close

आईटीका यी अर्बपति, जसले गाउँमा बस्न सिलिकन भ्याली नै त्यागे

टेकपाना टेकपाना

बैशाख १३, २०७८ २०:५५

आईटीका यी अर्बपति, जसले गाउँमा बस्न सिलिकन भ्याली नै त्यागे

काठमाडौं । गाँउघरमा मिल्ने मौन शान्ति श्रीधर बेम्बुलाई प्रिय लाग्छ ।

हरियाली धानबालीमा आफ्नो नजर लाउँदै श्रीधर भन्छन्, ‘म धेरै टाढा बसेको सीईओ जस्तै हुँ ।’

श्रीधर र उनका भाइहरुले सन् १९९६ मा अमेरिकास्थित प्रविधि र नवप्रवर्तनको विश्वव्यापी अड्डा सिलिकन भ्यालीमा जोहो कर्पाेरेशन स्थापना गरेका थिए । आज २५ वर्षपछि यो क्लाउड बेस्ड सफ्टवेयर कम्पनीमा नाै हजार पाँच सयभन्दा धेरै कर्मचारी छन् ।

तर क्यालिफोर्नियामा करिब तीन दशक बिताएर जाेहाे कम्पनीलाई आजको स्थानसम्म ल्याइसकेपछि अर्बपति श्रीधर अहिले एउटा शान्त र सुदूर भूमिमा स्थानन्तरण भएका छन् । यो दक्षिणी भारतको एउटा गाउँ हो । 

सडक र ढल निकासा छैन

श्रीधर आफू स्थानीयहरुसँग प्रत्यक्ष भेटेर कुराकानी गर्न रुचाउँछन् । कामका लागि मात्रै सामाजिक सञ्जाल प्रयाेग गर्छन् ।

उनी बसोबास गर्दै आइरहेको क्षेत्रका अधिकांश भाग अन्नबालीले ढाकेको छ । यो गाउँ चेन्नई शहरभन्दा ६०० किलोमिटर दक्षिण तेन्कासी जिल्लाको हिम पर्वतको फेद अर्थात् भारतको पूर्वी तटीय क्षेत्रमा पर्दछ ।

यहाँ दुई हजार हारहारीमा मानिसहरु बस्छन् । गाउँमा मुख्य सडकहरु छैनन् । न त ठूला पुल पुलेसो, न त ढल निकासाका ठूला पूर्वाधार नै छन् । विद्युत पनि यहाँ नियमित नहुने हुँदा श्रीधर जेनेरेटर र ब्याट्रीमा निर्भर छन् ।

सिलिकन भ्यालीभन्दा आकाश जमिन फरक यो ठाउँमा उनी कसरी काम गर्छन् त भन्ने प्रश्न सबैको मनमा उठ्नु स्वभाविक हो । जवाफमा त्यो गाउँ नै भए पनि उच्च गतिको फाइबर अप्टिक इन्टरनेट कनेक्सनको सुविधा त्यहाँ छ ।

अर्को कुरा भनेको यति सफल कम्पनीको प्रमुख हुनुमा आफ्नै फाइदा हुने उनको अनुभव छ ।

‘मुख्यतय: मैले गर्न पर्ने काम भनेको महत्वपूर्ण नीतिहरुका बारेमा हो । कम्पनी यति ठूलो छ कि अधिकांश निर्णयहरु स्थानीय टिम भित्रैबाट लिइने गरिन्छ ।’

ग्रामीण जीवनसँगको अभ्यस्तता

प्रविधिको कारणले बिना अवरोध आफूले सुदूरको ग्रामीण क्षेत्रबाट पनि काम गर्न सकिरहेको श्रीधर बताउँछन् । 

उनका कुनै पनि कार्यकारी वा व्यक्तिगत सहायक कर्मचारी नजिक छैनन् । तर डिजिटल उद्यमी श्रीधर आफ्नै संलग्नतामा अहिले आफैं नेतृत्व सम्हालिरहेका छन् ।

‘म एउटा टिमलाई नेतृत्व दिन्छु । म प्रोग्रामरहरुसँग नजिकबाट काम गर्छु र कतिपय प्राविधिक परियोजनामा आफै संलग्न हुन्छु । हाम्रा सफ्टवेयर विश्वभर छरिएर बसेका इन्जिनियरहरुले बनाएका छन्,’ उनी भन्छन् ।

