close

फ्रिल्यान्सर र कम्पनीलाई जोड्ने डिजिटल प्लेटफर्म : वर्कहब

युजु खालिङ युजु खालिङ

चैत १२, २०७७ १२:१९

फ्रिल्यान्सर र कम्पनीलाई जोड्ने डिजिटल प्लेटफर्म : वर्कहब

काठमाडौं । विश्वले रिमोट वर्किङको संस्कृतिलाई अभ्यास गर्दै गइरहेको अवस्थामा पछिल्लाे पुस्तामाझ डिजिटल फ्रिल्यान्सिङको महत्व र लोकप्रियता आफ्नै किसिमको छ ।

पायक पर्ने ठाउँमा बसेर आफूलाई इच्छा लागेको, आफ्नो विज्ञता भएको क्षेत्रका काम गर्न पाउनु भाग्यकै कुराे हाे । यसमा ‘टेन टु फो’ अफिसमा बस्नुपर्ने बाध्यता हुँदैन । कन्ट्रयाक्टमा काम गर्दा आफ्नो लागि समय पनि आफैंले मिलाएर बचाउन सकिन्छ ।

अहिलेको दौडधुपपूर्ण जिन्दगीमा यस किसिमको स्वतन्त्रता जोकोहीलाई चाहिएको छ । दुई वर्षअघिसम्म सलिल ढुङ्गेल र सदिक्षा ओझा डिजिटल फ्रिल्यान्सिङ गरिरहेका थिए । घरबाटै विभिन्न कम्पनीकाे काम गर्ने उनीहरूलाई यही क्षेत्रकाे स्वउद्यमी बन्न मन लाग्याे ।

त्यसबेला आफ्नै सर्कलभित्रका केही साथीहरु पनि डिजिटल फ्रिल्यान्सिङ गर्न इच्छुक भएको उनीहरुले थाहा पाए । फ्रिल्यान्सरकै रुपमा उक्त क्षेत्रमा संलग्न रहेर काम गरेको आधारमा यसको बजार, अवसर र सम्भाव्यता पनि उनीहरूले राम्रै देखे।

तर फ्रिल्यान्सिङ उद्योगमा ‘ट्रस्ट इस्यु’ अर्थात विश्वासको कमीको समस्या रहेकाे थाहा पाए ।

‘फ्रिल्यान्सिङ उद्योगमा ट्रस्ट इस्युको समस्या रहेछ, विशेषगरी पेमेन्टको मामिलामा,’ सलिल भन्छन्, ‘फ्रिल्यान्सरले काम गरिसक्दा पैसा नपाउने । कहिले हायरिङ कम्पनीले भुक्तानी गरिसक्दा पनि फ्रिल्यान्सरले काम नसक्ने । सकेको खण्डमा गुणस्तरीय र अपेक्षित परिणाम ननिकाल्ने समस्या छन् ।’

यसैले फ्रिल्यान्सर भएर एक/एक वटा कन्ट्रयाक्ट प्रोजेक्टमा अड्किनुभन्दा फ्रिल्यान्सर र हायरिङ कम्पनीहरुबीच एउटा विश्वासिलो मध्यस्थताकाे काम गर्ने सोचले दुवैले आफ्नो व्यवसायिक आइडिया अगाडि सारे ।

worck-hub-photo-techpana
वर्कहबका सहसंस्थापक सलिल र सदिक्षा

डिजिटल रुपान्तरणको युगमा व्यापक सम्भाव्यता बोकेको डिजिटल फ्रिल्यान्सिङ उद्योगमा सेवाग्राही र फ्रिल्यान्सरबीच व्यवस्थित मध्यस्थता गर्ने उद्देश्यले सन् २०१९ मा सलिल र सदिक्षाले वर्कहब कम्पनी दर्ता गरी सञ्चालन सुरु गरे ।

‘फ्रिल्यान्सिङ गर्न चाहनेहरुसँग आफ्नो कामको मान्छे चिन्ने र प्रोजेक्ट ल्याउन सक्ने क्षमता हुनुपर्छ,’ सलिल भन्छन्, ‘तर धेरै फ्रिल्यान्सरहरूमा यो क्षमताको अभाव छ ।’

यसैकारण सलिल र सदिक्षाले वर्कस्पेस प्लेटफर्म निर्माण गरी निश्चित मापदण्ड पुरा गर्ने फ्रिल्यान्सरलाई दर्ता गरी आफ्नो प्लेटफर्ममा जोडिरहेका छन् ।

