close

नेपाल टेलिकमले कहिले ल्याउला अनलिमिटेड डेटा प्याक ?

टेकपाना टेकपाना

जेठ २३, २०७८ १३:२७

नेपाल टेलिकमले कहिले ल्याउला अनलिमिटेड डेटा प्याक ?

काठमाडौं । पछिल्लो समय मोबाइल डेटामा थ्रीजीसँगै फोरजीको प्रयोग बढेसँगै प्रयोगकर्ताका अपेक्षा पनि बढ्दै गएका छन् । आफ्ना ग्राहकका लागि सेवाप्रदायक कम्पनीहरुले बेला बेलामा विभिन्न प्याकेज समेत ल्याइरहेका हुन्छन् । तर अहिलेसम्म नेपालमा अनलिमिटेड डेटाको अभ्यास भने सुरु भएको छैन ।

यसै सन्दर्भमा टेकपानाले शनिबार आयोजना गरेको दूरसञ्चार नीतिगत बहस श्रृङ्खलाका क्रममा नेपाल टेलिकमकका उपप्रबन्धक तथा सहप्रवक्ता रञ्जीत लोहियालाई हामीले नेपाल टेलिकमले अनलिमिटेड डेटा प्याक कहिले ल्याउँछ भन्ने प्रश्न गरेका थियौं । उनले उक्त प्रश्नको जवाफमा तत्कालकै अवस्थामा अनलिमिटेड मोबाइल डेटा सुरु गर्न सहज नभएको बताए ।

वायरलेस सेवामा सबै कुरा खुल्ला छोडेर अनलिमिटेड डेटा दिनसक्ने सम्भावना नै नरहेको उनको भनाई थियो । भारी लागतका कारण तत्काल त्यो असम्भव नरहेको उपप्रबन्धक लोहियाको तर्क छ ।

उनले भने, ‘वायरलेस सेवामा मूल्य निर्धारण गर्ने विभिन्न कारक तत्वहरु छन् । धेरैजसो कन्टेन्ट इन्टरनेसनल छन् । त्यस्ता कन्टेन्टका लागि हामीले अन्तर्राष्ट्रिय ब्याण्डविथ रकम तिर्नुपर्ने हुन्छ । त्यसले पनि ग्राहकलाई केही भार पर्न जान्छ । सँगसँगै हाम्रो यहाँको स्पेक्ट्रम फी, लाइसेन्स फी अर्बौंमा तिर्नुपर्ने अवस्था छ । यस किसिमको चुनौतीका बाबजुत हामीले सेवामूलक कम्पनीको हिसाबले न्यूनतम नाफा लिने गरी नेपालभरका जनतालाई सेवा दिइरहेका छौं ।’

‘व्यवहारिक रुपमा वायरलेसमा अनलिमिटेड हुनै सक्दैन,’ उनले भने, ‘त्यसैले हामीले केही कुराहरु लिमिट गरेर अनलिमिटेड प्याक ल्याउन सुरु गरिसकेका छौं । तर २४ सै घण्टा एक महिना अनलिमिटेड दिन सक्ने सम्भावना आजको दिनमा अलकति कमै छ ।’

टेलिकमले निश्चित समय र लक्षित वर्गका लागि अनलिमिटेड प्याक सुरु गरिसकेको जनाएको छ । समयसँगै डेटाको खपत बढ्दै जाँदा अरु लागत घट्दै गएको अवस्थामा आफूहरु २४ सै घण्टा मासिक रुपमा अनलिमिटेड डेटा दिने दिशामा अगाडि बढ्ने लोहियाले बताए ।

‘मार्केटिङ प्रोपागाण्डामा अनलिमिटेड भनिए पनि वास्तवमा त्यो अनलिमिटेड हुँदैन । भारतको जियोले ल्याएको प्याकमा अनलिमिटेड भने पनि त्यहाँ पनि दैनिक एक जीबी खपत भइसकेपछि लो स्पिडमा चल्छ,’ उनले भने, ‘यसरी कसैले भोलुममा लिमिट गरेका छन् त कसैले ब्याण्डविथमा लिमिट गरेका छन् ।’

इन्टरनेटका लागि वायरलेसको विकल्प नरहेका स्थानका प्रयोगकर्तालाई लक्षित गर्दै टेलिकमले हालसालै वायरलेस होम ब्रोडब्याण्ड सेवा सुरु गरेको छ । यसबाट दूर दराजका जनताले सस्तो मूल्यमा राम्रो स्पिडको इन्टरनेट प्रयोग गर्न पाउने कम्पनीको अपेक्षा छ ।

टेलिकमले विगत २-३ वर्षदेखि समय समयमा विभिन्न प्रकारका भ्वाइस प्याकेज, डेटा प्याकेज र कम्बो प्याकेजहरु ल्याइरहेको छ । उदाहरणका लागि ई लर्निङमा सहयोगी हुने किसिमको ह्याप्पी लर्निङ प्याक, बढी डेटा खपत गर्ने प्रयोगकर्ताका लागि स्टे कनेक्टेड प्याकहरु छन् । त्यस्तै कम्पनीले हालै ३९ रुपैयाँमा बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्मका लागि डे टाइम अनलिमिटेड डेटा प्याक ल्याएको छ ।

त्यस्तै नाइट डेटाको रुपमा अनलिमिटेड प्याक यस अघिदेखि नै छ । यद्यपी त्यसमा १ जीबीको सीमा राखिएको छ । यसैगरी वान जीबी पर डे जस्ता डेटा प्याकहरु पनि छन् ।  ‘हाम्रा प्रयोगकर्ताले कम्पनीको एप, वेबसाइट र *1415# यूएसएसडी कोडमार्फत कम्पनीले उपलब्ध गराएका प्याकहरुको जानकारी लिन सक्छन्,’ उपप्रबन्धक लोहियाले भने, ‘हामीले सामाजिक सञ्जाल, हाम्रा कल सेन्टरमार्फत प्रयोगकर्ताले दिएका सुझावका आधारमा हरेक तीन महिनामा हाम्रा प्याकहरु परिवर्तन गर्दै आइरहेका छौं ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३