close

प्राधिकरणका परियोजनामा ६० प्रतिशत भौतिक प्रगति हुँदा पूँजीगत खर्च २६ प्रतिशत

टेकपाना टेकपाना

बैशाख २४, २०७८ १८:३०

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले चालू आर्थिक वर्ष २०७७/०७८ को दोस्रो चौमासिक प्रगति प्रतिवेदन तयार पारेको छ ।

आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्नुअघि प्राधिकरण बोर्डमा भएको समिक्षाले चालू आवको दोस्रो चौमासिकसम्म अर्थात फागुन मसान्तसम्म कुल परियोजनाको ६० प्रतिशत भौतिक प्रगति भएको देखाएको छ । त्यस्तै पूँजीगततर्फ २६ प्रतिशत प्रगति हासिल भएको उल्लेख गरिएको छ ।

प्राधिरकणका अध्यक्ष पुरूषाेत्तम खनालका अनुसार बोर्डले ग्रामीण दूरसञ्चार विकास कोषको रकम र प्राधिकरण कोषको रकमका आधारमा कार्यक्रमको समिक्षा गरेको थियो ।

यसमा दूरसञ्चार विकास कोषको रकम खर्च गरेर सञ्चालमा रहेका विभिन्न परियोजनाको भौतिक प्रगति करिब २५ प्रतिशतको हाराहारीमा भएको छ । त्यस्तै प्राधिकरणको कोषबाट परिचालित विभिन्न परियोजनाको प्रगति करिब ४० प्रतिशतको हाराहारीमा भएको जनाइएको छ ।

पूँजीगत खर्चतर्फ पनि अवस्था त्यस्तै रहेको देखिन्छ । टेकपानालाई प्राप्त तथ्याङ्कअनुसार पूँजीगत खर्चतर्फ ग्रामीण दूरसञ्चार विकास कोषतर्फ १३.५ प्रतिशत र प्राधिकरण कोषतर्फ ३८ प्रतिशत खर्च भएको उल्लेख छ ।

जसमा विकास कार्यक्रमअन्तर्गत फागुन मसान्तसम्म ३ अर्ब १५ करोड, पूँजीगत खर्च ६ करोड १ लाख, आन्तरिक खर्च १३ करोड १९ लाख र ग्रामीण दूरसञ्चार विकास कोषको ८१ करोड १० लाख खर्च भएको छ ।

यस वर्ष प्राधिकरणले चौमासिक समिक्षालाई व्यवस्थित गर्ने क्रममा कार्यक्रमको कूल लक्ष्यको ९० प्रतिशतभन्दा बढी कार्यान्वयन भएका, ५० प्रतिशतभन्दा बढी कार्यान्वयन भएको, ५० प्रतिशतभन्दा कम र १० प्रतिशतभन्दा बढी कार्यान्वयन भएको र १० प्रतिशतभन्दा कम कार्यान्वयन भएका कामका आधारमा वर्गीकरण गरेको छ ।

जसमा ९० प्रतिशतभन्दा बढी कार्यान्वयन भएको कार्यक्रमअन्तर्गत दुई वटा रहेका छन् । जसमा वेब बेस्ड अफिस अटोमेशन सफ्टवेयर कार्यान्वयन र नेपालबाट इन्टरनेट समुद्री कनेक्सनसम्म पहुँच पुर्‍याउने सस्तो तथा भरपर्दो विकल्प पहिचान गर्ने काम रहेका छन् । त्यस्तै ५० प्रतिशतभन्दा माथि भएको खर्चतर्फ ३ ओटा काम रहेका छन् ।

५० प्रतिशतभन्दा कम र १० प्रतिशतभन्दा कम तर १० प्रतिशतसम्म भएका खर्चहरुतर्फ ८ वटा कार्यक्रम रहेका छन् । भने बाँकी कार्यक्रम १० प्रतिशतभन्दा कम खर्च भएको उल्लेख गरिएको छ । जसमा ४१ ओटा कार्यक्रम रहेको छ ।

यसरी धेरै कार्यक्रमको खर्च कम हुनुमा सेवाप्रदायकले निर्धारित समयमा काम नगर्ने, कतिपय अवस्थामा भुक्तानी गर्ने कार्य बाँकी रहेकाले, फिजिलक वर्कशप, ट्रेनिङ लगायतका कार्य हुन नसकेकाले भनी उल्लेख गरिएको छ । अध्यक्ष खनालका अनुसार फागुन मसान्तसम्म जुन प्रगति हासिल भएको छ, त्यो सन्तोषजनक नै हो ।

कोरोना महामारीका बावजुद पनि ६० प्रतिशत भौतिक र २६ प्रतिशत पूँजीगत खर्च स्वभाविक हो । आवको अन्त्यसम्म धेरै काम सम्पन्न हुनेहुँदा त्यसमा भौतिक र पूँजीगत दुवैतर्फको प्रगति उल्लेख्य वृद्धि हुने उनी सुनाउँछन् ।

त्यसका लागि सम्बन्धित महाशाखा तथा शाखालाई निर्देशन दिने तथा त्रैमासिक प्रतिवेदन तयार पार्ने समेत निर्णय भएको छ । यसले पनि कार्यक्रमको प्रगतिमा सहयोग पुर्‍याउने उनको अपेक्षा छ । तर, अहिले सुरु भएको कोभिडको दोस्रो लहरको असर भने कतिपय परियोजनामा पनि देखिने उनको आँकलन छ ।

पछिल्लो अध्यावधिक: बैशाख १४, २०८१ १५:११