यसरी भेरिफाइड भएर प्लेटफर्ममा जोडिएका फ्रिल्यान्सरले आफ्नो सेवा र सेवाशुल्क आफैंले तय गरेर राख्न पाउने सलिल बताउँछन् ।

अर्कोतिर फ्रिल्यान्सरजस्तै गरी सेवा लिन प्लेटफर्ममा जोडिएका व्यवसायिक कम्पनीहरुले पनि उनीहरुको सेवा र शुल्कलाई तुलना गरी आफ्नो आवश्यकता अनुसारको काम फ्रिल्यान्सरबाट गराउन सक्छन् ।

हाल कम्पनीले डिजिटल फ्रिल्यान्सिङका लागि आफ्नो प्लेटफर्ममा पाँच प्रकृतिका काम वर्गीकरण गरेको छ । जसमा ग्राफिक्स एण्ड डिजाइनिङ, एनिमेसन, राइटिङ एण्ड ट्रान्सलेसन, प्रोग्रामिङ र डिजिटल मार्केटिङ रहेका छन् ।

‘अहिले सानो स्केलमा माइक्रो डिजिटल फ्रिल्यान्सिङमा सर्भिसमा केन्द्रित छौं, तर भविष्यमा यी कामका दायरा थप गर्दै जानेछौं,’ सलिल सुनाए ।

वास्तवमा वर्कहब डिजिटल फ्रिल्यान्सर र व्यवसायिक कम्पनीहरुलाई जोड्ने एउटा प्लेटफर्म हो । कम्पनी र फ्रिल्यान्सर दुवै पक्ष यस प्लेटफर्ममा कन्ट्रयाक्टको आधारमा जोडिने गर्छन् । यहाँ कोही पनि पूर्णकालीन हुँदैनन् । सेवा चाहिएको समयमा कम्पनीहरु आफूलाई उपयुक्त र आफ्नो बजेट सुहाउने किसिमका फ्रिल्यान्सरलाई चयन गर्छन् ।

सेवाग्राही कम्पनी र फ्रिल्यान्सरबीच सम्पर्क गराउन कम्पनीको आफ्नो सिस्टममा इन्ब्युल्ट ‘च्याट सिस्टम’ छ । उक्त प्लेटफर्मबाट जोडिएका हायरिङ कम्पनी र फ्रिल्यान्सरले कम्तीमा १२ महिनासम्म वर्कहबको प्लेटफर्मभन्दा बाहिर गएर मनमर्जी कन्ट्रयाक्ट गर्न नपाउने कम्पनीको नीति र शर्तमा उल्लेख छ ।

यसबाहेक अहिले कम्पनीको म्यासेजिङ पनि इन्क्रिप्टेड छ र भिडियो कन्फ्रेन्सिङका लागि जुम इन्टिग्रेट गरिएको छ ।

त्यसो त वर्कहब नेपालको पहिलो फ्रिल्यान्सिङ डिजिटल प्लेटफर्म भने होइन । तर कम्पनीलाई भिन्न बनाउन आफूहरुले फरक रणनीतिमा टेकेर काम गरिरहेको अर्की सहसंस्थापक सदिक्षा ओझा बताउँछिन् ।

कम्पनी सुरु गर्दा स्नातक तह पढ्दै गरेका आफूहरुजस्ता विद्यार्थीहरुले पनि डिजिटल फ्रिल्यान्सिङ गरेर केही पैसा कमाउन सकुन् भन्ने उद्देश्य रहेकाे थियाे ।

तर उद्यमी बनेपछि काममा व्यवसायिकता चाहिने कुरा थाहा पाएपछि अहिले उनीहरू वर्कहबलाई व्यवसायकि बनाउन अग्रसर छन् ।

यसअन्तर्गत फ्रिल्यान्सर भेरिफिकेसन प्रक्रियालाई पनि कडा बनाएर गुणस्तरीय र विश्वासिलो सेवा प्रदान गर्न कम्पनी तत्पर रहेको भनाइ सदिक्षाकाे छ ।

‘हाम्रो प्लेटफर्ममा जोडिने सबै हायरिङ कम्पनी र फ्रिल्यान्सर राम्रा र व्यवसायिक छन् भन्ने कुरा सुनिश्चित गर्छाैं । यसैले अहिले हामीले प्रोफेसनल फ्रिल्यान्सरहरुलाई मात्र लक्षित गरेका छौं । यसका लागि आफ्नो फिल्डमा दुई वर्ष काम गरेकालाई मात्र जोड्छौं । साथै कतिपय केसमा शैक्षिक याेग्यता,’ उनले भनिन् ।