श्रीधर दुई कोठाको एउटा फर्म हाउसमा बस्छन्, जुन भर्खरै निर्माण गरिएको हो । उनी बडो उत्साहजनक ढंगले ग्रामीण जीवनशैंलीसँग अभ्यस्त भइरहेका छन् ।

यो घरमा एयर कन्डिसनिङ छैन । कारको सट्टा अहिले उनी विद्युतीय बाइक र साइकल प्रयोग गर्छन् । स्थानीयहरुसँग कुराकानी गर्न गाउँकै चिया पसलमा निरन्तर धाइरहन्छन् ।

‘म आफ्नो जीवनलाई यहाँ धेरै रमाइलोसँग बिताइरहेको छु । वरिपरीको ठाउँ र गाउँका धेरै मान्छेहरुलाई मैले भेट्न पाइरहेको छु ।’

उनी धेरैजसो समय त जिन्स र टिसर्टमा देखिन्छन् । तर कहिलेकाहिँ धोती पनि लगाउन रुचाउँछन् । 

परिचित तर अलोकप्रिय 

श्रीधर भन्छन् उनी अझै पनि इन्जिनयरहरुको एक समूहलाई प्रत्यक्ष नेतृत्व दिइरहेका छन् र त्यही सानो गाउँबाट सबै निर्णयहरु लिइरहेका छन् ।

मिडियामा उनको बारेमा केही आएपछि अहिले अधिकांश स्थानीयहरुले उनको बारेमा थाहा पाउन थालेका छन् । तर श्रीधर आफू कुनै सेलिब्रेटी नभएको बताउँछन् ।

‘गाउँघरको सामाजिक जीवन एकदमै फरक हुन्छ । मानिसहरुसँग असल साथी बनाउने समय हुन्छ । कतिले तपाईंलाई अप्रत्याशित घरमा खानाको बोलाउँछन् । भर्खरै म नजिकको गाँउ गएँ र केही गफगाफ गरेर आएँ ।’

श्रीधरले कहिल्यै पनि फ्ल्यासी विजनेसम्यानको जीवन बिताएनन् । उनीले आफ्नो पुरानो जीवनलाई कहिल्यै भुलेका थिएनन् ।

‘मैले कहिल्यै पनि गल्फ खेलिनँ । म कहिल्यै पनि ‘एनिमल सोसल’ प्राणी थिइनँ । म व्यवसायको लागि घुमघाम गर्थें । तर अहिले अधिकांश मिटिङहरु भिडियो कन्फ्रेन्सबाट हुने गर्दछन् ।’

महामारीअघि स्याटेलाइट अफिस 

श्रीधर अहिले बसिरहेको गाउँमा आधारभूत सेवा छैन । तर आफूलाई काम गर्न अत्यावश्यक कुरा इन्टरनेट भने यहाँ छ ।

महामारीसँग अधिकांश मानिसहरु रिमोट बसेर काम गर्न बाध्य भएँ । अहिले कतिपय मुलुक तथा कम्पनीहरुमा लकडाउनको प्रतिबन्ध खुकुलिएको छ र मुड सबैतिर फ्लेक्जिबल भएको छ ।

यस्ता कुरामा श्रीधर प्रोएक्टिभ छन् । उनले महामारीअघि नै सम्पूर्ण कर्मचारी र आफूलाई आफ्नो आफ्नो ठाउँमा स्थानन्तरण गराए । यसैको परिणाम आज कम्पनी सस्टेनेबल मोडलमा रहेकोमा आफू ढुक्क भएको उनी बताउँछन् ।

वास्तवमा उनले जोहो कम्पनीको ग्रामीण कार्यालय २०  वर्षअघि नै तामिल नाडुमा स्थापना गरिसकेका थिए । त्यसयता भारतका विभिन्न क्षेत्रहरुमा उनले ३० वटासम्म स्याटेलाइट कार्यालयहरु स्थापना गरिसकेका छन् । ्

‘मलाई श्रमको मोडल परिवर्तन हुँदैछ भन्ने थाहा थियो । त्यसैले हामीले ग्रामीण कार्यालयहरुमा लगानी गरेर अनलाइन टुलहरु उपलब्ध गरायौं,’ उनी भन्छन् ।

कम्पनीका २० देखि ३० प्रतिशत कर्मचारीहरु स्थायीरुपमा घरबाट काम गर्नसक्ने उनी बताउँछन् । स्याटेलाइट कार्यालयले त्यो पूर्वाधार तथा आवश्यकताको पूर्ति गरिदिने उनको भनाइ छ । अधिकांश कर्मचारीहरु घर बसेरै काम गर्न सक्षम छन्, जसकारण अहिले चेन्नई समेत जानुपर्दैन ।

श्रीधरका अनुसार यस्तो किसिमको स्याटेलाइट कार्यालयहरुमा अहिले करिब सयजना कर्मचारी अटाइरहेका छन् । 

किन बाहिर आए ?

