीलाई कुन प्रयोजनमा कसरी उपयोग गर्न सकिन्छ भन्ने कुरा आईटीयूकै मापदण्डमा भर पर्दछ ।

त्यसैको अधिनमा रहेर फ्रिक्वेन्सीको प्रयोग र बाँडफाँडका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समिति बनाइएको छ । जसमा सञ्चार मन्त्री अध्यक्षको रुपमा रहने व्यवस्था छ ।

समितिको अधिनमा रहेर निर्धारण गरिएका फ्रिक्वेन्सी मध्ये दूरसञ्चार क्षेत्रको हकमा सेवा प्रदायकलाई वितरण गर्ने काम नेपाल दूरसञ्चार प्राधिकरणले गर्दै आएको छ । 

दूरसञ्चार क्षेत्रमा फ्रिक्वेन्सीको प्रयोग

मोबाइल, स्याटेलाइट र टेलिभिजन यी तीन ओटैमा माइक्रो वेब तथा रेडियो इलेक्ट्रो म्याग्नेटिक स्पेक्ट्रम प्रयोग गरिएको हुन्छ । अब प्रश्न उठ्छ, यसको व्यवसायिक प्रयोग कसरी हुन्छ ?

सामान्यतयाः कुनै पनि स्पेक्ट्रम वा फ्रिक्वेन्सीको व्यवसायिक प्रयोग त्यसको तरंगको लम्बाईले तय गर्दछ । अर्थात उक्त फ्रिक्वेन्सीको वेब लेन्थ कति छ र कति ऊर्जा कति दूरीमा लैजान सक्छ । रेडियो वेब स्पेक्ट्रमको तरंग निकै लामो हुने गर्दछ ।

यसैको प्रयोग दूरसञ्चार क्षेत्रमा समेत हुँदै आएको छ । जब हामी फ्रिक्वेन्सीको कुरा गर्दछौं, सामान्यतयाः त्यसको आशय टेलिकम क्षेत्रसँग सम्बन्धित रेडियो वेब तरंगसँगै जोडिएको हुने गर्दछ ।

टुजी, थ्रीजी र फोरजीः दूरसञ्चार क्षेत्रको विस्तारसँगै प्रविधिमा समेत निकै तीव्र रुपमा विकास भएको छ । यो प्राविधिक विकासका विभिन्न चरणहरु छन् ।

वानजीका लागि सन् १९८० मा एनालग वायरलेसको सुरुवात भएको थियो । जसको प्रयोग कार फोनमा हुने गर्दथ्यो । सन् १९९० को दशकमा टुजी आयो । जसको साथमा जीएसएम प्रविधि आयो । साथै सीडीएमए पनि आयो । 

थ्रीजीमा डेटा ट्रान्सफर तीव्र रुपमा हुने गर्दछ र नेटवर्कको गुणस्तर पनि राम्रो हुने गर्दछ । यसैबीच अहिले नेपाल जस्तो देशमा पनि त्यसभन्दा पछिल्लो प्रविधि फोरजी आइसकेको छ । 

यसमा भ्वाइस कल निकै प्रस्ट हुनुका साथै इन्टरनेटको स्पिड पनि थ्रीजीको तुलनामा निकै तीव्र हुने गर्दछ । हुँदा हुँदा अब फाइभजीको तयारी सुरु भइसकेको छ । विभिन्न टेलिकम कम्पनीहरुले फाइभजीको ट्रायल सुरु  गरिरहेका छन् । नेपालमा समेत यसका लागि फ्रिक्वेन्सी तय गर्ने काम भइरहेको छ । 

नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक तथा प्रवक्ता मिनप्रसाद अर्यालसँगको कुराकानी समेतका आधारमा तयार पारिएको । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३