काठमाडौं । गएको चैत ७ गते सिन्धुलीको भिमानबाट नेपालकै पहिलो रकेट प्रक्षेपणको परीक्षण गरियो । जसमा नेपाली सेनाको ठूलो साथ र सहयोग रह्यो ।
परीक्षणका लागि आवश्यक स्थान नेपाली सेनाले नै उपलब्ध गराइदिएको थियो । परियोजनामा संलग्न विद्यार्थीहरुको हौसला बढाउन परीक्षण स्थलमा नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापा र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महाबिर पुन समेत पुगेका थिए ।
पहिलो प्रयासमा १५० मिटर माथिसम्म मात्र उड्न सकेको रकेट क्र्याश भयो । कलेज तहमा इन्जनियरिङ पढिरहेका विद्यार्थीहरुले अगाडि बढाएको परियोजना भए पनि अनुसन्धान र आविष्कारमा पछौटेपनको सिकार भएको नेपालका नागरिकहरुका लागि यो प्रयासले थोरै भए पनि आशाका किरण छर्न सघायो । अर्को महिना रकेटको दोस्रो पटक प्रक्षेपण परीक्षण हुँदैछ ।
देशका विभिन्न ८ वटा कलेजमा इन्जिनियरिङ पढिरहेका ३० जना विद्यार्थीको टिमले यो ‘गरुड’ रकेट परियोजनामा काम गरिरहेको छ । नेपालमा अहिलेसम्म कसैले काम नगरेको क्षेत्र भएकाले संलग्न विद्यार्थीहरुले यसको अनुसन्धान र परीक्षणमा निकै कष्ट खेपिरहेका छन् ।
स्थानीय बजारमा रकेटका लागि आवश्यक इन्धनदेखि मोटर र अन्य पार्ट्सहरु पाउन सकेका छैनन् । अनुसन्धान परियोजनामा सक्रिय नेपाली युवा विद्यार्थीलाई महाबिर पुनले सक्दो रुपमा सहयोग समेत उपलब्ध गराइरहेका छन् ।
परीक्षण अघि रकेटका लागि विद्यार्थीहरुले नेपालमै तयार पारेको आवश्यक इन्धन आविष्कार केन्द्रको कार्यालय परिसर कीर्तिपुरमा परीक्षणको व्यवस्था समेत उनैले मिलाइदिएका थिए ।
नेपालमा रकेटका लागि आवश्यक सामान फेला पार्न नसकेपछि पुनले अमेरिकाबाट केही सामान ल्याउने बन्दोबस्त मिलाए । उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै सामान किनसकिएको र त्यसलाई नेपाल ल्याउन सहयोगका लागि आग्रह गरे ।
April 14 सम्म USA बाट नेपाल आउनेहरुले सहयोग गर्न चाहनु हुन्छ भने सम्पर्क गर्नुहोस्। नेपालमा रकेट बनाउने बिद्यार्थी भाई बहिनीहरुको लागी चाहिने केहि सामानहरु ल्याउनुछ। ति सामानहरु पहिले नै किनी सकिएको छ ।???
तर उनको आग्रहको जवाफमा डा रामेश कोइरालाले चन्द्रमामा मान्छेसहित जाने वा अन्तरिक्षमै भए पनि पुगेर चार वटा स्याटेलाइट छोड्ने भए आफू एक्लैले एउटा प्लेन कार्गोको पैसा तिरिदिने बताए ।
गज्जब सर। चन्द्रमामा मान्छेसहित जाने वा अन्तरिक्षमै भए पनि पुगेर चारवटा सेटेलाइट छाड्ने रकेट हो भने म एक्लैले एउटा प्लेन कार्गोको पैसो दिन्छु है।?
डा कोइरालाको ट्वीट देखेपछि भने पुन आगो भए । कडा शैलीमा प्रस्तुत भएका उनले रकेट कसले किन बनाइरहेको हो भन्ने थाहा नभए आफूलाई सम्पर्क गर्न भन्दै फोन नम्बर नै सार्वजनिक गरे ।
तपाइंलाई अहिले बन्दै गरेको रकेट कसले र किन बनाएको हो भन्ने थाहा छैन भने मलाई 9841592361 मा फोन गर्नुस। यो रकेट कलेज Student हरुले सिक्नको लागि बनाउदै गरेको रकेट हो र एउटा कम्पिटिसनमा भाग लिन बनाउदै छन. तपाइंको दिमागमा गुहु भरिएको छ जस्तो लाग्यो? तपाईं कलेज नपढीकन डाक्टर भएको हो ?
तपाइले त ठुलै रकेट बनाउन लागेको भनि ठान्नु भयो क्या हो ?? बिद्यार्थीहरुले बनाउन लागेको रकेट को सानो सामान हो र ३ केजी जति पनि छैन । मैले सुन छिराउन लागेको हो र ?