श्रीधरको जन्म भारतमै भएको हो । पछि उनी अध्ययनका लागि अमेरिका पुगेर त्यतै कर्मथलो बनाए । तर भारतको आफ्नो गाउँमा फर्केर आउने उनको चाहना मनभित्रै जीवितै थियो ।

यसैले जब उनले क्यालिफोर्नियास्थित सिलिकन भ्याली छाडे तब उनका कोही पनि साथीहरु अचम्मित भएनन् ।

आज श्रीधर जसरी दूर बसेर काम गरिरहेका छन् त्यसै गरी तब उनी क्यालिफोर्निया हुँदा कार्यालयका ९० प्रतिशत कर्मचारीहरु सबै चेन्नाई बसेर काम गर्ने गरेको जाेहोको मार्केटिङ तथा उपभोक्ता अनुभव विभागका उपाध्यक्ष प्रभल सिंह बताउँछन् ।

आज गाउँमै बसेर पनि श्रीधर अमेरिका, ब्रजिल र सिङ्गापुर अनि भारतका विभिन्न क्षेत्रमा बसोबास गरिरहेका आफ्ना कर्मचारीहरुसँग नियमित अन्तरक्रिया गर्छन् । 

परम्परागत शिक्षाको विरोध

चेन्नईमा जोहोको ठूलै कार्यालय छ । तर धेरैजसो कर्मचारीहरु आफ्नै गृहनगरमा बसेर काम गर्न मन पराउँछन् । श्रीधरले भारत र अमेरिकाका ठूला शैक्षिक संस्थाहरुमा अध्ययन गरे । तर अहिले समग्र शैक्षिक प्रणालीलाई लिएर उनीभित्र असन्तुष्टि अंकुराउन थालेको छ ।

उनले मदरासस्थित आईआईटीबाट इन्जिनियरिङमा ग्राजुएट गरे । त्यसपछि उनले अमेरिकास्थित प्रिन्स्टन विश्वविद्यालयबाट स्नातकोत्तर र विद्यावारिधीको प्रमाणपत्र लिए ।

तर शैक्षिक याेग्यताले सफलतालाई केही बल नदिने उनी जिकिर गर्छन् ।

‘म एड्भान्स गणितको क्षेत्रमा आफूलाई विज्ञ बनाउन तयारी गरिरहेको थिएँ । तर अहिले म बेसिक अर्थम्याटिक गरिरहेको छु ।’

बिना सन्दर्भ थ्याेरी इम्पोज गर्नुको कुनै अर्थ नभएको उनी बताउँछन् । ‘विद्यार्थीलाई ती कुरा दैनिक जीवनमा कहाँ प्रयोग हुन्छ भन्ने सन्दर्भ स्पष्ट नबनाई थ्याेरीमात्र घोकाउनुको कुनै अर्थ छैन,’ उनी भन्छन् ।

‘मैले इलेक्ट्रिकल इन्जिनियरिङमा ग्राजुएसन गरेँ । त्यसबेला मैले म्याक्सवेलको इक्वेसनहरु पढेँ, तर आज मलाई तीमध्ये कुनै पनि याद छैन ।’

‘म्याक्सवेलको इक्वेसन महत्वपूर्ण छ । तर तपाईंले इलेक्ट्रिक मोटर्सले कसरी काम गर्छ, कसरी तीनलाई विण्डिङ अप गर्ने र कसरी ध्वस्त बनाउने भन्ने कुरा नसिकुन्जेल यो इक्वेसन महत्वपूर्ण हुँदैन ।’

जोहोको स्कुल 

श्रीधर ग्रामीण क्षेत्रमा धेरैभन्दा धेरै रोजगारी सृजना गर्न चाहन्छन् ।

शिक्षा कसरी ट्रान्समिट गरिन्छ भन्ने कुरामा आफ्नो प्यासन भएको हुँदा उनले परम्परागत शिक्षण सिकाइ विधिको अन्त्य गर्न ‘जोहो स्कुल्स’ को स्थापना गरे ।