साथै कम्पनीले राम्रा राम्रा प्रोफेसनल फ्रिल्यान्सरहरुलाई हाइलाइट गरेर आफ्नो सोसल मिडिया प्लेटफर्मबाट प्रोमोट पनि गर्ने गरेको छ ।

फ्रिल्यान्सिङ क्षेत्रमा देखिने विश्वासको अभाव र भुक्तानीको समस्यालाई चिर्न आफूहरुले काम गरिरहेको समेत उनले सुनाइन् ।

‘कतिपय केसमा पेमेन्ट भइसकेको, तर गुणस्तरीय काम नहुने, कहिल्यै कामै नहुने र कतिपय केसमा काम भइसकेको तर पेमेन्ट नहुने समस्या हुन्छन् ।’

सदिक्षा अगाडि भन्छिन्, ‘हाम्रो प्लेटफर्ममा एकपटक एड्भान्स रकम डिपोजिट भइसकेपछि मात्र फ्रिल्यान्सरले काम सुरु गर्छन् । कुनै काम ३० हजार रूपैयाँकाे छ भने त्यसलाई १०/१० हजारमा विभाजन गरेर पहिलो किस्ता काम सुरु हुनुअघि हामीकहाँ हायररले डिपोजिट गर्छन् ।

त्यसलाई हामी होल्ड गरेर राख्छौं । फ्रिल्यान्सरले १० हजार बराबरको काम डेलिभर गरेको पुष्टि भएपछि हामी त्यो पैसा फ्रिल्यान्सरलाई डेलिभर गर्छौं ।’

अहिले कम्पनीमार्फत विशेषगरी स्टार्टअपलाई फोकस गर्न खोजिएकाे छ ।

‘स्टार्टअपसँग पुँजी कम हुन्छ । उनीहरुसँग फुलटाइम स्टाफ राख्ने खर्च हुँदैन । तर विभिन्न किसिमका कामहरु चाहिँ गर्नुपर्ने हुन्छ । उहाँहरुले कन्ट्रयाक्टको आधारमा आफूलाई चाहिने किसिमको कामका लागि मात्र फ्रिल्यान्सर नियुक्त गर्न पाउँछन् ।’

सलिल र सदिक्षाले सुरुमा तेस्रो पक्षको लगानीबाट कम्पनी सुरु गरेका थिए । सोही लगानीबाट वर्कहबको प्रोटोटाइप अहिले डेभलपमेन्ट फेजसम्म पुगेको छ ।

अहिले कम्पनीले आफ्नै बुट्सट्रयापिङ मार्फत कम्पनी सञ्चालनकाे खर्च जुटाइरहेको छ ।

कम्पनीले हाल कुनै पनि फ्रिल्यान्सरसँग सुरुको तीनवटा प्रोजेक्टमा फ्री मोडलमै काम गर्छ । कुनै पनि शुल्क लिँदैन । तर त्यसपछिका अन्य प्रोजेक्टमा फ्रिल्यान्सरको लेभल अपडेट हुँदै जाने हुँदा तीनवटा प्रोजेक्टपछि कम्पनीले फ्रिल्यान्सरबाट १५ प्रतिशत चार्ज लिने गरेको छ ।

‘विदेशमा यस्ता धेरै प्लेटफर्महरु छन् । तीनमा पनि एनालिसिस गर्दा पेमेन्टको मुख्य समस्या देखिन्छ । नेपाली फ्रिल्यान्सरले त्यहाँ काम त गर्छन्, तर विदेशी अकाउन्टमा होल्ड भएको पैसालाई नेपालमा लिएर आउन गाह्रो भइरहेको हुन्छ । यसकारण अहिले हामी नेपाली बजारमा मात्र केन्द्रित छौं,’ सलिल भन्छन् ।

नेपालको बजारमै अहिले आफ्नो प्लेटफर्मलाई परीक्षण गरी एउटा स्ट्याण्डराइजेसन तयार गरी बााहिरको बजारमा लग्ने योजना यी दुईको छ ।

सलिन भन्छन्, ‘सानो परिमाणमा काम लिने, तर प्रोफेसनल आउटकम दिने लक्ष्य राखेका छाैं । अहिलेको समयमा त हामी काठमाडौंमा मात्रै छौं । विस्तारै बाहिर जाने हो ।’