अमेरिका मा सबै भन्दा पहिला बनेको रकेट कस्तो थियो भन्ने ता देखे कै होलाउ। अनि राईट दाजुभाई ले उदाएको जहाज पनि त देखेका होलाऊ नि भाई। यो प्रोजेक्ट कलेज पढ्ने भाई बहिनीहरुको हो र उनीहरुलाई हौसला दिएको हो. कुरा बुझनु भो ???
डा कोइरालाको टिप्पणीमाथि धेरैले असन्तुष्टी व्यक्त गरेका छन् । तर उनले ‘लञ्च प्याडको फिजिक्स’ नै थाहा नभएको उल्लेख गर्दै नेपालमा सम्भव नै नभएको संकेत गरेका छन् । यति मात्र होइन, ट्वीटरमा रिप्लाई दिँदै तिहारमा उडाउने रकेटसँग जोड्दै खिल्ली उडाउन समेत उनले भ्याएका छन् ।
न पर्याप्त प्रविधिबिना महाविर पुनका रकेट अन्तरिक्षमा पुग्छन् न बाका डिपिआरबिनाका बाटा र लिगमा रेल र जहाज गुड्छन्। गुड्डी आंकलन गरेर हाँके म पनि ताली बजाउने हो। केरुङका रेलदेखि पिपिई र स्यानिटाइजर टनेल सब देखेकै हो। बायोमेडले मेसिन मर्मत गरे वाह हो, नत्र मलाई बाल हो!?
आजका दिनमा विज्ञानको न्यूनतम ज्ञान अनिवार्य हो र अब आरकेमिडिजले जसरी नै बाथटबमा पानी छछल्किएकामा फेरि युरेक्का युरेक्का भन्दै नाङ्गै दौडिनु पर्दैन। अघि बढ्ने हो तर उही थाहा भएकै कुरो पुन प्रमाणित गर्ने काम स्कुलमा मात्र सुहाउन्छ। यो देश IQ पीडित त हो, तर सबै तोरी हैनन् ल।??
नेपाली विद्यार्थीहरुको रकेट परियोजनामा डा रामेश यस किसिमको शैलीमा किन उत्रिए ? टेकपानाको प्रश्नमा उनले आविष्कार केन्द्रको नाममाथि नै प्रश्न उठाए ।
‘उहाँहरुले जे काम गरिरहनु भएको छ मैले त्यसको विरोध गरेको होइन,’ उनले भने, ‘आविष्कार केन्द्र नाम राखिसकेपछि त्यो स्तरको काममा आफूलाई केन्द्रीत गर्न सक्नुपर्छ भन्ने मेरो आशय हो ।’
बरु त्यसको साटो साइन्स ल्याव, कारखाना वा त्यस्तै अन्य कुनै नाम राख्नु उपयुक्त हुने उनको सुझाव छ । ‘आविष्कारको नाममा उहाँहरुले क्राउड फण्डिङ गरिरहनु भएको छ,’ डा कोइरालाले अगाडि भने, ‘तर काम गराई भने प्रयोगशाला जस्तो मात्रै भयो ।’
कोरोना महामारीको समयमा आविष्कार केन्द्रले अस्पतालका बिग्रिएका भेन्टिलेटर बनाएर सहयोग गर्दा आफूले त्यसको प्रसंसा नै गरेको उल्लेख गर्दै उनले आविष्कार भइसकेको प्रविधिलाई आविष्कार भन्न नसकिने तर्क गरे ।
‘रकेट नै बनाउने हो भने संसारमा प्रविधि छँदैछ । भित्र्याएर रकेट उडाए भइहाल्यो । पाइपमा पछाडि इन्धन राखेर तिहारमा प्रयोग हुने खेलौना जस्तो गरेर रकेट उडाउँदैमा त्यसलाई आविष्कार भन्न सकिँदैन,’ उनले भने ।
विद्यार्थीको प्रयोगात्मक सीप विकास तथा जनशक्ति विकासका लागि भएको प्रयासमा भने आफ्नो कुनै नकारात्मक टिप्पणी नरहेको डा कोइरालाको स्पष्टीकरण छ । ‘मैले जम्माजम्मी नाम अनुसारको काम भएन भन्न मात्र खोजेको हो,’ उनले भने, ‘तर अहिले भइरहेका गतिविधिलाई प्रयोगात्मक अभ्यासको तहमा हेर्ने हो भने एकदमै राम्रो हो ।’
ट्वीटरमा निकै सक्रिय रहने डा कोइराला चर्चित मुटुरोग सर्जन हुन् । केही समय अघि नेपाली जेलमा रहेका सिरियल किलर चाल्स सोभराजको मुटुको सर्जरी समेत उनैले गरेका थिए ।