दुई विद्यालय त अझै पनि तामिल नाडुमा सञ्चालन भइरहेका छन् र उनी तेन्कासी जिल्लामा निर्मित विद्यायमा पनि निरन्तर पुगिरहन्छन् ।

जोहोका यी शैक्षिक संस्थानले विद्यार्थीहरुलाई सफ्टवेयर, प्रशासन, डिजाइन, सृजनात्मक लेखन तथा अन्य धेरै विषयमा दुई वर्षे कोर्स प्रोग्राम प्रदान गर्दछ । उनीहरुले १७ देखि २० वर्षको उमेर समूहबीचको विद्यार्थीहरुलाई भर्ना गराउँछन्, जसले कम्तिमा पनि १२ कक्षासम्मको आधारभूत शिक्षा पुरा गरेका छन् ।

‘हामी प्रोग्रामिङ सिकाउँछौं । उनीहरुले वास्तविक एप्लिकेसनको कोडिङ गर्छन् । उनीहरु गरेर सिक्छन्,’ श्रीधर भन्छन्  ।

जोहो विद्यालयमा प्रशिक्षण लिएका करिब ९ सय विद्यार्थीहरु अहिले श्रीधरको कम्पनीमा कर्मचारी छन् ।

बिल गेट्स र वारेन बफेटजस्ता कमै मात्र धनाढ्यहरुले आफ्नो सम्पत्तिको ठूलो हिस्सा परोपकारी प्रयोजनमा खर्च गर्छन् । तर श्रीधर उनीहरुको पश्चिमा शैलीकै नक्कल गर्नमा अभिरुचि राख्दैनन् । सामाजिक उत्तरदायित्व व्यवसायको अभिन्न अङ्ग हुने उनकाे तर्क छ ।

‘म च्यारिटीको नाम नदिई धेरै कामहरु गर्न चाहन्छु,’ उनी भन्छन् ।

हाल उनको जोहो स्कूलमा विद्यार्थीहरुले दिवा खाना पाउनुका साथै मासिक रुपमा १४० डलरको अनुदान पनि पाउँछन् ।

साथै उनले ग्रामीण तथा अर्धशहरी क्षेत्रका बिरामीहरुलाई सेवा दिन दक्षिण भारतमा २५० शैय्याकाे अस्पताल निर्माण गर्ने योजना बनाएका छन् ।

गत जनवरीमा श्रीधरले भारतको एउटा ठूलो नागरिक सम्मान प्राप्त गरे ।

साथै उनी अहिले भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार बोर्डमा समेत नियुक्त भएका छन् । देशको अर्थतन्त्र तथा सुरक्षाका लागि विभिन्न महत्वपूर्ण तथा संवेदनशील क्षेत्रमा वैज्ञानिक सिकाई तथा ज्ञान खोजीको जिम्मेवारी अहिले उनीमाथि सरकारले राखिदिएको छ । 

गाउँमै बस्ने योजना 

आफूलाई अब कत्ति पनि पैसा र धनले यो गाउँबाट फर्काउन नसक्ने कुरामा उनी निश्चिन्त छन् । 

महामारीको अन्त्य भएपछि अमेरिकास्थित कार्यालयमा घुम्ने उनको योजना छ । तर यो एउटा छोटो अल्पकालीन भ्रमणमात्र हुनेछ ।

उनी सिलिकन भ्यालीको ग्ल्यामर र पैसाबाट आफू टाढा भएर स्थायीरुपमा गाउँमै बस्न थालिसकेको बताउँछन् ।

‘म व्यवसायी हुँ । मेरो व्यवसाय राम्रै चलिहेको छ । तर यसको अर्थ मलाई रुचि नै नहुने जीवनशैली मैले बिताउनुपर्छ भन्ने हाेइन । म त्यस्तो किसिमको जीवनशैलीलाई कहिल्यै पनि याद गर्दिनँ ।’

उनी अन्त्यमा थप्छन्, ‘हामी सोच्छौं कि पैसाले सबै कुराको उपचार गर्छ । तर त्यो हैन । तपाईंलाई सबैभन्दा बढी सामाजिक समर्थन र सहयोगको खाँचो हुन्छ ।’

बीबीसीको सहयोगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१