सम्भावना धेरै भएपनि डिजिटल फ्रिल्यान्सिङ उद्योग अहिले ‘अवेरनेस फेज’मै भएको कारण स्केलअप गर्न केही गाह्रो भएकाे अनुभव उनीहरुकाे छ ।

‘अहिलेको हाम्रो प्रमुख उद्देश्य भनेको कम्पनी सञ्चालन गर्न सक्नु नै  हो । फ्रिल्यान्सरहरुलाई काम राम्रो दिन सकाैं र हायरर कम्पनीलाई गुणस्तर दिन सकौं भन्ने सोच छ ।  बजारमा यसरी पनि काम हुनसक्छ है भन्ने बुझाइ बनिसकेपछि बल्ल स्केलअप गर्ने सोचाइ छ,’ सलिलले सुनाए । 

यो उद्योगबारे मानिसहरुलाई धेरै थाहा नहुने हुँदा अहिले कम्पनीले भौतिकरुपमा पनि आफ्नो नेटवर्कको माध्यमबाट आफ्नो कामको बारेमा जानकारी गराइरहेको छ ।

‘उहाँहरुले हामीलाई डिजिटल्ली सिधै विश्वास गर्न गाह्रो हुनसक्ने भएकाले भाैतिक रूपमा भेटेर पनि आफ्नो सेवाको बारेमा जानकारी गराइरहेका छौं,’ उनले भने ।

फ्रिल्यान्सिङ भन्नेबित्तिकै कम काम गर्नुपर्ने हुन्छ भन्ने गलत धारणा मानिसहरुमा रहेको उनको बुझाइ छ । तर वास्तवमा कतिपय अवस्थामा फ्रिल्यान्सिङ गर्दा आउटकम राम्रो निकाल्नलाई धेरै काम गर्नुपर्ने उनी बताउँछन् ।

‘पैसाको मामिलामा फ्रिल्यान्सिङमा अलिकति जोखिम हुन्छ । भने जस्तो काम पाएन र काम राम्रो ल्याउन सकेन भने पैसा कमाउन सकिन्न । पीआर राम्रो छैन भने काम नहुने जोखिम हुन्छ,’ उनले भने ।

हाल यस प्लेटफर्ममा भेरिफाइड फ्रिल्यान्सर ६४ जना छन् । साइनअप सात सयभन्दा धेरै भए पनि क्राइटेरिया पुरा नगरेको हुँदा धेरैलाई फिल्टर गरिएकाे सलिल बताउँछन् ।

हायरिङ कम्पनीको कुरा गर्दा अहिलेसम्म वर्कहबमा अफलाइन र अनलाइन करिब २० देखि २५ कम्पनीहरु जोडिएका छन् । फ्रिल्यान्सरको हितमा कम्पनीले जोडेका क्लाइन्ट विश्वासिलो र उच्च दर्जाका कम्पनीहरु रहेको उनले बताए । 

धेरै संस्थासँग काम गर्न पाउने हुँदा फ्रिल्यान्सरहरुको एक्सपोजर पनि बढ्ने उनले बताए । यस्तै हायरिङ कम्पनीको हितमा प्लेटफर्म मार्फत जाँदा शुल्क र सेवाको रेन्जमा तुलना गरेरै फ्रिल्यान्सर चयन गर्न सक्ने व्यवस्था छ । 

वर्कहबमा जोडिन चाहने फ्रिल्यान्सरले कम्पनीको वेबसाइटमा जान सक्छन् । एप भने केही समयभित्र निर्माण गर्ने योजना छ ।

त्यहाँ सामान्य साइनअप गरी ईमेल भेरिफिकेसन गरेर आफ्नो आधारभूत जानकारी र डकुमेन्टसहित २५० देखि ३०० शब्दको निवेदन लेख्नुपर्ने हुन्छ । 

त्यसपछि फ्रिल्यान्सरले आफ्नो बायो र पोर्टफोलियो आफैं तयार गर्न सक्छन् । साथै आफ्नो कामसम्बन्धी सोसल साइटहरुको लिङ्क पनि त्यहाँ इम्बेड गराउन सक्छन् । प्रोफाइल बनाउँदा कम्तीमा ६० प्रतिशत जानकारी भर्नुपर्ने हुन्छ ।  

वर्कहबका यी दुई सहसंस्थापक २६ वर्षीय सलिल ढुङ्गाना र २४ वर्षीया सदिक्षा ओझा हाल किङ्ग्स कलेजमा एमबीए अध्ययन गर्दैछन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१