close

नेपाली आकाशमा इन्टरनेट र टेलिफोन सेवा उपलब्ध गराउन दुई कम्पनीले पाए अनुमति

टेकपाना टेकपाना

जेठ ३०, २०७८ १७:१३

नेपाली आकाशमा इन्टरनेट र टेलिफोन सेवा उपलब्ध गराउन दुई कम्पनीले पाए अनुमति

काठमाडौं । नेपाली आकाशमाथि उड्ने विमानमा अब चाँडै इन्टरनेट सेवा प्रयोग गर्न सकिने भएको छ । त्यसका लागि दुई सेवाप्रदायकले अनुमति प्राप्त गरेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले थालस र सिता फर एयरक्राफ्ट नामक दुई कम्पनीलाई अनुमति प्रदान गरेको जनाएको छ ।

प्राधिकरणका अनुसार यी सेवाप्रदायक कम्पनीलाई गएको अप्रिल ४ तारिखमै पत्र पठाएर अनुमति प्रदान गरेको विषयमा जानकारी दिइएको छ । योसँगै अनुमतिप्राप्त कम्पनीले १० हजार फिटमाथि उड्ने विदेशी विमानमा यात्रा गर्ने यात्रुलाई इन्टरनेट सेवा उपलब्ध गराउन सक्ने भएका छन् ।

यसका लागि नेपाल दूरसञ्चार प्राधिकरणले केही समयअघि अध्ययन गरेको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नागरिक उड्ययन प्राधिकरण र नेपाल दूरसञ्चार प्राधिकरणका प्रतिनिधिसहितको एक समिति गठन गरी गरिएको उक्त अध्ययनले १० हजार फिटमाथि आकाशमा इन्टरनेट तथा टेलिफोन सेवा दिन सकिने निष्कर्ष निकालेकाे थियो ।

यसरी अनुमति दिँदा देशको दूरसञ्चार सेवामा कुनै किसिमको असर नपर्ने जनाइएकाे छ । त्यसैका आधारमा यो विषयमा प्राधिकरण बोर्डमा छलफलका लागि गएको थियो । बोर्डले पनि यो उक्त विषयमा अनुमति दिन सकिने भनी निर्णय गरेसँगै कम्पनीहरुलाई अनुमति प्रदान गर्न थालिएको प्राधिकरणका निर्देशक अम्बर स्थापितले बताए ।

उनका अनुसार झण्डै ९ महिनाअघि थालस इंकले पहिलोपटक प्राधिकरणमा १० हजार फिटमाथि आकाशमा उड्ने विमानमा इन्टरनेट चल्ने बनाउनका लागि स्वीकृति मागेको थियो । उसले दूरसञ्चार सेवा प्रदान गर्नेभन्दै निवेदन पेश गरेको थियो । त्यसका लागि कम्पनीले विमानभित्रै पिको सेल अर्थात फोरजीको सानो बीटीएस राखेर सेवा उपलब्ध गराउने छन् ।

बीटीएस स्याटेलाइटमार्फत कनेक्ट भएर विमानमा सेवा उपलब्ध हुने यस्तो सेवा, जुन देशको विमान हो, त्यही देशको दूरसञ्चार सेवा प्रदायकको हुनेछ । ‘यो भनेको हाम्रो आकाशमाथि अन्य देशका सेवा प्रदायकको नेटवर्कले पनि काम गर्ने बनाउने हो,’ स्थापितले भने, ‘त्यसरी अन्य देशको आकाशमाथि अर्को देशको दूरसञ्चार सेवा उपलब्ध गराउन स्वीकृति लिनुपर्ने भएकाले उनीहरुले निवेदन दिएका थिए ।’

थालसले स्वीकृति मागेको तीन महिनापछि सिता फर एयरक्राफ्ट भन्ने कम्पनी पनि सोही निवेदनका साथ प्राधिकरण आएको थियो । त्यसैका आधारमा हाल दुई कम्पनीलाई अनुमति प्रदान गरिसकेको उनले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१