close

छोरीसँग खिचेका उत्कृष्ट तीन सेल्फी फोटोलाई पुरस्कार

टेकपाना टेकपाना

जेठ २८, २०७८ १३:२१

छोरीसँग खिचेका उत्कृष्ट तीन सेल्फी फोटोलाई पुरस्कार

काठमाडाैं । विगत एक महिनादेखि नेपालमा सञ्चालनमा रहेको ‘सेल्फी विथ डटर’ अभियान सम्पन्न भएकाे छ । ‘सेल्फी विथ डटर’ दिवसको रुपमा नेपाल र भारतमा संयुक्त रुपमा यो कार्यक्रम आयोजना गरिएको थियो ।

विगत केहि वर्षदेखि नेपालको सामाजिक, प्राविधिक र अनुसन्धानको क्षेत्रमा काम गर्दै आइरहेको संस्था नेपाल इन्टरनेट फाउण्डेशनले भारतीय अभियन्ता सुनिल जागलनसँगको सहकार्यमा महिला सशक्तिकरण तथा लैङ्गिक समानताको मूल मर्मसहित ‘सेल्फी विथ डटर’ को कार्यक्रम नेपालमा पनि सञ्चालन गरिएकाे हाे ।

नेपालमा सञ्चालित एक महिनाको अभियानमा हजारौं संख्यामा छोरीसँग खिचेका सेल्फी फाेटाे प्राप्त भएकाे थियाे । यस अभियानमा प्रतिभा घिसिङ र उनकी छोरी प्रतिस्ठा लामाको सेल्फीले प्रथम पुरस्कार प्राप्त गरेको छ । यसैगरी दक्षबहादुर राई र मोति सारासँग नातिनी निशुदिका राईको सेल्फीले दोस्रो स्थान प्राप्त गरेको छ ।

त्यस्तै यमुना प्रसाई र श्रेया पौडेलको सेल्फीले तेस्रो स्थान प्राप्त गरेको छ ।

विजेतालाई ट्रफी र प्रमाणपत्रका साथ क्रमशः २१ हजार, ११ हजार र ५ हजार १ सय रूपियाँको पुरस्कार प्रदान गरिएको छ ।

बुधवार भर्चुअल रूपमा आयोजित कार्यक्रममा भारतका युनियन मिनिस्टर अफ स्टेट रावो इन्द्रजित सिंह मुख्य अतिथिको रुपमा उपस्थित थिए । कार्यक्रमलाइ सम्बाेधन गर्दै सिंहले भारतमा सामाजिक चेतना बढाउँन ‘सेल्फी विथ डटर’ अभियानले सकारात्मक प्रभाव पारेको बताए ।

उनले नेपाल र भारतमा अझै पनि छोरीलाइ हेला गर्ने र छोराभन्दा फरक व्यवहार गर्ने गरेको हुँदा यसलाई निर्मुल गर्न प्रविधिमार्फत सामाजिक चेतना विकास गर्न यस्ता अभियानहरु चलाउनुपर्ने भनाइ राखे ।

यसैगरी कार्यक्रममा नेपाल सरकारका पूर्व महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले विशेष सम्बोधन गरेकी थिइन् ।

कार्यक्रममा भारत सरकार इलेक्ट्रोनिक्स तथा आईटी मन्त्रालय अन्तर्गत राष्ट्रिय ई-गभर्नेन्स महाशाखा प्रमुख अभिशेख सिंहको समेत उपस्थिति रहेको थियो ।

भारतका सुनिल जागलनको नेतृत्वमा सुरु भएको यो अभियान भारत र नेपालमा लोकप्रिय भएको छ । नेपालमा पनि यस किसिमको अभियानले छोरीलाई लैङ्गिक समानताको हिसाबले हेर्न र साेही किसिमले व्यवहार गर्न प्रोत्साहित गरेको नेपाल इन्टरनेट फाउन्डेसनका अध्यक्ष विक्रम श्रेष्ठले बताए ।

मे ९ तारिखदेखि नेपालमा सुरु भएको ‘सेल्फी विथ डटर’ अभियानमा एक महिनाभित्रै लाखौं मानिसहरु सामेल भएकाे बताउँदै उनले यसले समाजमा सकरात्मक प्रभाव छोडिरेहको बताए ।

नेपालकी कार्यक्रम संयोजक कल्पना श्रेष्ठले भनिन्, ‘यो कार्यक्रममा सहभागीले बनाएका सामाजिक भिडियो सन्देशले छोरीलाई हेला गर्ने समाजमा केही हदसम्म रुपान्तरण गरिरहेको पाएका छौं ।’

सेल्फी विथ डटर कार्यक्रमले अहिलेको समयमा नेपाली छोरीहरुको मुहारमा स्थायी मुस्कान ल्याउने काम गरिरहेको उनले बताइन् ।

सेल्फी विथ डटर अभियान र फाउन्डेशनका संस्थापक सुनिल जगलानका अनुसार यो अभियान हरियाणाबाट सुरु गरिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको ’मन की बात’ कार्यक्रम लगायत धेरै कार्यक्रममा प्रशंसा गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१